विचार खोसिएको जीवन
विवेक र विचार खोसिएको मनुष्यको आफ्नो प्रज्ञा हुँदैन।विचार खोसिएको मनुष्यको अन्तरात्मा पनि जीवन्त हुँदैन
दुःशासन महाभारत कथाका सर्वाधिक दुर्नाम र कुख्यात पात्र हुन्। शेक्सपियरले कुनै प्रसंगमा भनेका थिए, ‘नाममा के छ ?’ किन्तु नाममा पनि धेरै कुरा छ। कुनै मातापिताले आफ्नो पुत्रको नाम दुःशासन राख्दैनन्। उनीहरूलाई थाहा छ, त्यो नामले नामधारीलाई अनेकौं कष्ट दिनेछ। दुःशासन वीर, सुन्दर र होनहार राजकुमार थिए। परन्तु उनलाई विचार खोसिएको मतिहीन अभागी पात्र बनाइयो।
ज्येष्ठ भ्राता दुर्योधनप्रतिको अगाध र सीमारहित भक्तिले गर्दा दुःशासन दुरूपयोगमा परे। दाजुको आज्ञा हुनुप¥यो बस, न कुनै तर्क, न विचार न विवेक।भाउजु द्रौपदीको चुल्ठो समातेर घिसार्दै सभामा ल्याउने आज्ञाकारी भाइ उनै र सारी तान्ने पनि उनै। भीमले छाती फोरेर उनकै तात्तातो रगत पिए। सभामा स्वयं राजा धृतराष्ट्र र तमाम स्वनामधन्य सभासदहरू पनि थिए। उनीहरू सबै मौनधारण गरेर तमासे बन्दा केही फरक परेन, किन्तु भ्रातृभक्तिले ओतप्रोत दुःशासन इतिहासकै घृणित पात्र बने। यस्तो हुनुको मूल कारण थियो उनको विवेक खोसिनु। विवेक र विचार खोसिएको मनुष्यको आफ्नो प्रज्ञा हुँदैन।
पञ्चायत व्यवस्थाको समयको कुरा हो। एकजना उच्चपदस्थ प्रशासक जीपमा चढेर कतै जाँदै थिए। जीपको अगाडि एउटा बस देखियो। जीपका चालकले हर्न बजाएर साइड माग्न थाले। साँघुरो सडकमा साइड दिने उपयुक्त ठाउँ थिएन। धेरै पर पुगेपछि मात्र साइड दिने ठाउँ भेटियो। बसका चालकले बस रोकेर साइड दिए। प्रशासक जीपबाट ओर्ले। उनले बसचालकलाई कठालो समात्दै तल झारेर दुईचार झापड हाने। जहाँ जाँदा पनि साबसँगै यात्रा गर्ने मुखिया त्यहीँ थिए। मुखियाले पनि बसचालकलाई कसिला दुई थप्पड दिए। पछि कसैले मुखियालाई सोध्यो, ‘साहेबले त शक्तिको उन्मादमा निर्दोष ड्राइभरलाई कुटे तर तिमी किन बढ्ता भएको ?’ मुखियाको सिधा र सपाट उत्तर थियो, ‘म त जे गर्दा साहेब खुसी हुनुहुन्छ त्यही गर्छु।’
प्रश्न उठ्न सक्छ,‘कसरी मनुष्यको विवेक र विचार खोसिन्छ ?’ मानौं कुनै घर छ। घरमा झ्याल छैन, ढोका बन्द छ। घरको भित्तोमा सास फेर्ने हावा आउने सानो दुलो छ। बाहिर घाम लागेको समयमा थोरै प्रकाश भित्र छिर्छ। त्यस घरमा बस्ने सबैले दुलोबाट हेर्दा जत्रो संसार देखे त्यही नै उनीहरूले बुझेको संसार हो। उनीहरूका लागि त्यही मात्र सत्य हो जो दुलोबाट देख्न सकिन्छ। एक दिन अचानक ठूलो भूकम्प गयो। दुलोतर्फको भित्तो खस्यो। दुलो बढेर झ्याल जत्रो भयो। झ्याल जत्रो दुलोबाट अर्कै संसार देखेर मानिसहरू आश्चर्यचकित भए। फेरि अर्को भूकम्प गयो। दुलोतर्फको भित्तो पूरै खस्यो। उनीहरू विस्मित हुँदै चिच्याए, ‘आहा ! संसार त अर्कै पो रहेछ।’
