खोपले जोगाएकाहरू
सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड उल्लघंन गर्दै जात्रा, भोज र विवाह दैनिक भइरहँदा सबै जिल्लामा कोरोना संक्रमण बढिरहेको छ। नागरिकको लापरबाही र अटेरीले लकडाउनमा पनि संक्रमण बढिरहेको छ। एक विवाहमै दुईदेखि आठ दर्जनसम्म संक्रमित फेला परिरहेका छन्। विवाहमै सहभागी खोप नलगाएका दमरोगी ८७ वर्षीय वृद्धाको वैशाख २३ गते धौलागिरि अस्पतालमा मृत्यु भएको थियो। नुवाकोटमा बेहुलीको संक्रमणले मृत्यु गरायो। यी त प्रतिनिधि उदाहरण मात्र हुन्।
एकछिन सोचौं त, नेपालमा राजनीतिक तथा मन्त्रालयका नेतृत्व जति गैरजिम्मेवार छन्, चिकित्सक र स्वास्थ्यकर्मीहरू पनि त्यत्तिा नै गैरजवाफदेही हुन्थे भने कोरोना महामारीको यो अवस्था कस्तो हुन्थ्यो होला ?
संक्रमणको उकालो अझै कति ठाडो र टाढा छ निश्चित छैन तर सरकारले अब आफूले केही गर्न नसक्ने भन्दै वैशाख दोस्रो सातामै आत्मसमर्पण गर्यो। यस्तो परिस्थिति आउनमा मुलुकका राजनीतिक दलका नेतृत्वलगायत नागरिकको असावधानी उत्तिकै जिम्मेवार छन्, थप नबिग्रियोस् भन्दै सबैले सतर्क रहन जरुरी छ। तथापि सरकारी ढाडस र जिम्मेवारीबोध पनि त्यत्तिकै चाहिन्छ।
खोपले जोगाएका अग्रपंक्ति र जेष्ठनागरिक
उत्पादन भएकोमध्ये ९० प्रतिशत कोरोना खोप धनी र उच्च, मध्यम आय भएका देशमा खपत भएको, न्युन आय भएका देशमा ०.२ प्रतिशत मात्र गएको एड्स हेल्थकेयर फाउन्डेसनले बताएको छ। विश्वमा रहेका साढे ७ अर्ब जनसंख्यालाई खोप दिनुपर्ने छ। खोप सबैका लागि सहज र सम्भव नभएकाले निर्धन देशका निमुखा जनताले जनस्वास्थ्य मापदण्डको अभ्यास गर्ने र अभ्यस्त हुनुको विकल्प छैन।
नेपालमा खोप आयातपछि २१ लाख बढीले खोप लगाइसकेका छन् भने पहिलो प्राथमिकतामा परेका पाँच लाख भन्दाबढीले खोपको दोस्रो मात्रासमेत लिइसकेका छन्। तथापि प्लाज्मा दान गर्न खोप लगाएको भए ६ महिना र नलगाएको भए तीन महिनाभित्र संक्रमण भएको व्यक्ति हुनैपर्छ। संक्रमण भएर शरीरमा बनेको न्युक्ल्यिोक्याप्सीड एन्टिबडी हो। खोपले बनाउने एन्टिबडी भनेको स्थायी प्रोटिनको विरुद्धमा मात्र हो।
नेपालमा अपेक्षाअनुसार खोप नआएपछि फागुन २३ गतेदेखि सञ्चालन हुने दोस्रो चरणको खोप अभियानमा परिवर्तन गरी ६५ वर्षमाथिकालाई मात्र खोप लगाइयो। कोरोनाको बढ्दो संक्रमण, खोपको उपलब्धता र दोस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै वैशाख ७ देखि ११ गतेसम्म पहिलो चरणमा खोप लगाएकाका लागि दोस्रो मात्रा दिइयो। दोस्रो डोज दिनुभन्दा जोखिम समूहलाई पहिलो डोज दिनु नै बुद्धिमानी थियो। खोपको सदुपयोगका लागि एन्टिबडी परीक्षण गरी नभएका र कमजोर भएकालाई मात्र खोप दिनु पथ्र्याे। विश्व स्वास्थ्य संगठनले पनि पहिलो मात्रा बढी जनालाई दिन सुझाएको छ। खोप पहिलो मात्राले तीन महिनासम्म ७५ प्रतिशत बढी र १२ हप्तापछि दोस्रो मात्रा खोप लगाउँदा ८० प्रतिशत बढी प्रभावकारी छ।
