मजदूर आन्दोलनको सम्झनामा मई दिवस
काठमाडौं : नयाँ भेरियन्टसहितको कोरोना भाइरसका कारण १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस पनि प्रभावित भएको छ। कोरोनाको सङ्क्रमण फैलने सम्भावना रहेको भन्दै काठमाडौँ उपत्यकासहित केही जिल्लामा निषेधाज्ञा जारी भएसँगै यसवर्ष श्रमिक दिवसका अवसरमा नेपालमा क्रियाशील ट्रेड युनियनले कुनै पनि औपचारिक कार्यक्रम राखेका छैनन्।
औपचारिक कार्यक्रम नराखिए पनि श्रमिक दिवसको सन्दर्भ पारेर विभिन्न ट्रेड युनियनले भर्चुअल माध्यमबाट छलफलको आयोजना गरेका छन्। ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो। सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ विश्व मजदुर दिवस मनाइएको थियो।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो। त्यसयता सन् १८९० देखि हरेक वर्ष अंग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन शुरु गरियो। विश्वका मजदुरले सो दिवसलाई पर्वका रूपमा लिँदै आफ्ना अधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गरी मनाउँछन्। नेपालमा विराटनगरमा विसं २००७ मा मजदूर आन्दोलनसँगै यो दिवस मनाउन थालिएको हो।
प्रतिक्रिया दिनुहोस !