पाल्पाका स्थानीय सरकारले बनाए १ सय ५० बेडको कोरोना अस्पताल
तानसेन : कोरोना संक्रमण दिनहुँ बढ्दै गएपछि पाल्पाका १० बटै स्थानीय सरकारले कोरोना अस्पताल र अक्सिजनसहितको आइसोलेसन निर्माणमा जुटेका छन् । पाल्पाका १० वटा स्थानीय सरकारले चिकित्सक, सिनियर अहेव तथा स्टाप नर्ससहित सुविधासम्पन्न कोरोना अस्पताल संचालनमा ल्याएका छन् ।
जिल्लाका प्रत्येक स्थानीय सरकारले १० देखि ५० वटासम्म अक्सिजन सिलिण्डर खरिद गरी कोरोना अस्पताल तथा आइसोलेसन वार्डमा राखेका छन् । देशका विभिन्न स्थानका अस्पतालमा वेड र अक्सिजन सुविधा नपाउँदा दिनहुँ कोरोना संक्रमित बिरामीको मृत्यु हुनथालेपछि अक्सिजनसहितको कोरोना अस्पताल निर्माण गरेको माथाँगढी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापा मगरले बताए । माथाँगढी गाउँपालिकाले ४ मा चिकित्सक तथा अक्सिजनसहितको १५ वेडको कोरोना अस्पताल संचालनमा ल्याएको अध्यक्ष थापाले बताए ।
जिल्लाभित्र कुल संक्रमितमध्ये ५० प्रतिशत बिरामी तानसेन नगरपालिकाभित्र रहेकाले नगर सरकारले जिल्ला अस्पताल र मिसन अस्पतालको समन्वयमा ५० वेडको चिकित्सकीय सुविधासहितको कोरोना अस्पताल संचालन गर्ने निर्णय गरी आवश्यक काम सुरु गरेको नगर प्रमुख अशोक कुमार शाहीले बताए ।
बगनासकाली गाउँपालिकाले २ पोखरा थोकमा १५ बेडको कोरोना अस्पताल संचालन गरेको र ५० वटा अक्सिजनका सिलिण्डर खरिद गरी तयारी अवस्थामा राखिएको पालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले बताए । कोरोना संक्रमितको घरघरमा पुगी, औषधि, पौष्टिक आहार, ज्वरो तथा अक्सिजन नाप्ने मेसिन निशुल्क रुपमा वितरण गर्दै आएको अध्यक्ष बस्यालले बताए ।
रिव्दिकोट गाउँपालिकाले ५ वेडको कोभिड अस्पताल र ५० वेडको अक्सिजनसहितको आइसोलेसन संचालनमा ल्याएको जनाएको छ । प्रत्येक कोभिड संक्रमितको घर घरमा हप्ताको दुई पटक दुरीः कायम गरी स्वास्थ्यकर्मीको टोली पुग्ने, आवश्यकता अनुसार जनप्रतिनिधिहरु पुगी बिरामीको हौसला बढाउने गरी काम गर्दै आएको पालिकाका अध्यक्ष नारायण बहादुर जिसीले बताए । पालिकाभित्र अहिले १८ जना संक्रमित रहेको १ जना कोभिड अस्पतालमा भर्ना भएको अध्यक्ष जिसीले बताए ।
तिनाउँ गाउँपालिकाले २ दोभानमा १० बेडको कोभिड अस्पताल संचालन गरेको छ । दोभान माविमा २० वेडको आइसोलेसन संचालन गरेको छ । कोभिडका बिरामीलाई कुनैपनि समस्या नहोस् भनी चिकित्सक, औषधि, अक्सिजन तथा खानपानको व्यवस्थासहित कोभिड अस्पताल संचालनमा ल्याएको पालिकाका अध्यक्ष ओमबहादुर घर्तिमगरले बताए ।
घरघरमा होम आइसोलेसनमा बसेका बिरामीलाई असुविधा भएमा कोभिड अस्पतालमा भर्ना हुन अध्यक्ष घर्तिले अनुरोध गरेका छन् । पूर्वखोला गाउँपालिकाले १० वेडको कोभिड अस्पताल र निस्दी गाउँपालिकाले ७ ढुङ्गानावेशीमा अक्सिजनसहितको ५ वेडको आइसोलेसन संचालनमा ल्याएको अध्यक्ष मुक्त बहादुर सारुले बताए । भारत तथा जिल्ला बाहिरबाट आउने सबै व्यक्तिलाई अनिवार्य १० दिन क्वारेन्टाइन बस्नुपर्ने अध्यक्ष सारुले बताए ।
रामपुर नगरपालिकाले ३५ वेडको कोभिड अस्पताल संचालनको तयारीमा जुटेको छ । बिरामीलाई अक्सिजनको असुविधा नहोस् भनी प्रयाप्त मात्रामा अक्सिजनको सिलिण्डर नगरभित्र ल्याएको नगर प्रमुख रमण बहादुर थापाले बताए । जिल्लाकै दोस्रो बढी संक्रमण रैनादेवी छहरा गाउँपालिकाभित्र रहेकाले पालिकाले पनि पालिकाको ४ छहरामा १० बेडको कोभिड अस्पताल संचालन गरेको छ । पालिकाभित्र अहिले ८० जना कोभिडका सक्रिय संक्रमित छन् । अहिले सबै संक्रमित होमआइसोलेसनमा बस्दै आएको भएपनि आगामी दिनमा अझै जोखिम बढ्ने भएको अक्सिजन चिकित्सकसहितको तयारीमा कोभिड अस्पताल संचालनमा रहेको प्रमुख प्रशासकीय अधिकृत इन्द्रबहादुर क्षेत्रीले बताए ।
रम्भा गाउँपालिकाले ५ ताहुमा ५ वेड र १ हुगीमा ५ बेड गरी १० वेडको कोभिड अस्पताल संचालनमा ल्याएको छ । अहिले दिनहुँ संक्रमणको दर बढ्दै गएकाले सबै वडामा कम्तिमा २० वेडको अक्सिजनसहित आइसोलेसन वेडका लागि काम भइरहेको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताए ।
पाल्पामा पछिल्लो समयम दुई हप्ताको अवधिमा ५६४ जना संक्रमित थपिएका छन् जसमा २९ जना जिल्लाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ५३५ जना संक्रमित होम आइसोलेसनमा छन् ।
पाल्पाका १० वटा पालिकामध्ये सबैभन्दा धेरै तानसेन नगरपालिकामा मात्र २६७ जना, रैनादेवी छहरा गाउँपालिकामा ८० जना, माथाँगढी गाउँपालिका ३९ जना, रामपुर नगरपालिकामा ३८ जना, बगनासकाली गाउँपालिकामा ३४ जना, पुर्वखोला गाउँपालिकाभित्र २३ जना, रिव्दिकोट गाउँपालिका भित्र २१ जना, तिनाउँ गाउँपालिकाभित्र २० जना, रम्भा गाउँपालिका भित्र १० जना र निस्दी गाउँपालिका भित्र ८ जना सक्रिय संक्रमित छन् । पाल्पामा ४३ जना कोरोना सक्रमितको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस !