लुम्बिनी प्रदेश सरकारलाई जसपाले जोगायो : अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसद केहीबेरमै मन्त्री बने
![लुम्बिनी प्रदेश सरकारलाई जसपाले जोगायो : अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसद केहीबेरमै मन्त्री बने](https://annapurnapost.prixacdn.net/media/albums/lumbini-new-mantri_20210419112618_4UThXbVsSn.jpg)
बुटवल : मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको केही समय बित्न नपाउदै जनता समाजवादी पार्टी (जसपा)ले लुम्बिनी प्रदेश सरकारलाई समर्थन गरेको छ। अविश्वास प्रस्तावमा समेत हस्ताक्षर गरेका तीन जना सांसदसहित चार मन्त्री लिदै जसपा सरकारमा सहभागी भएको हो।
तीन मन्त्री र एक राज्यमन्त्रीको सपथ ग्रहण भएको छ। मुख्यमन्त्री शंकर पोखरेलले मन्त्रालयहरुको हेरफेर समेत गरेका छन्। पुर्नगठित मन्त्रीमण्डलअनुसार बैजनाथ चौधरीले आर्थिक मामिला तथा योजना मन्त्रालय र ग्रामिण तथा सहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।
लिला गिरीले आन्तरिक मामिला तथा कानून र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाए। उनी यसअघि उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री थिए। यसअघि भूमि व्यवस्था तथा सहकारी मन्त्री रहेकी आरती पौडेलले उद्योग, वन तथा वातावरण मन्त्रालयको जिम्मा पाएकी छन्।
जसपाबाट मन्त्री बनेका सन्तोष पाण्डेलाई भौतिक पूर्वाधार विकास मन्त्रालय, विजयबहादुर यादवले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, कल्पना पाण्डेले शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्।
त्यस्तै जसपाकै सांसद सुमन शर्मा रायमाझीले भौतिक पूर्वाधार विकास राज्यमन्त्रीको जिम्मेवारी पाएकी छन्। उनीहरु सबै जनाले सपथ ग्रहण गरेका छन्। माओवादीका दुई मन्त्रीले राजिनामा दिएर अविश्वासको प्रस्ताव दर्ता गरेपछि यी घटनाक्रम विकसित भएका हुन्। अब मुख्यमन्त्री पोखरेलले बहुमत सदस्य रहेको सरकार सञ्चालन गर्नेछन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)