बुद्धको समाजवाद

बुद्धको समाजवाद

समाजका अगुवाहरूको विलासी जीवनले सर्वसाधारणमा समेत विलासको आकांक्षा जगाउँछ


५६३ इसापूर्वमा जन्मी ५२८ इसापूर्वदेखि ४५ वर्ष अविरल सत्य, अहिंसा, शील, शान्ति, समानता र सामाजिक सामञ्जस्यबारे शिक्षाको ज्योति प्रज्वलन गर्ने यी महामानवका उपदेशहरू आज झनै सान्दर्भिक देखिएका छन्। समाज परिवर्तनशील छ। किन्तु केही कुरा सार्वकालीन सत्यको रूपमा जीवित रहन्छन्। जतिसुकै भौतिक समृद्धि हासिल गरे तापनि मनुष्यका लोभ, इष्र्या, विभेद, शोषण, वन्चना र अहंकार बुद्धकालमा जस्ता थिए, आज पनि त्यस्तै छन्।

तथापि बुद्धले ज्ञानको ज्योति नबालेको भए ती तुच्छ प्रवृत्तिहरू अझै उग्र रूपमा प्रकट हुने थिए भन्नेमा कुनै शंका छैन। बुद्धले कोसल नरेश प्रसेनजीत शाक्य नरेश सुद्धोधन, मगध नरेश बिम्बिसार एवं अजातशत्रु, भिक्षु आनन्द र अन्य भिक्षुहरूलाई दिएको उपदेशका साथै भिक्षुसमूहले गरेको निर्णयका आधारमा यो लेख तयार गरिएको हो।सिद्धार्थको महाभिनिष्क्रमण तत्कालीन समाजमा व्याप्त गरिबी, शोषण, अन्याय, विभेद, छुवाछूत र पुरोहितवाद विरुद्धको शान्त र शालीन विद्रोह थियो। विभिन्न देशमा भएका रक्तिम र हिंसात्मक विद्रोहहरूले पुराना शासकवर्गलाई विस्थापन गरी नयाँलाई ठाउँ त दिए तर स्वतन्त्र, समृद्ध र शालीन समाजको स्थापना हुन सकेन। ‘महान्’ रक्तिम क्रान्तिकारीहरू भिक्षा माग्ने बटुको हातमा लिई एकसरो चीवर भिरेर हिँड्ने शान्त र करुणामय भिक्षुको तुलनामा तुच्छ साबित भए।

बुद्धको शिक्षाले भन्छ, धनवान् व्यक्ति सम्मानको हकदार र धनहीन व्यक्ति अपमानको पात्र होइन। जाति, जन्म र पेशाको आधारमा गरिने विभेद सामाजिक अपराध हो। समाजमा हुने हिंसा, बेमेल र झैझगडाको कारण हो लोभ, लिप्सा र व्यभिचार। हिंसक क्रान्तिले सत्ता परिवर्तनमा जोड दिन्छ, किन्तु बुद्ध चरित्र परिवर्तनमा जोड दिन्छन्। सत्तालाई एक व्यक्ति या समूहबाट अर्को व्यक्ति या समूहमा पुर्‍याउँदैमा सत्तासीन व्यक्ति र समाजको सोचमा परिवर्तन आउन सक्दैन।बुद्धको समाजवादमा अष्टांगिक मार्ग र पाँच शीलको प्रमुख भूमिका रहन्छ। सत्तामा बस्नेले सम्यक जीवनयापनका आठ मार्ग र सदाचारका पाँच शीलहरूलाई आत्मसात गर्ने हो भने समाजका सर्वसाधारण व्यक्तिमा पनि त्यसको सकारात्मक प्रभाव पर्दछ।
सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक आजीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधिको माध्यमबाट समाजमा प्रेम, भ्रातृत्व, समानता, स्वतन्त्रता र न्यायको स्थापनामा मद्दत मिल्छ। विभेद र वन्चनाको आदत परेका हुनेखानेहरूलाई सम्यक जीवन अपनाउन कठिन होला, तर सधैंभरि अन्याय र अनाचारयुक्त जीवनपद्धति अपनाउने अधिकार कसैलाई छैन।राजनीतिक र गृहस्थ जीवनमा पनि सम्यक रूपमा भिक्षुको जस्तै जीवन बिताउन सकिन्छ। अहिंसा, अस्तेय (चोरी नगर्नु), ब्रह्मचर्य, झूटो नबोल्नु र मद्यपान नगर्नुसमेत पाँच शीलहरूलाई अंगीकार गर्न सकियो भने राजनीतिक र गृहस्थ जीवन अनुशासित, शान्त र समृद्ध हुन्छ।

