देउवा निवास बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै
काठमाडौँ : नेपाली कांग्रेसको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दैछ। बैठक सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा दिउँसो २ बजे बस्न लागेको हो।
बैठकमा पार्टीको १४औँ महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
अब सप्तरी र सिन्धुपाल्चोकको पूरै तथा बाराका केही क्रियाशील सदस्यता विवरण आउन बाँकी रहेको उनले बताए। त्यसमध्ये सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले भने आज विवरण पेश गर्ने पार्टी कार्यालयले जनाएको छ। पदाधिकारी बैठकमा क्रियाशील सदस्यता विवरण बुझाउन बाँकी जिल्ला र क्षेत्रका लागि अतिरिक्त समय थप गर्ने बारेमा समेत छलफल हुने बताइएको छ।
कांग्रेसले १४औँ महाधिवेशनका लागि पार्टीको गाउँ/नगर वडा अधिवेशन आगामी असार २० गते, गाउँ/नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २७ गते तोकेको छ। यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते, प्रदेश अधिवेशन आगामी साउन ६ गते र केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको छ।
बैठकमा कांग्रेससहित विपक्षी दलको गठबन्धनले हाल विभिन्न प्रदेशमा प्रदेश सरकार पुनःगठनका लागि गरेका प्रयासलगायत विषयमा पनि छलफल हुने बताइएको छ।
प्रतिक्रिया दिनुहोस !