विचार खोसिनु भनेको त्यही दुलोबाट देखिने सानो र निम्छरो संसारमा सीमित हुनु हो। विचार खोसिएको मनुष्यको अन्तरात्मा पनि जीवन्त हुँदैन। उसका लागि अन्तःकरण झूटो र देखाइएको दृश्य मात्र सत्य हो। वचपनदेखि नै एउटा पूर्वाग्रहबाट दीक्षित व्यक्तिको अन्तःकरण आवाजहीन र जड हुन्छ। अमुक व्यक्ति या संगठनले भनेको ठीक र अरू जो सुकैले भनेको कुरा गलत हुन्छ भन्ने मात्र सिकेको÷सिकाइएको व्यक्तिलाई सिक्नु र जान्नुपर्ने कुरा अरू पनि छन् भन्ने बोध नै हुँदैन। यही अन्धसमर्थन र भक्तिको विचारहीन धारा अविरल प्रवाहवान छ यहाँ।
आजसम्म जुन कुरालाई सत्य मान्दै आइयो त्यो सत्य नहुन सक्छ। अझै प्रश्न गर्नु छ, अझै खोज्नु छ र अझै धेरै भेट्टाउनु छ। मानिस संकुचित चिन्तनको बन्दी होइन। मानिसको विचार खोस्ने हक कसैलाई छैन। तथापि खोस्ने क्रम जारी छ।
हामी लोकतन्त्रमा छौं। लोकतन्त्रको मूल मर्म जिज्ञासा, प्रश्न, विवेकले ठहर गरेको सहमति र असहमति हो। अनन्त जिज्ञासा, तर्कवितर्क, अनन्त असन्तुष्टि र खोजकै माध्यमबाट मानव सभ्यताले यहाँसम्मको यात्रा तय गरेको हो। समाजले स्थापना गरेको पद्धति र चिन्तनको विरुद्धमा तर्क गर्ने, प्रश्न गर्ने र असहमति राख्ने धेरै मानिसले दुःख पाए। प्रश्न गर्नेको संख्या हमेसा सानो रह्यो, तर हिम्मतिला व्यक्तिहरूले प्रश्न गर्न छाडेनन्।
जिज्ञासाको कुनै अन्त्य छैन। कुनै पनि राजनीतिक, सामाजिक, सांस्कृतिक र धार्मिक विश्वास अन्तिम र शाश्वत हुन सक्दैन। वैदिक साहित्यमा अन्तहीन जिज्ञासा, प्रश्न र तर्कवितर्कलाई लिएर ‘नेति नेति’ (न इति न इति) अर्थात् यस्तो होइन, यति मात्र होइन, यसको आदि र अन्त्य छैन भनेर ब्रह्मको अनन्ततालाई वर्णन गरेको पाइन्छ। यही कुरा मानव सभ्यताको हकमा पनि लागू हुन्छ। आजसम्म जुन कुरालाई सत्य मान्दै आइयो त्यो सत्य नहुन सक्छ। अझै प्रश्न गर्नु छ, अझै खोज्नु छ र अझै धेरै भेट्टाउनु छ। मानिस संकुचित चिन्तनको बन्दी होइन। मानिसको विचार खोस्ने हक कसैलाई छैन। तथापि खोस्ने क्रम जारी छ।
कुनै जमाना थियो, जब एक मनुष्यले अर्कोलाई बजारमा खरिद गरेर लान्थ्यो। सोच्ने र विचार गर्ने अधिकार खरिद गर्नेमा सीमित थियो। खरिद गरिएका लाचार मानवका विचारहरू मनभित्रै विलिन हुन्थे। मालिकले दासलाई यसरी श्रममा व्यस्त र भोको राख्दथ्यो कि दास खानाको बारेमा मात्र सोच्न बाध्य होस्। आधुनिक लोकतान्त्रिक समाजमा दासताको रूप बदलिएको छ। अहिले अमुक मानिसहरू मेरा हुन्, अमुक केटाहरू मैले जे भन्यो त्यही गर्न तयार हुन्छन् भनेर टाउको गणना गरिन्छ। घरघरमा राजनीतिकृत (सिद्धान्तीकृत होइन) मुट्ठीका माखाहरूले आफ्नो विचार निर्माण गर्नु आवश्यक छैन। माखालाई कसरी मुट्ठीमा कसेर राख्नुपर्छ भन्ने मुट्ठीवालालाई थाहा हुन्छ। मुट्ठीभित्र बस्नेलाई पनि आफ्नो विचार निर्माण गर्ने झन्झटबाट मुक्ति मिलेको छ।