अहिंसा भनेको ज्यान नलिनु मात्र होइन। वचन, कर्म र चरित्र पनि अहिंस्रक हुनु जरुरी छ। अहिंसा शान्ति, शालीनता र मर्यादा पनि हो। गृहस्थका लागि ब्रह्मचर्यको अभिप्राय स्त्री र पुरुषबीच समागम नै नगर्ने भन्ने होइन। ब्रह्मचर्य भनेको व्यभिचार, अनाचार, दुराचार र बलात्कार नगर्नु हो।समाजका ठुलाठुला अगुवाहरूले दुराचारी, व्यभिचारी र बलात्कारीलाई संरक्षण मात्र नगर्ने हो भने पनि यस्ता सामाजिक विकृतिहरू धेरै हदसम्म निराकरण हुन्छन्। उनीहरूले झूटो बोल्न र मद्यपान (अनुचित लत र नशा) गर्न छाड्ने हो भने सर्वसाधारण नागरिकहरूले पनि त्यही मार्ग उचित होला भन्ने ठानी सोही चरित्रको अनुसरण गर्न थाल्छन्।सम्यक कमाइ, सम्यक दाम्पत्य, सम्यक संगत, सम्यक सामाजिक जीवन, सम्यक राजनीति र सम्यक वितरण पद्धतिको परिपालना भयो भने कसले कसकाविरुद्ध विद्रोह गर्ला ?

बुद्ध भन्छन्, लोभ र आसक्ति शोषणको जड हो। सबैसँग समान मैत्री र सबैप्रति समान करुणा, शान्तिर सम्मानसहकारिताका सूत्र हुन्।समाजका अगुवाहरूको विलासी जीवनले सर्वसाधारणमा समेत विलासको आकांक्षा जगाउँछ। एउटा समुदायको गरिबीको मूल्यमा अर्को समुदायको समृद्धि कुनै गौरवको विषय होइन। एउटा देशको शान्ति र समृद्धि अर्को देशको गरिबी,अशान्ति र असुरक्षामा आधारित हुनु हुँदैन। विश्वको जुनसुकै देशमा बसोबास गर्ने मानिसलाई शान्ति, समृद्धि र स्वतन्त्रताको हक छ।
बुद्ध शासकलाई सम्बोधन गर्दै भन्छन्, यदि तिमी नागरिकबाट सम्मानको अपेक्षा गर्दछौ भने तिमीले पनि नागरिकप्रति सम्मान गर्नु आवश्यक छ। तिमी नैतिकता र सदाचारयुक्त भयौ भने नागरिक पनि सदाचारी र नैतिकवान बन्न अभिप्रेरित हुनेछन्। तिमीले बुझ्नु आवश्यक छ, अहंकार तिमी आफैंले सृजना गरेको कारागार हो। अहंकारको कारागारबाट बाहिर निस्केर त हेर संसार कति निर्मल र रमणीय छ। बुद्ध अझै अघि बढेर शासकलाई आह्वान गर्दै भन्छन्, ‘प्रज्ञावान् बन !’

सम्यक कमाइ, सम्यक दाम्पत्य, सम्यक संगत, सम्यक सामाजिक जीवन, सम्यक राजनीति र सम्यक वितरण पद्धतिको परिपालना भयो भने कसले कसकाविरुद्ध विद्रोह गर्ला ?बुद्ध भन्छन्, लोभ र आसक्ति शोषणको जड हो। सबैसँग समान मैत्री र सबैप्रति समान करुणा, शान्तिर सम्मानसहकारिताका सूत्र हुन्।

बुद्धको भनाइ छ, सात कुराको विद्यमानता छ भने त्यो मुलुकलाई समृद्ध, न्यायपूर्ण र भाग्यमानी जनताको देश भनेर बुझे हुन्छ। सार्वजनिक विषयमा सार्वजनिक छलफल, सामुदायिक एकता र सहकारिता, कानुनको पालना, सदाचारी र सुदृढ नेता, आपराधिक प्रवृत्तिको अभाव, पुरातात्विक सम्पदाको संरक्षण र  प्रज्ञावान् गुरुको सम्मान असल राष्ट्रका प्रतीक हुन्। बुद्धले यी सबै गुणले युक्त बज्जी गणतन्त्रको प्रशंसा गरेका थिए।बुद्ध सत्ताधारीलाई सम्बोधन गर्दै भन्छन्, साना किसानहरूलाई उनीहरू सक्षम नहुँदासम्म  खाद्यान्न, बिउबिजन र मलजस्ता कुरा अनुदानमा दिनुपर्छ। खुद्रा व्यापारीलाई ऋण र शारीरिक, मानसिक या उमेरका कारण श्रम गर्न नसक्नेलाई सामाजिक सुरक्षाको दरकार पर्दछ। मजदुरको कामको अवस्थामा समुचित सुधार र शोषणको अन्त्य हुनुपर्दछ। आर्थिक अवस्था कमजोर भएका नागरिकसँग कर लिनु हुँदैन। सबैलाई आफूले रोजेको पेशा व्यवसाय गर्ने स्वतन्त्रता हुनुपर्छ। जनश्रमदान अनिवार्य नभई स्वेच्छिक हुनुपर्दछ। यातना, मृत्युदण्ड, कारागार र देशनिकालाजस्ता सजाय अपराध घटाउन र अमनचयन कायम गर्नका लागि सम्यक उपाय होइनन्।

