एमाले नेता चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि
काठमाडौं : नेकपा (एमाले) का दिवंगत नेता तथा बागमती प्रदेशसभा सदस्य पशुपति चौलागाईंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेता चौलागार्इंलाई अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न पशुपति आर्यघाटमा गृहमन्त्री रामबहादुर थापा, सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ, एमाले वाग्मती प्रदेश सङ्गठनका अध्यक्ष आनन्दप्रसाद पोखरेल, पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङ,बागमती प्रदेशसभाका सदस्य रचना खड्कालगायत नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।
त्यसअघि आज बिहानै नेता चौलागार्इंको पार्थिव शरीरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङले राष्ट्रिय झण्डा तथा पार्टी अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहराले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गरे। कोरोना भाइरसको सङ्क्रमणबाट नेता चौलागार्इंको मङ्गलबार निधन भएको हो ।
एमाले पोलिटब्यूरो सदस्य चौलागाईं दोलखा (ख)बाट वाग्मती प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। नेता चौलागार्इं २०५६ सालको निर्वाचनमा दोलखा–१ बाट निर्वाचित थिए ।
त्यस्तै २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक कोटाबाट सांसद बनेका थिए । विद्यार्थीकालदेखि नै सक्रिय राजनीतिमा रहेका चौलागार्इं एक निष्ठावान्, इमान्दार नेता थिए । उनको निधनले दोलखाका साथै सिङ्गो राष्ट्रले अपूरणीय क्षति व्यहोर्नु परेको एमाले वाग्मती प्रदेश सङ्गठनका अध्यक्ष पोखरेलले बताए।
प्रतिक्रिया दिनुहोस !