सरकारसँग भएको २३ लाख ४६ हजार डोजमा अनुदान १० लाख, खरिद २० मध्ये १० लाख र कोभ्याक्स तीन लाख ४६ हजार मात्रा हो। चीन सरकारले अनुदानमा उपलब्ध गराएको आठ लाख कोभिड खोप भेरोसेलले सर्वसाधारणलाई समेटेको थियो तर लकडाउनसँगै बन्द छ। महामारीका बेला खोपलाई थप प्रभावकारी र बृहत बनाउनुपर्नेमा कमिसनका नाममा बन्द छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कोभिसिल्ड खोप उत्पादन गर्ने भारतको सिरम इन्स्टिच्युटको नेपाली एजेन्ट हुकाम डिस्ट्रिब्युटर्स एण्ड लजिष्टिक प्रालि जुन दुगड र वैद्यका नाममा छ बीच करिब ३५ करोड कमिसनमा कुरा नमिल्दा थप ५० लाख डोज खोप खरिद प्रक्रिया अघि नबढेको विवाद वैशाख तेस्रो साता सतहमा आयो। सिधै खरिद गर्न लाग्दा एजेन्टले कमिसन मागेको र सो नहुने भए खोप खरिद नै अघि बढ्न नदिएको बताइन्छ।
खोपको एक मात्राले पनि घरभित्रको संक्रमण आधा
फाईजर वा एष्ट्राजेनेका खोपको पहिलो मात्रा दिइएका दुई हप्तापछि र त्यसको तीन हप्तापछि संक्रमित भएका व्यक्तिले खोप नलगाएकालाई भाइरस सार्ने सम्भावना ३८ देखि ४९ प्रतिशतसम्म कम रहने पब्लिक हेल्थ इग्ल्याण्ड, पीएचईले जनाएको छ। यी दुई खोपमध्ये कुनै एक लगाएको व्यक्तिलाई खोप लिएको चार हप्तापछि लक्षणसहित संक्रमण देखिने जोखिम ६० देखि ६५ प्रतिशतले कम देखिएको छ।
क्यालिफोर्नियाको मोर्डना र फाईजर खोप पहिलो डोज ३७ हजार र दुवै मात्रा २८ हजारले लगाएकाहरूमा गरिएको एक अध्ययनमा खोपपछि १.१९ प्रतिशतमा कोभिडको संक्रमण रहन्छ। त्यस्तै कोभिसिल्ड लगाएकामा प्रभावकारी ७२ प्रतिशत भएकाले २८ प्रतिशतलाई खोपले सुरक्षा दिँदैन र संक्रमण हुनसक्छ। तसर्थ जनस्वास्थ्यका मापदण्ड सबैका लागि अनिवार्य छ। संक्रमणमा मात्र नभई अस्पताल भर्ना हुने र मृत्यृ हुनेको ग्राफ पनि अप्रत्याशित रूपमा उकालो लागि शैयाको अभाव छ। कोरोनासँग लड्ने सिपाही स्वास्थ्यकर्मी मात्र होइन, हतियारको औषधि, शैया, अक्सिजन समेतको अभाव छ।