बुद्ध शक्तिशाली मानिसहरूलाई लक्षित गर्दै भन्छन्, संसारमा जे जति कुरा छन् ती सबै अनित्य हुन्। जीवनमा सधैं सुख र सधैं दुःख हुँदैन। जसरी जीवन आरोह र अवरोह हो, त्यसैगरी राजनीतिक जीवनमा पनि आरोह र अवरोह स्वाभाविक घटना हो। आरोहको समयमा अहंकारी हुने र अवरोहको स्थिति आइपर्दा शक्तिमा रहिरहन अनुचित साधनको उपयोग गर्न थालियो भने समाजमा गुटबन्दी हुन्छ। गुटबन्दीले अनुशासन र मर्यादामा धक्का पुर्‍याउँदै सामाजिक विघटन र छिन्नभिन्नताको अवस्था सृजना गर्न सक्छ। यस्तो परिस्थितिमा बदलाको भावनाको उदय हुन्छ, जसको मूल्य सम्बन्धित पक्षले मात्र नभई निर्दोष नागरिकले समेत चुकाउनु पर्छ।

जहाँ जन्म त्यहाँ मृत्यु, जहाँ प्राप्ति त्यहाँ गुमाइ, जहाँ मिलन त्यहाँ बिछोड, जहाँ संगठन त्यहाँ विघटन र जहाँ उदय त्यहाँ अस्त जीवनका अभिन्न अंग हुन्। अन्यायपूर्वक थुपारेको सम्पत्ति, शक्तिप्रतिको अत्यन्त आसक्ति, आलस्य, अज्ञान र अहंकार सुखी जीवनका अवरोध र बन्धन हुन्। यी बन्धनलाई छिनाल्न सक्ने व्यक्तिको हातमा सत्ता गयो भने राष्ट्रिय जीवन सुखी हुन्छ। यो सत्यलाई आत्मसात गर्नु नै राजनीतिक जीवनको मर्यादा र कर्तव्यलाई चिन्नु हो। यति कुरा बुझ्न नसक्ने व्यक्ति शक्तिमा पुग्यो भने राष्ट्रलाई नै संकटमा पार्दछ।
बुद्धले खोजेजस्तो समाज स्थापना भयो भने पनि समाजमा वादविवाद, अनमेल र फुटको अवस्था आउने सम्भावना सदा रहिरहन्छ। झगडाको बीज भने ठुलो हुँदैन। एक जना भिक्षुले हातमुख धुने गरेको भिउँट सफा गर्न बिर्सेको घटनालाई लिएर भिक्षुहरूबीच ठुलो विवाद भयो। त्यो झगडाबाट दिग्दार भएका बुद्ध कसैलाई केही नभनी धेरै महिनासम्म एकान्तवासमा गए। पछि जसोतसो गरेर विवाद समाधान गरियो। 

यस घटनाले के प्रमाणित गर्‍यो भने जहाँ मनुष्य हुन्छ, त्यहाँ विवाद पनि हुन्छ। यसैलाई मनन गरी भिक्षुहरूले विवाद समाधानका सात तरिका प्रतिपादन गरेका थिए।
ती सात तरिका यस्ता छन्, आमुन्ने सामुन्ने बसेर छलफल गर्नु (सम्मुख विनय), विवाद सुरु हुनुको कारणको स्मरण गर्दै तत्कालको परिस्थिति विचार गर्नु (स्मृति विनय), मेलमिलाप गर्ने मनसाय (अमुधा विनय), पक्षले आआफ्नो कमजोरी मनन गर्नु (तत्सवभैस्य विनय), विवादको निरूपण (प्रतिज्ञाकारक विनय), विवादको छिनोफानो र समाधान (यद्भुयसिकीय विनय) र फोहोर अवस्थाबाट सुकिलो अवस्थामा पुग्ने प्रतीकको रूपमा हिलोमाथि सुक्खा पराल बिछ्याएर पार गर्ने प्रक्रिया (तृणस्तारक विनय)। आज पनि जटिल मामिलाका विवाद समाधान र मेलमिलापका लागि यो सिद्धान्त लागू हुने गरेको छ। परन्तु नेपालमा राजनीति गर्ने ‘विद्वान्’हरूमा यो सरल तरिका बुझ्ने ल्याकत छैन।

अन्त्यमा, बुद्ध कुनै अलौकिक महामानव प्रतीत हुँदैनन्। उनी हामी जस्तै लाग्छन् र हामीले जस्तै साधारण भाषामा वार्तालाप गर्दछन्। उनले दिएको शिक्षा गहन तर सहज र बोधगम्य छ। यस्तो महसुस हुन्छ, उनी यतै कतै हाम्रो नजिक छन्। बुद्ध असाधारण रूपमा साधारण छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.