एक वर्षदेखि टेन्टमै बास

एक वर्षदेखि टेन्टमै बास

विराटनगर : संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका पहिरोपीडित बिर्खबहादुर राईलाई अहिले पनि ठूलो पानी परे रातभर निन्द्रा लाग्दैन। पहिरोबाट विस्थापित उनी टेन्टको ओतमा वर्षा काटिरहेका छन्।

‘पहिरोले विस्थापित बनायो, यसरी टेन्टमा कहिलेसम्म बस्नुपर्ने हो थाहा छैन,’ उनले भने, ‘बसेकै ठाउँबाट फेरि बगाउला कि भन्ने चिन्ताले पिरोल्न थालेको छ।’ 
दिउँसो घाम लागेको समयमा केही पीडा शान्त भए पनि जब रात पर्न थाल्छ सिलिचोङका पहिरो पीडितको मुटु काप्न थाल्छ। ‘सँगै बसेका र सुतेका बेपत्ता भए, सबै पहाडनै बगाउलाकी भन्ने चिन्ता लाग्छ,’ राई भन्छन्, ‘बस्ने घर पनि छैन, यो पाल जस्तो टेन्टले कहिलेसम्म जीवन गुजार्ने हो टुंगो छैन।’ 

गत वर्ष असारमा पहिरो जाँदा सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका ९ घर बगे। ९ घरका ११ जना अझै बेपत्ता छन्। बाँचेकाहरूले पनि विस्थापित जीवन बिताएको एक वर्ष पुग्न लाग्यो। तर, यतिका समय बितिसक्दासमेत उनीहरूको व्यवस्थापनमा कुनै तहका सरकारले चासो देखाएको छैन। ‘वर्षात सुरु भयो, अब त झन् के व्यवस्थापन होला र ?’ अर्का पीडित सूर्य राई भन्छन्, ‘उता पश्चिममा पनि बगायो रे, अब झन् हाम्रो वास्ता कसले गर्ला र ?’ 

बेसिन्दाका पहिरो पीडितलाई स्थानीय तह र प्रदेश सरकारको आशा लाग्न छाडेको छ।  ‘खै सरकारले पनि कता–कता हेरोस्, हामीले सबै गुहारेका हौं, केन्द्रको चाहिँ आशा लाग्छ, प्रदेश र स्थानीयले धेरै आशा देखाए। तर, वर्ष दिन भयो, केही व्यवस्थापनको तयारी छैन,’ राईले भने, ‘प्रधानमन्त्रीले पीडा सुने भने केही गर्लान् कि भन्ने आशा हो।’

सरकारले ११ जना बेपत्ता हुँदा क्षतिपूर्ति भने उपलब्ध गराएको थियो। तर, त्यसपछि सरकार बाँचेकाहरूको व्यवस्थापनबाट पन्छिएको देखिन्छ। घर बगेकाहरू बेसिन्दाबाट सोही वडाको चित्रेमा टेन्ट टाँगेर झुरुप्प भएर बसेका छन्। उनीहरू पुनः फर्किएर गाउँ जाने ठाउँ छैन। पहिलेको स्थान सबै पहिरोले बगाएपछि त्यहाँ पुनः स्थापित हुन नसकिने स्थानीय देवचन्द्र राई बताउँछन्। ‘विस्थापित फर्किएर आउने ठाउँ छैन, पहिरो आसपासका स्थानीय पनि अब वर्षत्मा बस्न सक्दैनन्,’ उनले भने, ‘गाउँ नै पहिरोले छियाछिया पारेको छ।’

बेसिन्दामा १ सय १८ परिवार रहेको स्थानीय पालिकाको तथ्याकंमा उल्लेख छ। तीमध्ये अधिकांश परिवार जोखिम मोलेरनै अहिले चर्किएको गाउँमा नै बसेका छन्। यो गाउँ पनि पहिरोपछि चर्किएकाले कुनै पनि समय ठूलो वर्षा भए पुनः पहिरो जान सक्छ। पहिरो प्रभावितलाई प्रदेश १ सरकारले तत्कालै पुनःस्थापना गर्ने बताएको थियो। तर, एक वर्षसम्म प्रभावित बासिन्दा जोखिम मोलेरै बस्न बाध्य भएका छन्। 

पहिरो गएको केही दिनपछि राहत लिएर पुगेको प्रदेश १ सरकारले त्यसयता चासो दिएको छैन। पहिरोमा परेर बेपत्ता भएकाको परिवारलाई सरकारले एक व्यक्ति बराबर दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराउने बाहेक हालसम्म कुनै कुराको व्यवस्थापन नगरेको पीडितको गुनासो छ। 

पहिरो गएको एक वर्षपछि स्थानीय तहले प्रभावितहरूलाई राख्न दुई स्थानमा जग्गा खरिद गर्ने प्रक्रिया बल्ल सुरु गरेको छ। तह भित्रकै चित्रेमा र बखलटुङमा जग्गा खरिद गर्ने तयारीमा रहेको सिलिचोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेल बताउँछन्। तर, अझै लामो समय प्रक्रियामा नै अल्झदा यस क्षेत्रमा नै पुनः वर्षा भए विस्थापितको संख्या थपिन सक्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.