कपिलवस्तु अस्पताललाई ११ थान अक्सिजन कन्सन्टेटर सहयोग
कपिलवस्तु : लुम्बिनीस्थित लुम्बिनी सामाजिक सेवा प्रतिष्ठानले कपिलवस्तु अस्पताललाई २५ लाख मुल्य बराबरका ११ थान अक्सिजन कन्सन्टेटर मेसिन सहयोग गरेको छ । लुम्बिनी सामाजिक सेवा प्रतिष्ठान अन्र्तगत रहेको वोधी इन्स्टिच्युटले क्यानडामा बस्दै आएकी धर्मआमा रबौद्ध धर्मावलम्वी गुरुआमाले संकलन गरेको सहयोगबाट सो अक्सिजन कन्सन्टेटर खरिद गरी कपिलवस्तु अस्पताललाई हस्तान्तरण गरिएको हो ।
जिल्ला अस्पताल परिसर तौलिहवामा लुम्बिनी सामाजिक सेवा प्रतिष्ठानका तर्फबाट प्रतिष्ठानका संरक्षक भिक्षु मैत्तेय र लुम्बिनीबौद्ध विश्वविद्यालयका प्राध्यापक गुनाखर गैरेले संयुक्तरुपमा सो कन्सन्टेटर प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे र अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. किशोर बन्जाडेलाई हस्तान्तरण गरेका हुन्।
कपिलवस्तु अस्पतालमा अक्सिजनको अभाव भएको खबर पाएपछि अभावमा कसैको ज्यान नजाओस् भन्नका लागि सबैको सहयोगबाट कन्सन्टेटर मेसिनलगायत अस्पतालका स्वास्थ्यकर्मीलाई खानानास्ताको प्रबन्ध गरिएको लुम्बिनी सेवा प्रतिष्ठानका संरक्षक तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष समेत रहेका भिक्षु मैत्तेयले बताए ।
अक्सिजन सिलिण्डरको हाहाकार भएका बेला इलेक्ट्क कन्सन्टेटर मेसिनबाट बिरामीलाई अक्सिजन प्रवाह गर्न निकै फलदायी हुने कपिलवस्तु अस्पतालले जनाएको छ । कपिलवस्तु अस्पतालमा यसरी प्राप्त भएका ११ थान अक्सिजन कन्सन्टेटर मेसिन, विभिन्न व्यक्ति तथा समूहले प्रदान गरेका सिलिण्डर र अस्पतालले आफै प्रवन्ध गरेका सिलिण्डरबाट अब नियमित रुपमा बिरामीलाई अक्सिजन प्रवाह गर्न सकिने अस्पतालका मेसु डा. किशोर बन्जाडेले बताए । अक्सिजन अभावमा अब कपिलवस्तु अस्पतालमा कसैले ज्यान गुमाउनु पर्दैन, मेसु बन्जाडेले भने ।
प्रतिक्रिया दिनुहोस !