बाँझिँदै खेतबारी
भोजपुर : भोजपुर नगरपालिका–५, तल्लो बोखिमका ७१ वर्षीय नकुल राईले धान रोप्न छोडेकै धेरै भइसक्यो। खेती गर्ने नै कोही नभएपछि उनको १९ रोपनी खेत वर्षादेखि बाँझिएको छ। अधियाँ दिँदा गाउँमा खेत कमाउने पनि उनले कोही भेट्टाएनन्। घरको ठूलो छोरो पनि ५ वर्षअघि नै बिदेसिए। खेती गर्ने कोही नभएपछि राई श्रीमती, बुहारी र नातिनीसँग सदरमुकाममै पसल गर्दै बस्छन्।
‘खेत भएर के गर्नु, गर्ने नै कोही नभएपछि, आफू बुढेसकाल लागियो, छोरा विदेशमा छ’, उनले भने, ‘वर्षौंदेखि बाँझिएको खेत किन्ने पनि छैनन्, खेती गर्दा २५÷३० मुरी फल्थ्यो, घर राम्रै धान्थ्यो, अहिले एक गेडा पनि हुँदैन।’ खेती गर्ने पर्याप्त जनशक्ति भेटिन छाडेपछि खेतीयोग्य खेत बाँझिँदै गएका छन्।
बाबुबाजेको पालादेखि नै आफैं अन्नबाली उब्जाएर आफ्नै उत्पादन उपभोग गर्ने र बेचबिखनसमेत गर्ने गाउँका बुढापाका पसलमा चामल किनेर खान्छन्। बैंसमा आफूले खेती गर्दा उब्जाएको खाने पछिल्लो पिँढीले खेती गर्न छोडेपछि बुढेसकालमा किनेको चामल र तरकारी खानु परेको स्थानीय अर्का वृद्ध विष्णुप्रसाद राई गुनासो सुनाउँछन्। उनी भन्छन्, ‘आफ्नो खेत गरिदिने कोही भेटिँदैनन्, नभेटेपछि खानै पर्यो, बाँच्नै पर्यो, पसल गयो चामल तरकारी ल्यायो, खायो।’
वैदेशिक रोजगारमा युवा पलायन हुन थालेपछि गाउँमा खनजोत गर्ने जनशक्ति नभएपछि खेतबारी बाँझिँदै गएको बोखिम दाम्सिङका किसान टीकाराम राईले बताए। उनले भने, ‘गाउँमा काम गर्ने अधिकांश युवा जनशक्ति बिदेसिएका छन्, गाउँमा महिला, बूढाबूढी र बालबालिका छन्। खेती उतार्ने नहुँदा खेतबारी त बाँझिने भइगयो नि।’ जिल्ला प्रशासनमा पनि दिनहुँ वैदेशिक रोजगारका लागि राहदानी बनाउनेको भीड लाग्ने गर्छ। दिनमा ३० देखि ४५ जनासम्म राहदानीका लागि युवा आउने गरेको सहायक प्रजिअ कृष्णबहादुर बस्नेतले बताए।
वैदेशिक रोजगारबाहेक पछिल्लो समय धेरैजसो ग्रामीण क्षेत्रका सर्वसाधारणको आर्थिक स्तर पनि उकासिएकाले खेतबारी बाँझिन थालेको छ। व्यावसायिक रूपमा गाउँमै रुद्राक्ष, अलैँची खेतीमा आकर्षण बढेकाले पनि अन्य खेती गर्न छाडेकाले पनि खेतबारी बाँझिन थालेको अगुवा गणेश श्रेष्ठ बताउँछन्। आकाशे पानीको भरमा खेती गर्नुभन्दा थोरै क्षेत्रफलमा गरिने व्यावसायिक खेतीले राम्रै जीवन गुजारा हुन थालेपछि खेतीयोग्य जमिन बाँझिँदै गएको उनले बताए।
उत्तरी भेगका दोभाने, कुदाककाउले, खाटम्मा, तिम्मा, खार्तम्छा, दक्षिणी भेगका पाङ्चा, पावला, हसनपुर, दुम्माना, खैराङ, होम्ताङ, रानीबास, मानेभञ्ज्याङ, पश्चिमी कोट, गोगने, लेखर्क, भुल्के, बैकुण्ठे, पूर्वी चम्पे, प्याउली, जरायोटार, बास्तिमलगायत भेगका खेतीयोग्य जमिनमा खेती हुन छाडेका छन्। खेतीको समयमा किसानले समयमा मलखाद्य नपाउनु, सिँचाइको सुविधा नहुनु, किसानले उत्पादनको उचित मूल्य नपाउनुले खेतीयोग्य जमिनमा खेती हुन छाडेको चम्पेका कृषक अगुवा अर्जुनकुमार राई बताउँछन्।
कृषि ज्ञान केन्द्र भोजपुरको तथ्यांकअनुसार कुल ४ हजार सात सय २५ हेक्टर क्षेत्रफल खेत बाँझै छ। यो वर्ष जिल्लाको कुल १७ हजार सात सय ३० हेक्टर क्षेत्रफलमा धान खेती भएको थियो। वार्षिक रूपमा कुल उत्पादनले कुल जनसंख्याको ३७ प्रतिशतलाई मात्र वर्षभरि खान पुग्ने गरेको केन्द्रका सूचना अधिकारी विश्वास आमगाईले जानकारी गराए।
प्रतिक्रिया दिनुहोस !