दारा शिकोहको अद्वैत चेतना
दारा शिकोह अध्ययनका हिसाबले अपूर्व वेदान्ताचार्य हुन्,उनको योगदान समाजका लागि उपयोगी व्यावहारिक सदाचारपद्धति थियो
मुगल बादशाह शाहजहाँलाई उनकै छोरा मुहीउद्दीन (औरंगजेव) ले आगराको किल्लामा थुनेर राखेका थिए। एक दिन राजाको सामुन्नेमा एउटा किस्ती ल्याएर राखियो। भोक र प्यासले व्याकुल बादशाहले केही खानेकुरा आयो कि भनेर किस्तीमाथिको रुमाल पन्छाएर हेरे। विडम्बना ! किस्तीमा कुनै खानेकुरा थिएन। त्यहाँ शाहजहाँका परमप्रिय जेठो सुपुत्र दारा शिकोहको काटिएको टाउको थियो। दुर्भाग्य पनि कस्तो ! दक्षिण एसियाकै सर्वशक्तिमान सम्राट आफ्नै पुत्रद्वारा कैदमा पर्नु र आफूले साम्राज्यको उत्तराधिकारी घोषणा गरेको प्यारो जेठो छोराको काटिएको टाउको कोसेलीको रूपमा प्राप्त हुनु।राजगद्दीको उत्तराधिकारका लागि भाइबीच भएको आपसी लडाइँमा हार व्यहोरेका दारा शिकोहलाई विजयी भाइले मृत्युदण्ड दिएका थिए। दारालाई दुई आरोपमामृत्युदण्ड दिइएको थियो। पहिलो आरोप थियो राजकाजसम्बन्धी एवं दोस्रो र मुख्य आरोप थियो। स्वधर्मत्याग र अन्य धर्ममा चासो राखेको (काफिर बनेको) आरोप लाग्यो।
के एउटै व्यक्ति एकै समयमा युद्धवीर र विद्यावीर हुनु सम्भव छ ? यो प्रायः असम्भव कुरा हो। पौराणिक साहित्यमा ज्ञान र बल दुवै गुणले युक्त भएका पात्र भेटिन्छन्। किन्तु ऐतिहासिक पात्रहरूमा पूर्णरूपेण दुवै गुण भएको पात्र भेट्टाउन गाह्रो छ। विजयी राजाहरूलाई बलवान् र ज्ञानवान्दुवै देखाउने प्रयत्न त राजाको नजिक हुन चाहनेहरूको चलाखी मात्र हो। ‘तख्त या ताबूत’ (राजगद्दी या चिहान) भन्ने कहावत प्रसिद्ध भएको मुगल खानदानमा एउटा भाइले तरबारमा शान लगाइरहँदा अर्को भाइ इतिहास, संस्कृति, संगीत, कला र अध्यात्मको खोजमा लाग्न थालेपछि जस्तो परिणाम आउनु थियो, त्यस्तै आयो। सत्तासंघर्षको इतिहामा निर्मम तवरले ठगिएका पात्र हुन्, दारा शिकोह। दारा शिकोहको जन्म २० मार्च १६१५ मा भएको थियो। उनी शाहजहाँ र मुमताज महलका जेठा छोरा थिए। १६३३ मा उनलाई मुगल सम्राटको उत्तराधिकारीको रूपमा युवराज घोषणा गरिएको थियो। दाराका शुजा, मुहीउद्दीन (पछि आफैं औरंगजेब आलमगीर नामधारण) र मुरादबक्स नाम गरेका भाइ थिए।
