दैलेखमा भोलिदेखि एक साता निषेधाज्ञा
दैलेख : दैलेखमा गत बुधबार बिहान कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण ७५ वर्षीया पुरुषको मृत्यु भयो । नारायण नगरपालिका–१ पुरानो बजारका ती पुरुषलाई मंगलबार स्वास्थ्य सेवा कार्यालय अन्तरगत दैलेख अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल भर्ना भइसकेपछि कोरोना संक्रमणको आशंकमा एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेसन अस्पतालमा सारिएको थियो । कोरोनाको नयाँ भेरिएन्ट देखिएका ती पुरुषको उपचारकै क्रममा मृत्यु भएको दैलेख अस्पतालका डा. जगत थापाले बताए ।
शुक्रबार मात्रै कोरोना संक्रमणका कारण गर्भवती महिलाको मृत्यु भयो । संक्रमणका कारण नारायण नगरपालिका–६ की २७ वर्षीया गर्भवतीको मृत्यु भएको हो । शुक्रबार बिहान साढे ११ बजे अस्पताल पुर्याइएकी ती महिलाको एक घण्टापछि मृत्यु भएको डा. थापाले बताए । डा. थापाका अनुसार ती महिलाको बच्चा जन्मने मिति नाघिसकेको थियो । ‘बच्चा जन्मने मिति नाघिसकेकाले शल्यक्रियामार्फत प्रसूति गराउनुपर्ने हुनसक्छ भन्दै अस्पतालले वैशाख १२ गते नै सुर्खेत रिफर गरिसकेका थियौ,’ डा. थापा भन्छन् ‘घरपरिवारले हेलचक्राई गरेका कारण गर्भवती महिलाको ज्यान गुमाइन् ।’
स्वास्थ्य सेवा कार्यालयका अनुसार पछिल्लो चरण जिल्लामा नयाँ भेरिएन्टसहितको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेको छ । संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि हुँदै गएको स्वास्थ्य सेवा कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए । उनका अनुसार आइतबारसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या एक सय ३३ छ ।
संक्रमण पुष्टि भएका एक सय ४७ मध्ये १२ जना निको भएको र दुईजनाको मृत्यु भएको रेग्मीले बताए । जिल्लामा संक्रमणको दर बढ्न थालेपछि वैशाख २१ गते मंगलबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ ।
वैशाख २८ गते राति १२ बजेसम्मका लागि एक साता निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा जारी गर्ने निणर्य गरेको हो । संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ ले दिएको अधिकार प्रयोग गरेर जिल्लाभर लागु हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए ।
स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पूर्णरुपमा पालना गर्न, भीडभाड नगर्न, २५ जना भन्दा बढी भेला नगर्न आदेश दिएको स्थानीय प्रशासनले नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण तीव्ररुपमा फैलिएपछि कडाइ गर्दै निषेधाज्ञा जारी गरेको हो ।
दैलेख जिल्लाभर लागू हुनेगरी अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा, सवारी साधन, पसल तथा व्यवसाय र आवश्यक बाहेकको कामकाजका लागि हुने हिँडडुलमा समेत निषेध गरिएको छ ।
निषेधाज्ञा अवधिभर शान्ति सुरक्षा, स्वास्थ्य, विद्युत, सूचना तथा सञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधि पसल, बैंकको एटिएम, एग्रोभेट सेवा लगायतका अत्यावश्यक सेवाहरु तथा सार्वजनिक निर्माण कार्य जनस्वास्थ्यका मापदण्डहरु पूरा गरी सञ्चालन गर्न दिइनेछ ।
यस्तै एम्बुलेन्स, दमकल, शव बाहन, झन्डावाल सरकारी र कुटनीतिक निलो प्लेटका सवारी साधनहरु, अत्यावश्यक दैनिक उपभोग्य वस्तुहरु ढुवानी गर्ने सवारी साधनहरु (चालक र सह–चालक मात्र), परिचयपत्र/पोशाकसहित अत्यावश्यक सेवा सञ्चालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारी साधनहरुलाई
जनस्वास्थ्यका मापदण्डहरु पूरा गरी सञ्चालन गर्न दिइने छ ।
जिल्लाभर दैनिक उपभोग्य वस्तुहरु खाद्यान्न, फलफूल, तरकारी, ग्यास पसल तथा व्यवसाय जनस्वास्थ्यका मापदण्डहरुको पूर्ण रुपमा पालना हुनेगरी बिहान ६ बजेदेखि साढे ८ बजेसम्म मात्र सञ्चालन गर्न निणर्य गरिएको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले जानकारी दिए ।