अहिलेको अस्पताल भर्ना र जटिलता युवा जमातकै छ अर्थात् जसले खोप लिन पाएका छैनन् तिनको छ र स्वाभाविक मृत्यु पनि त्यही उमेरकै छ। भारतलगायत नेपालमा दोस्रो लहर आक्रामक रूपमा देखिनुमा नयाँ भेरियन्ट, व्यक्तिगत रूपमा स्वास्थ्यको मापदण्डको प्रयोग नहुनु र खोप लगाउनेको संख्या कम हुनु मुख्य कारण हो। खोपको पहिलो मात्राले बी एन्टिबडी बनाउने र दोस्रो मात्राले टी सेल भाइरस चिन्ने र मार्ने एक्टिभेट गरी एन्टिबडी बनाउने भएकाले दोस्रो मात्राको खोपले दिगो एन्टिबडी बनाउँछ।
खोप लगाएकामा रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै तीन चौथाईमा संक्रमण नहुने र भएमा पनि जटिल र मृत्यु नहुने तथा अन्य व्यक्तिमा संक्रमण सार्ने सम्भावना कम हुन्छ। नेपालमा खोप लगाएका जेष्ठ नागरिक र अग्रपंक्तिमा संक्रमण ज्यादै कम भए पनि सामान्य लक्षण भएको र अस्पताल भर्ना तथा जटिलता शून्य देखिन्छ।
अक्सिजनको मात्रा
कोरोनाको दोस्रो लहरले बढाएको अधिकांश संक्रमितको फोक्सोमा असर पारी पर्याप्त अक्सिजन नपुग्ने र शरीरमा अक्सिजनको कमी हुने समस्या देखिएको छ। औषधि अभाव छ, अस्पतालका शैया, सघन उपचार कक्ष र भेन्टिलेटर खाली छैनन्। यस्तो अवस्थामा संस्थागत आइसालेसन तथा घरमै बसेका संक्रमितले सुत्ने तरिकामा केही परिवर्तन गरेर पनि अक्सिजनको सामान्य कमीलाई धेरै हदसम्म बढाउन सकिन्छ।
संक्रमितलाई सास लिन समस्या भए वा अक्सिजनको स्तर ९४ भन्दा कम भए चिकित्सकीय स्वीकृत विधि घोप्टो परेर बस्ने, पल्टिनु प्रोनिङ फाइदाजनक हुन्छ। घोप्टो परेर सुत्दा फोक्सो पूरा खुल्छ र सकारात्मक परिणाम र निको हुने दर बढ्छ। सन् २०२० जुलाईको क्युरस जर्नलमा प्रोनिङले अस्पतालको बोझलाई कम गर्ने मात्र नभई यान्त्रिक भेन्टिलेटरको आवश्यकतालाई समेत कम गर्दछ।
मन्त्रालयकाले भत्ता लिई अग्रपंक्तिका के नेपालगन्ज, के दाङ, के वीररगन्ज तथा काठमाडौं देशभर नै जोखिम भत्ता, प्रोत्साहन, सेवासुविधा नपाउँदासम्म पनि आफंै संक्रमित रहँदा सलाइन पानी हातमै झुन्ड्याई संवेदनशील हुँदै बिरामीको उपचारमा संलग्न छन्। एकछिन सोचौं त, नेपालमा राजनीतिक तथा मन्त्रालयका नेतृत्व जति गैरजिम्मेवार छन्, चिकित्सक र स्वास्थ्यकर्मीहरू पनि त्यत्ति नै गैरजवाफदेही हुन्थे भने कोरोना महामारीको यो अवस्था कस्तो हुन्थ्यो होला ?
अन्तमा, खोप लगाउन पाए पनि नपाए पनि कोरोनाको दीर्घकालीन ओखती मास्क हो। धेरैभन्दा धेरैले मास्क लगाए थोरैभन्दा थोरै मात्र संक्रमित हुन्छन्। त्यसैले नाक र मुख छोपिने ट्याप्पै ढाकिने गरी मास्क लगाऔं। मास्क नलगाई बाहिर निस्किनेलाई कम्मरमुनि निर्वस्त्र बाहिर निस्कनुभन्दा गम्भीर ठानी केहीबेरलाई छुच्चो हुँदा घर समाज बच्छ भने छुच्चो भई आफू बचौं र अरूलाई बचाऔं।
(बुढाथोकी नेपाल चिकित्सक संघका कोषाध्यक्ष हुन्।)
प्रतिक्रिया दिनुहोस !