सत्तासंघर्षको सिलसिलामा सामुगढमा भएको हारपश्चात् दारा फरार भएका थिए। भाग्दै अफगानिस्तान पुगेका दारालाई उनको पुरानो मित्र मलिक जीवनले सहयोग गर्ने आश्वासन दिएर उल्टै कैद गरी जन्जीरले बाँधेर औरंगजेबकहाँ पठाइदियो। भाइसँगको लडाइँमा दाराको हार स्वाभाविक थियो। मुगल खानदानमा जन्मेर पनि हतियार, युद्धकला, प्रशासन र कूटनीतिक चलाखी सिक्नतिर नलागी ज्ञान र सर्वधर्म सद्भावतिर लाग्नु सत्ताप्राप्तिको दृष्टिबाट ठूलो भूल थियो। बाबुको ज्यादा पुलपुल्याहट पाएका पढैया शाहजाँदा युद्धकौशलमा प्रवीण हुने सवालै थिएन। औरंगजेव कान्धारको युद्धमा हारेर आउँदा निकै फट्कार सुनाएर अपमान गर्ने बाबुले पछिल्लो युद्धमा हारेर आउने दारालाई भव्य समारोह गरी राजकीय स्वागत गरेको देखेर औरंगजेबको साह्रै चित्त दुखेको थियो। दारा शिकोहले बहादुरीभन्दा भाग्यमा विश्वास गर्ने हुँदा युद्धमैदानमा पनि जोगी, फकिर र तान्त्रिकको विश्वास गर्दथे। यो उनको भूल थियो। सायद युद्ध, सत्ता र राजकाज उनको स्वभाव अनुकूलका विषय नै थिएनन्।
दारा ज्ञानको खोजीमा दिल्ली, आगरा, प्रयाग, काशी, काश्मिर, गुजरात, अजमेर र लाहौरसमेत हजारौं माइल यात्रा गरे। उनी फेला परेका पुस्तकहरू जम्मा गर्दै सन्त, महन्त, फकिर र सुफीहरूको अभिमत सुन्दै र मनन गर्दै हिँड्थे। दाराले संस्कृत ग्रन्थहरूको खोजी गरी आफैं संस्कृत सिकेर उपनिषद्, गीता र योगवाशिष्टको गम्भीर अध्ययन र अनुशीलन गरेका थिए। दाराले थुप्रै कृति लेखे। तीमध्ये केही कृति प्रमुख कालजयी योगदानका रूपमा छन्। उनको ‘समुद्र संगम’मा इस्लाम र अद्वैत वेदान्तबीच अवधारणात्मक तादात्म्य खोज्ने प्रयास गरिएको छ। सुफीवादमा आधारित यो कृतिमा एकेश्वरवादलाई दुवै धर्मको मिलनविन्दुको रूपमा व्याख्या गरिएको छ। ईश्वर एक छ। ईश्वर (खुदा) को न कोही सन्तान छ, न ऊ कसैको सन्तान हो। ईश्वर निराकार छ, निरन्जन छ। उसको कुनै आदि अन्त्य छैन। ईश्वरसम्म पुग्ने धेरै बाटा छन्, परन्तु गन्तव्य एउटै हो। ईश्वर नै सत्य हो। सत्य कुनै एउटा जाति या धर्मको मात्र पेवा होइन। यो ग्रन्थमा विद्वतापूर्ण ढंगले अद्वैत वेदान्त र इस्लामको तुलनात्मक समीक्षा गरिएको छ। उनले दुवै धर्ममा निहित दार्शनिकतत्व एउटै र शब्दहरू मात्र फरक रहेको बताएका छन्। उनी भन्ने गर्थे, ‘अल्लाह त्यहाँ छ, जहाँ मुल्लाको हल्ला छैन।’ यो भनेबापत उनी सारा मुल्ला मौलबीको नजरमा काफिर बन्न पुगे।
दारा वेदान्ताचार्य, सुफी सन्त, जैन मुनि र शिख धर्मका अनुयायीबीच विभिन्न धर्म र वेदान्तबारे छलफल गराउँथे। उनी वेदान्तभित्र मानवजीवनको रहस्य खोज्नमा बढी मग्न रहन्थे। उनको जोड थियो, सामन्जस्यपूर्ण सहअस्तित्व नै सबै धर्मको मूलमन्त्र हुनुपर्छ।
