पाल्पाका होटल बने आइसोलेसन
तानसेन : दोस्रो लहरको कोरोना संक्रमण व्यापाक फैलिँदै गएपछि पाल्पाका ठूला होटल आइसोलेसनमा परिणत भएका छन् । सदरमुकाम तानसेनमा मात्र दुई हप्ताको अवधिमा ६ सयको संख्यामा कोरोना सक्रमित थपिएपछि जिल्लामा संचालित ठूला होटलहरु आइसोलेसनमा रुपान्तरण भएका हुन् ।
जिल्ला कोभिड नियन्त्रण तथा रोकथाम समितिले ठूला ठूला होटल आईसोलेसन बनाउन स्वीकृति दिएसँगै होटल संचालकले होटलका कोठालाई आइसोलेसन बनाएका हुन् ।अन्य पालिकाको तुलनामा सदरमुकाम तानसेनमा घरैपिच्छे संक्रमित बढेको, अधिकांश परिवारका सबै सदस्य कोरोना संक्रमित भएको, घरमा संक्रमित बिरामीलाई समेत पकाएर खान दिने आफन्त समेत नभएकाले होटलहरुलाई आइसोलेसन बनाउनु परेको पाल्पा होटल तथा रेष्टुरेष्ट व्यवसायी समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले बताए ।
होटल व्यवसायी तथा संचालकको संयुक्त बैठकले संक्रमित बिरामीको लागि दुई पटक खाना, दुई पटक खाजा, चियाँ कफी, बिरामीले आफैं तातो पानी तताउन मिल्ने विधुतीय जगको व्यवस्था गरिएको मोनिका गेष्ट हाउसका संचालक जीवलाल सुवेदीले बताए ।
संक्रमित बिरामीको लागि एट्याच ट्वालेट, बाथरुम, तातोपानीको व्यवस्था, आवश्यकता अनुसार बिरामीका लागि अक्सिजन समेत व्यवस्था गरिएको होटल अन्नपूर्णका संचालक लक्ष्मण बस्यालले बताए ।
खाना, खाजासहित होटलमा डवल बेड रुमका लागि प्रतिव्यक्ति दैनिक दुई हजार, व्यक्ति रुप पर्सनल कोठाको लागि प्रतिदिन तीन हजार शुल्क निर्धारण गरिएको अध्यक्ष श्रेष्ठले बताए । हामीले अति न्यूनत मुल्यमा मानवीय सेवाका लागि यो पवित्र कार्यमा हात हालेको उनले बताए ।
पहिलो चरणमा होटल श्रीनगर, होटल अन्नपूर्ण, मोनिका गेष्टहाउस, होटल सिम्रिक र होटल ताजले आईसोलेसन संचालन गरेका छन । यी होटलसँग ३ सय बेड रहेको आवश्यकता अनुसार अन्य होटल थप्दै जाने संघका अध्यक्ष श्रेष्ठले बताए ।
गत वर्ष संक्रमितलाई स्थानीय सरकारले वडावडा तथा विद्यालयमा क्वारेन्टाइन निर्माण गरी संक्रमितको व्यवस्थापन गर्दै आएको भएपनि यस वर्ष सबै संक्रमित होम आइसोलेसनमा बस्दै आएका छन् ।
एक संक्रमितबाट परिवारका अन्य सदस्यमा रोग नरोस भनेर होटल आइसोलेसन उपयुक्त भएको जिल्लास्तरीय बैठकमा सबैको सहमति मिलेको पाल्पा व्यापार संघका अध्यक्ष चिरञ्जीवी पोखरेलले बताए ।
प्रतिक्रिया दिनुहोस !