जाजरकोटमा बर्डफ्लु पुष्टि, सचेत रहन आग्रह
जाजरकोट : जाजरकोटमा बर्डफ्लु रोग देखिएको छ। भेरी नगरपालिका ३, स्याला स्थित स्थानीयले पालेका लेस जातको ९ सय ५० कुखुरा मरेका छन्। पशु सेवा विभागले मरेका कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो।
बर्डफ्लु पुष्टि भएपछि सबैतिर नियन्त्रणको प्रयास थालिएको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका प्रमुख डा.कृष्णराज पाण्डे बताए। जिल्लामा वर्डफ्लु संक्रमण पुष्टि भएपछि सचेत रहन सबैलाई आग्रह गरिएको छ। तत्काल पंक्षीको मासु नखान, नबेच्न र कुखुरा नष्ट गर्न पशु अस्पताल तथा पशुसेवा कार्यालय जाजरकोटले आग्रह गरेको छ।
पन्छीहरूमा महामारी रोग फैलिने सम्भावनालाई मध्यनजर गरेर पशु अस्पताल तथा पशु सेवा कार्यालय जाजरकोटको आयोजना तथा प्रदेश सरकार तथा भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको समन्वयमा बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिको बैठक प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाको अध्यक्षतामा जिल्ला बर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिको बैठकले तत्काल बर्डफ्लु पुष्टि भएको स्थानका कुखुरा नष्ट गर्ने निर्णय गरेको थियो। सदरमुकाम आसपासका करीव दुई हजार कुखुरा, अण्डा, दाना, भुस नष्ट गरिएको छ।
जाजरकोटमा बर्डफ्लु संक्रमण नियन्त्रणका लागि पशुपन्छी विकास निर्देशनालयका निर्देशक मोहन गिरी, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका प्रमुख डा.कृष्णराज पाण्डे, डा. जितेन्द्र श्रेष्ठ, डा. सुशिल ऐरी, भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रचण्ड खड्का क्षेत्री लगाएत टोली जाजरकोट पुगेर अनुसन्धान गरेको हो। पशु अस्पताल जाजरकोटका प्रमुख जरबहादुर भक्रीले कुनै पनि पन्छी फार्म वा अन्य पन्छी पालन वा बिक्री स्थलमा बिरामी परेमा वा मरेमा तत्काल नजिकको पशु अस्पतालमा तत्काल जानकारी दिन आग्रह गरेका छन्। भारतबाट आउने दानाबाट बर्डफ्लु भित्रिएको अनुमानसँगै दाना वा कुखुराबाट बर्डफ्लु रोग सार्न सक्ने भएकाले चेक जाँचमा कडाइ गर्न प्रहरीलाई निर्देशन दिइएको छ।
सरकारले भारतबाट भित्रिने पन्छी तथा पंक्षिजन्य वस्तुमा ६ वर्षअघि नै प्रतिबन्ध लगाए पनि खुला सिमानाको फाइदा उठाउँदै भारतीय कुखुरा बाँके हुँदै कर्णालीका जिल्लामा भित्रिरहेको बताइएको छ। कुखुराको आयातमा पूर्णरुपमा प्रतिबन्ध नलगाए भयानक स्थिति आउन सक्ने भएकाले सबै सजग हुन पर्ने प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले बताए।
प्रतिक्रिया दिनुहोस !