कोरोना परीक्षण गर्नै सकस

कोरोना परीक्षण गर्नै सकस

ताप्लेजुङ : आठराई त्रिवेणी गाउँपालिका–१ का ७७ वर्षीय वृद्धको जेठ २७ गते मृत्यु भयो। महिना दिनदेखि ज्वरो र खोकीले थलिएका उनको घरमै मृत्यु भएको हो। घरका अरू सदस्य पनि वृद्धलाई जस्तै ज्वरो र रुघाखोकीले बिरामी परेका थिए। वडा कार्यालयको तथ्यांकअनुसार जेठ १९ यता वडाका ६ जनाले ज्यान गुमाए। ज्यान गुमाउनेमा ७ वर्षदेखि ९९ वर्ष उमेरका व्यक्ति थिए।

ती सबैमा कोरोनासँग मिल्दोजुल्दो लक्षण थियो। तर, कसैले पनि परीक्षण भने नगराएको वडासचिव इन्द्र बजगाईं बताउँछन्। ‘ज्वरो, रुघाखोकीजस्ता लक्षण देखियो भने गाउँमै लुकाई बस्नुहुन्छ, निको भइसक्यो भन्नुहुन्छ,’ उनले भने, ‘कोरोना परीक्षण गर्न चाहिँ फोन गरेर बोलाउँदासमेत आउनुहुन्न।’ स्थानीयले कोरोना परीक्षणलाई महŒव नदिनाले नियन्त्रणमा कठिनाइ भएको बजगाईंको भनाइ छ। 

गाउँभरका मानिस बिरामी परेपछि गाउँपालिकाको टोली एन्टिजेन परीक्षण गर्न टोलटोलमा पुगेको थियो। जसमा कमले मात्रै परीक्षण गराए। परीक्षण गराएका ८५ प्रतिशतमा कोरोना देखिएको स्वास्थ्य शाखा प्रमुख समिर प्रधानले बताए। कोरोना देखिए १४ दिन आइसोलेसनमा बस्नुपर्ने र समाजले हेर्ने नजरसमेत नराम्रो हुने गरेकाले मानिसले परीक्षण गर्न नमान्ने प्रधान बताउँछन्। 

‘खेतीपातीको समय सुरु भयो, अर्मपर्म गर्नुपर्छ,’ उनले भने, ‘कोरोना पुष्टि भयो भने १४ दिन घर बाहिर निस्कन पाइँदैन, गाउँ डुल्न पाइँदैन, त्यसैले गाउँलेलाई परीक्षणको दायरामा ल्याउन समस्या भयो।’ पालिकामा हालसम्म ८० जना संक्रमित भइसकेका छन्। ८ जना निको भएका छन्। 

अहिले आफूसहित ५ जना स्वास्थ्यकर्मी नै संक्रमित भएर आइसोलेसनमा रहेको स्वास्थ्य शाखा प्रमुख प्रधानले सुनाए। संक्रमण पुष्टि भए अरूले के भन्लान् भन्ने डरले परीक्षण नगराएको सोही गाउँपालिका २ नं वडाका एक स्थानीयले बताए। ‘सामान्य भाइरल ज्वरो त पहिले पनि आइरहन्थ्यो, किन कोरोना टेस्ट गर्नुप¥यो र ?’ उनले भने। 

अरू गाउँपालिकामा पनि कोरोनाको संक्रमण बढ्दो नै छ। त्यहाँ पनि परीक्षणका लागि सर्वसाधारणलाई मनाउन समस्या परिरहेको जनप्रतिनिधि र स्वास्थ्यकर्मी बताउँछन्। ‘शंका लागेको स्थानीयको घरमै पुगेर परीक्षण गर्न बोलाइरहेका छौं, अहिले चाहिँ स्थानीय निकै बुझ्ने हुनु भएको छ,’ मैवाखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख फुर्वा शेर्पाले भने।  सुरुमा कोरोना संक्रमण पुष्टि भएका व्यक्तिले सावधानी नअपनाएकै कारण गाउँमा संक्रमण व्यापक बनेको शेर्पाको भनाइ छ। उनी भन्छन्, ‘कोरोना संक्रमणको शंका लाग्नेबित्तिकै आइसोलेसनमा बस्नु नै सबैभन्दा उत्तम उपाय हो, त्यसैले परीक्षण गर्नुपर्छ भनेर सिकाइरहेका छौं।’ 

कोरोना पुष्टि भए ५ हजार
स्थानीयलाई परीक्षणमा उत्प्रेरित गर्न आठराई त्रिवेणी गाउँपालिकाले नयाँ योजना ल्याएको छ। उक्त योजना अनुसार कोरोना पोजेटिभ हुनेले तत्कालै ५ हजार रुपैयाँ पाउँछन्। बढीभन्दा बढी नागरिकको परीक्षण गर्न सकियोस् भनेर यस्तो निर्णय गरिएको गाउँपालिका प्रमुख विश्वनाथ सिटौलाले बताए। 

‘एकातिर परीक्षण गर्न धेरै स्थानीय डराए,’ सिटौलाले भने, ‘अर्कातर्फ कोरोना लागेपछि १४ दिन आइसोलेसनमा बस्नुपर्छ, विपन्न, मजदुरी गरेर खाने वर्गलाई छाक टार्न समस्या भएको देखेर राहतस्वरूप ५ हजार प्रदान गर्ने योजना ल्याइएको हो।’ हालसम्म ७१ जनाले उक्त रकम पाइसकेका छन्। पैसा पाइन्छ भनेपछि परीक्षण गराउने बढेको सिटौलाको भनाइ छ। 

बजारबाट गाउँ पुग्यो कोरोना
वैशाख तेस्रो सातादेखि फुङलिङ बजारमा निषेधाज्ञा लागू भयो। त्यस बेलासम्म कोरोना संक्रमण बजार क्षेत्रमा  मात्रै थियो। गाउँमा पुगेको थिएन। बजार बन्द भएपछि धेरै मानिस रातारात गाउँ फर्किए। उनीहरूमध्ये अधिकांशले संक्रमण लिएरै गएका थिए। सावधानी अपनाएनन्।  त्यसैले अहिले गाउँमा धेरै फैलिएको स्वास्थ्य कार्यालय ताप्लेजुङका जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.