जाजरकोटमा कोरोना संक्रमित महिलाको मृत्यु
जाजरकोट : समयमै उपयूक्त उपचार नपाउँदा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। वैशाख १९ गते कोरोना संक्रमण पुष्टि भएकी भेरी नगरपालिका-४ सिर्जनाटोलकी ४५ वर्षिया लिला विक सुनारको उपचारका क्रममा भेरी अञ्चल अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो।
कोरोना संक्रमणपछि जाजरकोट अस्पतालमा तीन दिन उपचार गराउँदा पनि निको नभएपछि बुधबार नेपालगञ्ज रिफर गरिएको थियो। अक्सिजन दिएर उपचार गर्दा पनि निको नभएपछि परिवारको माग र आवश्यकता अनुसार नेपालगञ्ज रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटमा कार्यरत्त डाक्टर अमीन शाहले जानकारी दिए।
उपचारका लागि नेपालगञ्ज रिफर गरिएकी उनको बुधबार राति ९ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ। मृतकको नेपालगञ्जमै अन्त्यष्टि गरिनेछ। जाजरकोट अस्पतालमा ५ जना कोरोना संक्रमितको अक्सिजन दिएर उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ।
बुधबारसम्म जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ४९ रहेको छ। एक जनाको मृत्यु भएपछि जिल्लामा कोरोनाको त्रास झनै बढेको छ।
प्रतिक्रिया दिनुहोस !