विचार खोसिएका मानिसका जीवनका धेरै समय व्यर्थका चर्चा परिचर्चामा बित्छ। त्यो परिचर्चामा सिद्धान्त, नीति, विवेक र विचारको अस्तित्व हुँदैन। त्यहाँ त फगत गुट र व्यक्तिबारे टिकाटिप्पणी हुन्छन् । त्यहाँ सत्य र असत्य, उचित र अनुचित, इमान र बेइमानी एवं विवेक र अविवेकको छानबिन हुँदैन। व्यक्तिवाद र गुटवादको सीमित घेराभित्र मूढ बनाइएका व्यक्तिहरूलाई आफू गरिब भएको त थाहा छ तर मूढताको सिकार भएको थाहा छैन। आफू वञ्चितीकरणमा परेको थाहा नपाएका र थाहा पाउन सकिन्छ भन्ने पनि थाहा नपाएका अकिन्चन मनुष्यहरू कित्ता कित्तामा विभक्त छन्। यहाँ दासानुदासको शृंखला व्याप्त छ।
यो चर्चा गरिरहँदा एउटी गर्भवती बघिनीको कहानी याद आयो। बघिनीको सुत्केरी हुने बखत भइसकेको थियो। भोकले साह्रै व्याकुल भएको हुँदा उसले जोडले पाठोलाई झम्टी। पाठो उम्केर भाग्यो तर बघिनी डमरु जन्माएर मरी। अनाथ डमरुलाई भेडाले पाले। डमरु पाठाले जस्तै दूध चुस्थ्यो। भ्या भ्या गर्दै पाठासँग खेल्थ्यो। बाघ आएर लखेट्दा ऊ पनि बगालसँगै भाग्थ्यो। एक दिन उसलाई बाघले भेट्टायो। बाघले भन्यो, ‘तिमी त बाघ हो नि ! बाघ भएर भेडाको पछि लाएर हिँड्ने ?’ तर डमरुले बाघको कुरा पत्याएन। ऊ दौडेर भेडाको हुलमा मिसियो।
दार्शनिक नित्से भन्छन्, ‘दुनियाँमा दुई किसिमका मान्छे हुन्छन्, जान्न चाहने र सच्चाइ जान्न चाहने।’ अहिलेको नेपालमा जान्न मात्र चाहनेको जत्था ठूलो छ। यहाँ स्वतन्त्रतापूर्वक सोच्ने र आफूले रोजेको सच्चाइलाई अंगीकर गर्ने अधिकार खोसिएको छ। पढेलेखेका र भरोसा गरिएका मानिस पनि प्रायः विचारमा नभई गुटमा बाँडिएका छन्। मुलुकमा लोकतान्त्रिक प्रणालीको रक्षा गर्न स्थापित संस्थाहरू गुटवाद र चरम विचारहीनताको आरोप खेपिरहेका छन्। कसैले पनि लज्जाबोध गर्नुको कुनै प्रयोजन छैन। सबै पचिसक्यो, विचारको अवसान भयो।
प्रसिद्ध अमेरिकी साहित्यकार मार्क ट्वैनले व्यंग्य गर्दै भनेका थिए, ‘ईश्वरको कृपाले हाम्रो देशमा तीनवटा अत्यन्तै मूल्यवान कुरा छन्, अभिव्यक्ति स्वतन्त्रता, अन्तरात्माको स्वतन्त्रता र यिनीहरूमध्ये कुनैको पनि उपयोग नगर्ने स्वतन्त्रता।’ नेपालमा अभिव्यक्ति स्वतन्त्रताको भरपूर उपयोग भएको छ। परन्तु अन्तरात्माको आवाज सुन्ने स्वतन्त्रता छैन या सुन्न थालियो भने आफ्नै भ्रम टुट्ने डर छ। लोकतन्त्र परिहास र खिसी टिउरीको विषय बनेको छ।
बाह्रै महिनाको गुटीय र व्यक्तिकेन्द्रित राजनीतिले परिवार र टोल छिमेक आक्रान्त छन्। राज्यप्रणालीका सत्तासीन र सत्ताहीन दलका युवकहरू त्यही गुटीय गोरखधन्दाका अचलायमान जड प्राणीसरह भएका छन्। युवाहरूको स्वतन्त्र विचार खोसिएको छ र उनीहरू खोसिनुमै सन्तुष्ट छन्। उनीहरूको ऊर्जा र अभिलाषा त्यही चक्रब्यूहभित्र चक्कर लगाउनमा सीमित छ, जुन उनीहरूका गुरुहरूले निर्माण गरेका हुन्। वार्धक्यमा प्राप्त भएका अगुवाहरूले युवकहरूको नाकमा खुर्सानी दलेर दाइरहेका छन्। स्थानीय तहसम्म दलगत आधारमा हुने निर्वाचन प्रणालीले गर्दा कथित सिद्धान्तभित्रको विचारहीन राजनीति गाउँगाउँसम्म मौलाइरहेको छ।