मेकियावेलीको सत्ता सिद्धान्त

मेकियावेलीको सत्ता सिद्धान्त

महामारी, अकाल र भूकम्पजस्ता दैवी घटना र विदेशी आक्रमणले शासकको कुर्सी खतरामा पर्ने सम्भावना सधैं रहन्छ


लर्ड एक्टन भन्छन्– राजनीति इतिहासको प्रवाहको किनारमा त्यसैगरी जम्मा हुँदै जान्छ जसरी नदी किनारमा सुनका कणहरू।निकोलो मेकियावेली फ्लोरेन्स राज्यको विदेश विभागमा काम गर्ने कर्मचारी थिए। राज्यमा राजनीतिक उथलपुथल भएको हुँदा उनी पक्राउ परे। निर्दोष साबित भएपछि उनले काराबासबाट मुक्ति त पाए तर सार्वजनिक मामिलामा चासो लिन नपाउने सर्तमा।

अवकाशको जीवनमा उनले समकालीन समाज, विभाजित इटालीका ससाना राज्यहरू, शासन र न्यायप्रणालीमा चर्चको वर्चस्वका साथै उत्तरी छिमेकी देशहरूबाट बेलाबेलामा हुने आक्रमणबारे अनुशीलन गरे। उनले युरोपको राजनीतिक र सामाजिक इतिहासको अध्ययन गरे। मेकियावेलीले पूर्वकालमा विभिन्न चिन्तक र दार्शनिकहरूले कल्पना गरेको मनुष्य, समाज, शासक र राज्यबारेका साहित्यलाई पर्गेले।मेकियावेली इतिहास र आफ्नो समयको परिस्थिति समेतलाई हेरेर के निक्र्याेलमा पुगे भने राजनीतिमा नैतिकता एक आदर्श कल्पना हो। राजनीतिलाई नीतिशास्त्र अनुरूप चलाउन खोज्नु अव्यावहारिक प्रयत्न मात्र हो।

मेकियावलीको नजरमा मानव स्वभाव
मनुष्य स्वभावैले स्वार्थी, बेइमान र धोकेबाज प्राणी हो। आधारभूत रूपमा मनुष्य कृतघ्न, धूर्त र अस्थिर हुन्छ। मनुष्यलाई आफ्नै हितको मात्र ध्यान हुन्छ। आफ्नो अभीष्ट पूरा गर्न मनुष्य नैतिकता र सदाचारका प्रत्येक नियमहरू तोड्न तयार हुन्छ। कुल मिलाएर हेर्दा मनुष्य कपटी र नीच प्राणी हो। आपसी संघर्ष र प्रतिस्पर्धाले गर्दा मनुष्यलाई कहिल्यै आराम र शान्ति मिल्दैन। मनुष्यको स्वार्थी, प्रतिस्पर्धी र लुच्चो स्वभावले गर्दा सधैं सामाजिक अराजकताको सम्भावना विद्यमान रहन्छ।
समाजमा दुई किसिमका मानिस हुन्छन्। एकथरी शक्तिमा जाने र अरूलाई दमन गर्ने चाहना राख्ने अभिजात धूर्त वर्ग एवं अर्काथरी शक्तिमा जान उत्सुक नहुने तर दमन चाहिँ भोग्नु नपरोस् भन्ने चाहना राख्ने सर्वसाधारण।प्रिन्स (शासक, राजा)ले यी दुईमध्ये एक वर्गको समर्थन हासिल गर्नैपर्छ। मेकियावेली भन्छन्, ‘आफैं शक्ति र सत्तामा पुग्न उद्विग्न अभिजात वर्ग शासकका लागि अत्यन्त खतरनाक हुन्छ। कुनै पनि शासक सत्तामा जान उत्सुक वर्गको समर्थनको भर पर्नु भनेको आफ्नैविरुद्ध जोखिम मोल्नु हो। त्यसैले उसले सधैं शक्तिको सपना नदेख्ने वर्गको समर्थन लिने प्रयत्न गर्नुपर्दछ।’

