त्रिकोणात्मक टि-२० क्रिकेट सिरिजको ट्रफी सार्वजनिक : आज नेपाल र नेदरल्याड्सबीच प्रतिस्पर्धा
काठमाडौं : नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच हुने त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको ट्रफी सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पत्रकार सम्मेलन गर्दै जर्मनीमा निर्मित सो ट्रफी सार्वजनिक गरेको हो।
ट्रफी सार्वजनिक कार्यक्रममा नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, मलेसियाका कप्तान फैज अहमद र नेदरल्याड्सका कप्तान पिटर सिलार उपस्थित थिए। नेपालले शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उद्घाटन खेल नेदरल्याड्ससँग खेल्दै छ। डवल राउन्ड रोविनको आधारमा हुने उक्त प्रतियोगिता शीर्ष दुई टोली उपाधिका लागि खेल्ने छन्। फाइनल खेल यही वैशाख ११ गते हुने छ ।
१५ सदस्यीय टोली घोषणा
पारसको स्थानमा सन्दीपले खेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का घाइते भएपछि उनको स्थानमा सन्दीप जोरालाई खेलाइने भएको छ। खड्का आइतबार अभ्यासको क्रममा घाइते भएका थिए। उनी खेल्न असमर्थ भएपछि युवा खेलाडी जोरालाई टोलीमा समावेश गरिएको क्यानले जनाएको छ। फिल्डिङ गर्नेक्रममा खड्काको काँधमा चोट लागेको थियो। चिकित्सकले खड्कालाई केही साता आराम गर्न सल्लाह दिएका छन्।
जोराले सन् २०१९ मा यूएइविरुद्धको टि २० खेलमा डेब्यू गर्दै विश्व कीर्तिमान बनाएका थिए। उनले उक्त खेलमा १७ वर्ष १०३ दिनको उमेरमा अविजित ५३ रन बनाएका थिए। जोराको नाममा टि २० मा कम उमेरमा अर्धशतक बनाउने कीर्तिमान छ।
प्रतिक्रिया दिनुहोस !