विद्यार्थी बिरामी भएपछि विद्यालय बन्द
दैलेख : दैलेखको एक सामुदायिक विद्यालयमा सयौँ विद्यार्थी एकै पटक बिरामी परेका छन्। नारायण नगरपालिका–५ स्थित नवदुर्गा आधारभूत विद्यालयका विद्यार्थी बिरामी परेका हुन्।
विद्यालयका दुई सयजना विद्यार्थी एकै पटक बिरामी परेको विद्यालयका प्रधानाध्यापक घनश्याम रेग्मीले बताए। विद्यालयमा दुई सय ८० विद्यार्थी अध्ययनरत छन्। तीमध्ये दुई सय विद्यार्थीमा रुघा खोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने जस्ता समस्या देखा परेको प्रधानाध्यापक रेग्मीले बताए।
बाँकी विद्यार्थीमा तनाबग्रस्त अनुहार रातोपिरो हुने समस्या देखा परेको छ। गत शुक्रवार तीनजना विद्यार्थी बिरामी परेका थिए। त्यसयता दिनप्रतिदिन बिरामी हुने विद्यार्थीको संख्या बढिरहेको प्रधानाध्यापक रेग्मीले जानकारी दिए।
विद्यार्थीहरु बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ। विद्यार्थीलाई जस्तै विद्यालय क्षेत्रका समुदायमा समेत देखा परेको छ।
विद्यार्थी बिरामी पर्नु अघि सोहि वडाको छात्तिकोट गाउँमा एक बालकको मृत्यु भएको थियो। ती बालकको पहिचान भने नखुलेको नारायण नगरपालिका–५ का वडाध्यक्ष लालबहादुर बस्नेतले जानकारी दिए।
उक्त विद्यालयका बिद्यार्थीहरु बिरामी परेपछि दैलेख अस्पतालका डा. विवेक गुरुङ्गसहितको टोली विद्यालयमा पुगेको थियो। स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीका अनुसार अस्पतालबाट खटिएको डाक्टरसहितको टोलीले विद्यार्थीको चेकजाँच र औषधि वितरण गरेको थियो। विद्यार्थीमा देखिएको समस्या कोरोना भाइरसको लक्षण नभएको निमित्त स्वास्थ्य सेवा व्यवस्थापक रेग्मीले बताए।