यस्तो हुनुपर्छ शासक
शक्तिमा पुग्नु मात्र काफी छैन। शासकमा आँट, साहस र जोखिम मोल्न सक्ने क्षमता पनि चाहिन्छ। शक्तिमा पुग्नु त्यति महत्वपूर्ण होइन, जति टिकिरहनु। शासक निडर, निर्लज्ज, जिद्दी र कपटी हुनु जरुरी छ। शासकले सत्य बोलेको अभिनय गर्न जाने पुग्छ, सत्य बोलिरहनु पर्दैन। सदाचारको नाटक गरे पुग्छ, सदाचारी हुनु पर्दैन। शासकले नैतिक र अनैतिक कुराको विचार गर्नु आवश्यक छैन। आफ्नो शक्ति र सत्ताको रक्षाका लागि जस्तोसुकै कदम चाल्नु शासकको बहादुरी हो। आवश्यक परेका बखत बाहिर सन्त जस्तो र भित्रभित्र जाली हुनुपर्दछ।
राजनीति अर्तिउपदेशबाट चल्दैन। यो के हुनुपर्छ भनेर आदर्श कल्पना गर्ने विषय होइन। आदर्शवादले शासकलाई पलायनवादी बनाउँछ। शासकले सत्तामा टिकिरहनका लागि सौर्य, हिम्मत, निर्लज्जता, कुटिलता, कपटता, छल र ‘सुपरम्यान’को भूमिका निर्वाह गर्न किञ्चित संकोच मान्नु आवश्यक छैन। शासकमा सिंहको जस्तो बल र साहस एवं छट्टु फ्याउरोको जस्तो धुत्र्याइँपूर्ण चलाखीको दरकार हुन्छ।

प्रेम, घृणा, भय र तिरस्कार
शासकले यो निश्चित गर्नु परम आवश्यक छ कि भरसक सर्वसाधारण जनताको प्रेम प्राप्त होस्। तथापि प्रेमले मात्र शासन चल्दैन। जनता शासकबाट त्रसित र भयभीत पनि भइरहनु जरुरी छ। दुवै प्राप्त हुन नसक्ने अवस्थामा शासकले भयलाई रोज्नुपर्दछ। आफ्नो स्वार्थ, सम्पत्ति र सन्तानको चिन्ता गर्ने जनतालाई भयभीत पारेर राख्न कठिन छैन। प्रेम क्षणिक र अस्थिर हुन्छ किन्तु भय चिरस्थायी।

केही व्यक्तिप्रति क्रूरतापूर्ण कारबाही गर्दा अरू सबै तह लाग्छन् भने त्यति क्रूरता प्रदर्शन गर्न किन हिच्किचाउने ? किन्तु शासक जनताको घृणा र तिरस्कारबाट सधैं जोगिनु आवश्यक छ। भयभीत हुनु र घृणा गर्नुमा ठूलो भिन्नता छ। शासक राष्ट्रकल्याणका खातिर बहुतै धेरै काम गरेको अभिनय गर्न सक्षम हुनुपर्छ। राष्ट्रिय भावना यसरी जागरण गराउनुपर्छ कि जनताले जयगान गरोस्। विदेशी शक्तिबाट खतरा रहेको हल्ला गर्दै सामना गर्न सधैं तयार रहेको कुरा आमजनतालाई थाहा दिइरहनुपर्छ।

शासकलाई खतरा
शासकलाई भाग्यले अप्रत्याशित दुर्भाग्यतर्फ डोहोर्‍याउन सक्दछ। किस्मतले यस्ता अनपेक्षित घटना गराउन सक्छ, जसको व्याख्या गर्न कठिन छ। महामारी, अकाल र भूकम्पजस्ता दैवी घटना र विदेशी आक्रमणले शासकको कुर्सी खतरामा पर्ने सम्भावना सधैं रहन्छ। चलाख शासक यस्ता घटनाको सामना गर्ने पूर्वतयारीमा रहन्छ।

शासकका लागि नैतिकताको प्रश्न पनि एउटा ‘थ्रेट’ हो। मेकियावेली भन्छन्, ‘कुनै अभीष्ट पूरा गर्दा कस्तो परिणाम निस्कन्छ भन्ने कुरा महत्वपूर्ण हो। कस्तो साधन अपनाइयो भन्ने कुरा महत्वपूर्ण होइन। उपलब्धि हासिल गर्न सकियो भने सबै हतकण्डा नैतिक हुन्छन्। नैतिक र अनैतिक भन्ने कुरा गतिविधिमा नभई व्याख्यामा भर पर्छ। शक्तिमा रहिरहन सक्नु नै शासकीय नैतिकता हो। शासकमा दोहोरो चरित्र आवश्यक छ। भित्री रूपमा अनैतिकता र बाहिर देखाउने नैतिकता।’

शासकमा आँट, साहस र जोखिम मोल्न सक्ने क्षमता पनि चाहिन्छ। शक्तिमा पुग्नु त्यति महत्वपूर्ण होइन, जति टिकिरहनु। शासक निडर, निर्लज्ज, जिद्दी र कपटी हुनु जरुरी छ। शासकले सत्य बोलेको अभिनय गर्न जाने पुग्छ, सत्य बोलिरहनु पर्दैन। सदाचारको नाटक गरे पुग्छ, सदाचारी हुनु पर्दैन।

