घाइते सहचालकलाई कालीगण्डकीमा फालेको आंशका
![घाइते सहचालकलाई कालीगण्डकीमा फालेको आंशका](https://annapurnapost.prixacdn.net/media/albums/Kaligandakiriver_20210323104629_lq78KNhHVb.jpg)
स्याङजा : ट्याक्टरबाट खसेर घाइते भएका एक युवालाई कालीगण्डकी नदीमा फालेको आशंका गरिएको छ। गल्याङ नगरपालिकामा चैत ५ गतेको साँझदेखि ट्याक्टरका सहचालक १९ वर्षीय गणेश गाहाको अवस्था अज्ञात छ।
दुर्घटना भएको साँझ लु.अ.अ.फ १०२० नं को (अस्थायी) ट्याक्टरमा गाहा लगायत चालक २४ वर्षीय अमित परियार र अर्का सहचालक २२ का सुनिल रानासँगै सवार थिए। उनीहरु मध्ये गाहाको अवस्था अझै अज्ञात छ।
कालीगण्डकी घाटबाट ढुंगा भरेर ल्याउदै गर्दा गुडिरहेको ट्याक्टरबाट खसेर सोही ट्याक्टर किच्दा घाइते भएका गाहालार्ई चालक र सहचालक मिलेर कालीगण्डकी नदीमा फालेर बेपत्ता बनाएको आरोप छ।
कालीगण्डकी नदीघाटदेखि उनीहरुले गल्याङ नगरपालिका ९ बेल्चौरस्थित कच्ची सडकखण्ड भएर आउँदै गरेकोे अवस्थामा सहचालक गाहा ट्याक्टरबाट खसेर घाइते भएको र उनलाई ट्याक्टरमै राखी साँखरस्थित कालीगण्डकीमा लगेर फालेर बेपत्ता बनाएको भन्दै परेको उजुरीका आधारमा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।
घटनामा संलग्न परियार र रानालाई पक्राउ गरेर ज्यान सम्बन्धी कसूर कर्तव्य ज्यान मुद्दा दर्ता गरी अदालतले ७ दिनको म्याद थप गरेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)