उभौली साकेला चाड मनाइँदै
काठमाडौं : प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किरात समुदायले मनाउने उभाैली चाड आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ। उभाैलीमा बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ।
गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उभाैली रहेको हो।
वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किरात समुदायको विश्वास छ। नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन्। यस चाडका अवसरमा साकेला (लाक) नाच समेत नाचिन्छ।

वर्षमा दुईपटक मनाइने साकेलामा किरात समुदायका विभिन्न सम्प्रदायका बीच साकेला नाच नाचिन्छ। साकेला वैशाख शुक्ल पूर्णिमा उभाैली र मार्गशीर्ष शुक्ल पूर्णिमामा उँधौली भनेर मनाइन्छ।
यस वर्ष एक महिना अघिदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण निश्चित मानिस मात्र बसेर पूजाको विधिमात्र पूरा गर्ने तयारी गरिएको किरात राई यायोक्खाले जनाएको छ। राजधानीमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा केही मानिस जम्मा भएर पूजा आराधनाको विधि पूरा गर्ने तयारी यायोक्खाले गरेको हो।
अघिल्लो वर्ष पनि कोरोना संक्रमणसँगै गरिएको बन्दाबन्दीका कारण सीमित मानिस जम्मा भएर पूजाआजा गरी चाड मनाइएको थियो।
प्रतिक्रिया दिनुहोस !