शासकलाई अर्को खतरा शक्तिमा पुग्न खोज्ने सामाजिक, राजनीतिक र आर्थिक रूपमा प्रभावशाली अभिजात वर्गबाट हुन्छ। त्यस्ता तत्वको पहिचान गरेर तिनलाई जनताको नजरमा नालायक बनाइदिनु शासकको कर्तव्य हो। त्यस्ता व्यक्तिलाई फेरि टाउको उठाउन नसक्ने गरी ठेगान लाउनु जरुरी छ।सर्वसाधारण जनताले शासकका विरुद्ध विद्रोह गर्ने सम्भावना पनि हुन्छ। यो शक्तिमा हुने व्यक्तिका लागि सर्वाधिक खतराको विषय हो। शासकले जनतालाई अनेक उपाय गरेर भुलाइराख्नु पर्छ, झुलाइराख्नुपर्छ। जनताको भावुकतालाई पहिचान गर्दै अपूर्व नीतिवान, राष्ट्रवादी, सदाचारी र अत्यन्तै धर्मभीरु भएको अभिनय गर्न पनि शासक पछि पर्नु हुँदैन। छटेल शासकले जनतालाई सजिलै मूर्ख बनाउन सक्छ।

र अन्त्यमा,
मेकियावेलीलाई अनैतिक शिक्षाको विश्वगुरु पनि भनिन्छ। तथापि उनी आधुनिक राजनीतिक चिन्तनका प्रणेता हुन्। पुरानो राजनीतिक चिन्तनमा धर्म, सदाचार र पारलौकिक कुराको बाहुल्य थियो। जतिसुकै आदर्शका कुरा गरे तापनि मानव स्वभावलाई परिवर्तन गर्न नसकिने भएपछि यथार्थलाई किन स्वीकार नगर्ने ? यो हो मेकियावेलीको प्रश्न। शताब्दियौं अघि प्लेटोले परिकल्पना गरेको ‘नैतिक आदर्शवाद’ काम नलागेको कुरा सही नै हो तर मेकियावेलीको अनैतिकतामा आधारित ‘राजनीतिक यथार्थवाद’ कति ग्राह्य र स्वीकार्य छ भन्ने कुरा विचारणीय छ।
मेकियावेली कुनै क्रान्तिको आह्वान गर्दैनन्। उनको कुनै सिद्धान्त पनि छैन। उनमा उल्लेख गर्न लायक विद्वता थिएन। प्राचीन समयका प्लेटो र अरस्तु, आधुनिक समयका रुसो, जोन लक र कार्ल माक्र्सको तुलनामा उनी कतै फेला पर्दैनन्। मेकियावेलीले जसलाई लक्षित गरेर नब्बे पानाको ‘द प्रिन्स’ लेखे, उनीहरूले त्यो पढेनन्। उनले इटालीको एकीकरण र बलियो शासकको आवश्यकता महसुस गरेर लेखेको त्यो ‘हाते किताब’ उनी बितेको पाँच वर्षपछि सन् १५३२ मा मात्र प्रकाशित भयो। उनले त्यो सानो कृतिले उब्जाएको तहल्का आफ्नो जीवनकालमा देख्न र सुन्न पाएनन्।

पाँच सय वर्षअघि लेखिएको त्यो सानो पुस्तिका निक्सन र हेनरी किसिन्जरको ‘बेड टाइम स्टडी’को सामग्री बन्यो। आज पनि संसारभरमा राजनीति गर्ने धेरै मानिसका लागि ‘द प्रिन्स’ चाखलाग्दो अध्ययन सामग्री हो। राजनीतिक चिन्तनको अध्ययन गर्ने प्रायः प्रत्येक व्यक्तिले मेकियावेलीलाई पढ्छ। राजनीतिशास्त्रका विद्यार्थी उनको अभिमत पढेर विस्मित र भयभीत हुन्छन्।
राजनीतिशास्त्र विगत र वर्तमान सत्ताको मध्यस्थकर्ता हो। विगतमा संसारका असंख्य शासकहरूले मेकियावेलीबाट प्रभावित भई उनको शिक्षालाई उपयोग गरे होलान्। कतिपयले आज पनि त्यो प्रेरणाको व्यावहारिक उपयोग गर्दै होलान्। परन्तु उनीहरूले सो कुरा व्यक्त गरेनन् र सायद गर्ने पनि छैनन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.