धरानमा कोरोनाको त्राससँगै खानेपानीको हाकार
धरान : धरान उपमहानगरपालिकामा कोरोनाको त्राससंगै खानेपनीको हाकार दैनिक जनजीवन कष्टकर बनेको छ। देशभर कोरोनाले महामारीको रुप लिए पश्चात सरकारले सर्वसाधारणलाई सचेत हुन आग्रह गरिरहेका बेला प्रदेश १ कै दोस्रो ठूलो शहर धरानका सर्वसाधारण खानेपानी अभावका कारण काकाकुल बनेका छन्।
महिनादिनदेखि धरानका १ देखि १९ नम्बर वडामा नियमित खानेपानी आएको छैन्। नियमित घरमा खानेपानी नआएका कारण निम्न आयश्रोत भएकाले एक घण्टा हिँडेर बम धारा, खत्री धारा, विष्णुपादुका, चारकोसे झाँडी लगायतका स्थानबाट पानी ल्याउने गरेका छन्। हुनेखानेले मिनिरल वाटर ट्याङकरबाट पानी किनेर दैनिकीा चलाउने गरेका छन्।
धरानमा खानेपानी समस्या भए पश्चात विभिन्न सामाजिक संघसंस्थाले स्थानीयलाई निःशुल्क पानी वितरण सुरु गरेका छन्। धरानवासीलाई उपमहानगरपालिकाले आवश्यक खानेपानी वितरण नगरेका कारण धरानवासी काकाकुल बन्नु परेको स्थानीयको गुनासो छ। महिनादिनदेखि धरानका अधिकांश घरमा जडान गरिएका धारामा पानी आउन छाडेको धरान १६ का लक्ष्मण बस्नेतले बताए।
धरान उपमहानगरपालिकाकाले धरान खानेपानी संस्थानलाई आफू मातहतको खानेपानी व्यवस्थापनमा समायोजन गरे लगत्तै धरानमा खानेपानीको हाहाकार हुन थालेको हो। समायोजन हुनु अगाडि धरानमा संस्थान र बोर्डले अलगअलग खानेपानी वितरण गर्दै आएका थिए। त्यति बेला धरानमा खानेपानीको खासै समस्या थिएन। तर खानेपानी व्यवस्थापन बोर्डमा संस्थानलाई समायोजन गरे लगत्तै धरानमा खानेपानीको हाहाकार भएको धरान १८ का हर्क साङपाङले बताए। एसियाली विकास बैंकको आर्थिक सहयोगमा धरानमा निर्माण थालिएको धरान खानेपानी आयोजनामा करौंडौ रुपैयाँ भष्टाचार हुँदा धरानमा खानेपानीको हाकाकार भएको उनको आरोप छ। उनले आयोजनाको काममा भएको भष्टाचारको विषयमा छानविन गरेर दोषी उपर कारवाही गर्न माग गरेका छन्।

धरानमा दैनिक ३ करोड लिटर खानेपानीको माग भए पनि धरान खानेपानी व्यवस्थापन बोर्डले दैनिक एक करोड लिटर पानी पनि वितरण गर्न सकेको छैन्। पहिनादिनदेखि घरको धारामा पानीको थोपा नआए पश्चात दैनिक खानेपानी किनेर गुजारा चलाउनु परेको धरान–१५ की इन्द्रकुमारी राईले बताइन्।
खानेपानी अभावकै कारण होटल, कलकारखाना संचालनमा गम्भीर समस्या आएको छ। महिनादिनदेखि धरानमा पानी सहज रुपमा नआए पश्चात दैनिक पानी किनेर होटलसंचालन गर्नुपरेको होटल एसोसिएसन धरानका उपाध्यक्ष तथा धरान किचनका संचालक कृष्ण पाठकले बताए। धरान आउने पर्यटकलाई प्रयाप्त पानी दिन नसकेको कारण होटल व्यवसाय संकटमा परेको उनको गुनासो छ।
धरानमा कुल ३५ हजार निजि धारा छन्। ३ सय ४ सार्वजनिक धारा जडान गरिएको भएपनी खानेपानी व्यवस्थापन बोर्डले सार्वजनिक धारामा पानी वितरण नगरेका कारण सुकुम्वासी लगायत निम्न आयश्रोत भएका सर्वसाधारणहरु खानेपानी सुविधाबाट बन्चित भएका छन्।
सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले धरानमा खानेपानीको हाहाकार भएको जनगुनासो आए पश्चात तत्काल सबै घरमा पानी वितरण गर्न धरान खानेपानी व्यवस्थापन बोर्डका प्रमुख राजु पोखरेललाई निर्देशन दिएको बताए। उनले खानेपानी वितरणमा लापरवाही गरिएको पाइए बोर्डका कर्मचारीलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन्। खानेपानी बोर्डका प्रमुख राजु पोखरेलले सबै घरमा पानी वितरणको पहल भइरहेको आश्वासन दिएका छन्।
प्रतिक्रिया दिनुहोस !