महामारीका मनकारी

महामारीका मनकारी

ताप्लेजुङ : कोरोनाको दोस्रो लहरयता ताप्लेजुङमा ८ सय १८ जना संक्रमित भइसकेका छन् । १२ संक्रमितले ज्यान गुमाएका छन्। समुदायमै संक्रमण फैलिएपछि वैशाख २० यता निषेधाज्ञा लागू गरिएको छ। यसले दैनिक ज्यालादारी गरेर गुजारा चलाउने परिवारको रोजीरोटी गुमेको छ। कतिको रोजगारी खोसिएको छ। 

स्वास्थ्य उपकरण र पूर्वाधारको अभावका कारण कतिले सहज उपचार पाउन सकेका छैनन्। सरकारी निकाय महामारी नियन्त्रणका लागि आआफ्नो ठाउँबाट काम गरिरहेका छन्। विषम परिस्थितिबाट सिर्जित समस्या समाधानमा कतिपय युवाहरू पनि स्वतःस्फूर्त लागेका छन्। फुङलिङ नगरपालिका–८ का युवा जंग र क्षितिज सुनुवारले लकडाउनका कारण रोजगारी गुमाएका ३ सय ५० परिवारलाई खाद्यान्न प्रदान गरे। जेठको दोस्रो साता प्रतिपरिवार १० किलो चामल, १ किलो नुन, १ लिटर तेल, साबुन, मास्क प्रदान गरिएको थियो। ‘हामीले धेरै दिन त सकेनौं। तर, केही दिन चुल्होमा आगो बलोस् भनेर सानो प्रयास गरेका हौं,’ उनले भने। 

फुङलिङकै वडा–९ का युवा विश्वराज राई पनि चामल लिएर वडाभित्रका विपन्नको घरघरमै पुगे। जनही १५ किलोका दरले दुई सय परिवारलाई चामल प्रदान गरे। ‘वडा कार्यालयले पहिचान गरेका परिवारलाई शनिबार र आइतबार प्रदान गरें,’ उनले भने, ‘संकटको समयमा हामीले पनि केही गर्नुप¥यो नि। कति सरकारलाई मात्रै गाली गर्ने ?’ यी तीन जनाले व्यक्तिगत खर्चमा टोलटोलमा पुगेर वडावासीलाई सहयोग गरेका हुन्। 

फुङलिङकै वडा–७ बाट रोजगारीको सिलसिलामा विदेशमा गएका युवाहरूले सहयोग संकलन अभियान चलाए। १ लाख १५ हजार रुपैयाँ जम्मा गरेर वडाभित्रका ६७ परिवारलाई जनही २५ किलो चामल, २ किलो दाल, नुन, तेल सहयोग गरे। पृथ्वी र अभय लिम्बूले यहाँ वितरण गर्न सहजीकरण गरे। युवाको अभियानमा वडाका जनप्रतिनिधिले ६० हजार थपिदिएका थिए। पहिलो चरणको लकडाउन सुरु हुनासाथ सरकारले विपन्नका लागि राहत वितरण गरेको थियो। पालिकाहरूले तीन चरणसम्म खाद्यान्न वितरण गरेका थिए। फुङलिङ नगरपालिकाले २ हजार ५७ परिवारलाई दिएको थियो। 

यसपालि कोरोना नियन्त्रणमै केन्द्रित हुनु परेकाले त्यता ध्यान नपुगेको आठराई त्रिवेणीका अध्यक्ष विश्व सिटौला बताउँछन्। ‘गाउँगाउँमा पनि संक्रमण फैलँदो छ। हामी परीक्षण र जनचेतना फैलाउन लागिपरेका छौं,’ उनले भने, ‘संक्रमण रोक्न नै हम्मे पर्ने भयो।’ 

कोरोना संक्रमण जिल्लाका कुनाकुनाका गाउँसम्म पुगेको छ। लक्षणसहितका बिरामी बढेका छन्। यहाँका स्वास्थ्यचौकी र जिल्ला अस्पतालमा समेत जनशक्ति र उपकरणको अभाव छ। सदरमुकामको कञ्चनजंघा माविबाट २०६१ सालमा एसएलसी उत्तीर्ण गरेका युवाहरूले जिल्ला अस्पताललाई सोमबार ४ लाख ७० हजारको स्वास्थ्य सामग्री प्रदान गरेका छन्। २ थान अक्सिजन कन्सन्ट्रेटर मेसिन र पल्स अक्सिमिटर ५ थान, आइसोलसनमा रहेका बिरामी र आइसोलेसनमा खटिएका ४ जना स्वास्थ्यकर्मीलाई खानाको व्यवस्था गरिएको छ। बिरामीका लागि भजन सुन्न ५ हजारको साउन्ड सिस्टमसमेत प्रदान गरेको पूर्वविद्यार्थी तथा फुङलिङ नगरपालिका–४ का वडाध्यक्ष जितेन चेम्जोङ लिम्बुले सुनाए। 

यस्तै, फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलामा जन्मिएका डा. सन्दुक रुइतले गृह जिल्ला ताप्लेजुङमा शववाहन खरिदका लागि रकम जुटाइदिएका छन्। शववाहनको अभावमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरूको शव ओसार्न समस्या भइरहेका बेला आठजना बाट १० लाख २५ हजार रुपैयाँ जुटाइदिएका हुन्। 

यसअघि निर्माण व्यवसायीहरूले अस्पताललाई एन्टिजेन किट सहयोग गरेका थिए। हिमालयन फाउन्डेसन अस्टे«लियाले पनि प्रत्येक पालिकालाई स्वास्थ्य सामग्री गरेको छ। काम र अध्ययनका सिलसिलामा बाहिर रहेका सिरिजंघा गाउँपालिका–७ का युवाहरूले पनि गाउँलाई स्वास्थ्य सामग्री प्रदान गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.