घरमै उपचार र परिचयपत्र
भोजपुर : टेम्केमैयुङ गाउँपालिका—३ अन्नपूर्णकी २५ वर्षीया पवित्रा गिरी जन्मजात नसासम्बन्धी रोगले ग्रस्त छिन्। सामान्य हिँडडुल गर्न पनि नसक्ने उनी प्रायजसो घरमै हुन्छिन्। शारीरिक र मानसिक रूपमा अशक्त बनेपछि गिरीको अवस्था नवजात शिशुको झैँ छ।
कमजोर आर्थिक अवस्था भएकाले समयमा उपचार नहुँदा उनको यो अवस्था भएको आफन्त सुनाउँछन्। वर्षौंदेखि अटिजन नामक नसाको रोगले पीडित पवित्राको स्वास्थोपचार र सुधारमा केही आशा पलाएको छ। सामाजिक सुरक्षा भत्ताबाट समेत वञ्चित उनले त्यो सुविधा पनि पाउने भएकी छन्।
घरमै निःशुल्क स्वास्थ्यजाँच र अपांगता परिचयपत्र पाएपछि गिरीको परिवारमा खुसीयाली छाएको छ। ‘जन्मजातै छोरीको यो अवस्था भयो। जिउँदो लासझैँ सधैँभरि घरमा राख्नुपर्दा मन दुख्छ, के गर्नु समयमा उपचार गर्न सकिएन’, पवित्राकी आमा हर्कमायाले भनिन्। घरमै पुगेर चिकित्सकले स्वास्थ्य जाँच गरेपछि छोरीको स्वास्थ्यमा सुधार आउने उनको विश्वास छ।
वर्षौंदेखि प्यारालाइसिसबाट थलिएका टेम्केमैयुङ गाउँपालिका खावा केराबारीका ५२ वर्षीय वसन्त राईले पनि शिविरबाट निःशुल्क स्वास्थ्य सेवा र अपांगता परिचयपत्र पाए। शिविर टोलीले उनको घरमै पुगेर उपचार सेवा र परिचयपत्र प्रदान गरेको छ। पवित्रा र वसन्तजस्ता धेरैले यस्तो सुविधा पाएका छन्।
अपांगता भएका, भौगोलिक विकटताले स्वास्थ्य सेवा लिन वञ्चित व्यक्तिहरूलाई लक्षित गरेर गाउँपालिकाले विशेषज्ञ चिकित्सकसहितको शिविर चलाएको हो। प्राथमिक उपचारपछि जटिल र विशेष शल्यक्रिया गर्नुपर्ने बिरामीको उपचारमा विशेष सहयोग मिल्ने गाउँपालिका उपाध्यक्ष इन्द्रावती राईले बताइन्। अपांगता भएका व्यक्तिहरूको आवश्यकताअनुसार परिचयपत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !