माधवकुमार नेपालसहित एमालेका ३२ सांसदसँग स्पष्टीकरण
काठमाडौं : नेकपा (एमाले)ले पार्टीका नेता माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेको छ। पार्टीको मंगलबार बसेको केन्द्रीय महाविधेशन आयोजक कमिटीले पार्टी गतिविधि र संसदीय दलको अनुशासन उल्लघङ्न गरेका आरोपमा २७ सङ्घीय सांसद र कर्णाली प्रदेशका पाँच प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधेको हो।
सबैलाई एमालेको विधान २०४९ (संशोधन २०७१) र राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा भएको व्यवस्थानुसार स्पष्टीकरण सोधिएको एमाले कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए। पार्टी अध्यक्ष तथा (एमाले) संसदीय दलका नेता केपी शर्मा ओलीले सोधेका स्पष्टीकरणको पत्र आजै ती नेतालाई पठाइएको छ। उनका अनुसार दुई दिनभित्र स्पष्टीकरणको जवाफ पेश गर्न निर्देशन दिइएको छ।
उनीहरु सबैलाई एमालेको विधान २०४९ (संशोधन २०७१) को धारा ४९ (क) ९१० देखि ९७० र ९१२० र ९१४० मा भएका व्यवस्थाविपरीत अनुशासन उल्लङ्घन गरेकाले विधानको धारा ४९ (ख) (ग) धारा ५० बमोजिम र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १(ग) बमोजिम कारवाही किन नगर्ने भनेर स्पष्टीकरण सोधिएको छ। उनका अनुसार स्पष्टीकरण सोधिनेमा पूर्वप्रधानमन्त्री नेपाल र झलनाथ खनालसहित भीमबहादुर रावल, सुरेन्द्रप्रसाद पाण्डे, घनश्याम भुसाल, योगेशकुमार भट्टराई, प्रकाश ज्वाला, झपट रावल, मेटमणि चौधरी, रामकुमारी झाँक्रीलगायत रहेका छन्। यसअघि पार्टीले नेता नेपालसहित, रावल, भुसाल र पाण्डेलाई छ महीनाका लागि पार्टीबाट निलम्वन गरेको थियो।
प्रतिक्रिया दिनुहोस !