दाराको कविता ‘अक्सीर ए आजम’मा सर्वेश्वरवाद, ‘हसनात अल आरिफीन’ र ‘मुकालम ए बाबालाल ओ दारा शिकोह’मा वैराग्यबारे उल्लेख गरिएको छ। उनको सबैभन्दा ठूलो योगदान उपनिषद्हरूको संस्कृतबाट फारसीमा अनुवाद हो। ‘सिर्र ए अकबर’नामक कृतिमा ५२ उपनिषद्को अनुवाद गरिएको छ। सिर्र ए अकबरको अर्थ हो, महानतम् रहस्य। भनिन्छ, उपनिषद्हरूको अनुवाद गर्ने सिलसिलामा उनी धेरै समयसम्म काशीमा बसेका थिए। पुस्तकप्रेमी छोराको अध्ययन, लेखन, पुस्तक संकलन र छलफलमा सहजताका लागि पिता शाहजहाँले भव्य पुस्तकालय भवन बनाइदिएका थिए(जो अहिले खण्डहर अवस्थामा छ)।
दारा वेदान्ताचार्य, सुफी सन्त, जैन मुनि र शिख धर्मका अनुयायीबीच विभिन्न धर्म र वेदान्तबारे छलफल गराउँथे। उनी वेदान्तभित्र मानवजीवनको रहस्य खोज्नमा बढी मग्न रहन्थे। इस्लाम र अद्वैत वेदान्तको तुलनात्मक विवेचना गर्दा उनी वेदान्त र इस्लामको मूलसार एउटैपाउँथे। उनको जोड थियो, सामन्जस्यपूर्ण सहअस्तित्व नै सबै धर्मको मूलमन्त्र हुनुपर्छ। उनको विश्वास थियो, सत्यनिष्ठा, चित्तशुद्धि र सेवा नै मानवको कर्तव्य हो। उनले उपनिषद्को अनुवाद गर्ने सिलसिलामा एक सय पचास विद्वान्को सहायता लिएका थिए। दारा गीताका श्लोक र रुमीका गजलमा रमाउँथे। उनले युनान र टर्कीबाट किताबमगाएर सुकरात, प्लेटो र अरस्तुका अभिमत र रचनाहरू अध्ययन गरे। उनका कतिपय रातहरू उपनिषद् पढेरै बित्दथे। दाराले लाहौरमा लाल वैरागी नामक गुरु भेट्टाए। उनले गुरुलाई सोधेका थिए, ‘आत्मा र परमात्मामा के फरक छ ?’ गुरुको उत्तर थियो, त्यस्तो फरक छैन। दाराको मूर्तिपूजाबारेको जिज्ञासामा गुरुको उत्तर थियो, भक्तको एकाग्रताका लागि मात्र मूर्तिको प्रयोजन छ।
आफैं एकाग्र हुन सक्नेलाई मूर्तिको दरकार छैन। दाराले नौ दिनसम्म लगातार साठी प्रश्न गरे र गुरुले उत्तर दिइरहे। गुरुको दीक्षा र वेदान्तको अध्यनबाट दाराले पाएको ज्ञान थियो– ब्रह्मसत्य जगन्मिथ्या जीवो ब्रह्मैव नापर (आदि शंकराचार्य)। ब्रह्म नै सत्य हो, जो हरेक जीवमा अभिन्न छ। उनको निष्कर्ष थियो। वेदान्तदर्शन र इस्लामको जरो एकै ठाउँमा छ, एक ईश्वर एक ब्रह्म। उनले एउटा जासुसले जस्तै अद्वैतवेदान्तका रेसा रेसा पर्गेलेर अध्ययन गर्दा इस्लाम र अद्वैतमा साम्य भेट्टाए। उनको इरादा राजा भएपछि धर्मको समस्त रहस्य खोलिदिने थियो।पैंतालीस वर्षको उमेरमा दारा शिकोहको हत्या मात्र भएन,लासको समेत अपमान गरियो। भाइ औरंगजेवले दाराको टाउको ताजमहल परिसरमा गाड्न लगाएर शरीरलाई सार्वजनिक प्रदर्शन गराए। पछि उनको शरीरलाई दिल्लीस्थित हुमायुको मकबरा रहेको ठाउँमा कतै दफनाइयो। उनको बेइज्जतीपूर्ण अपमानको जुलुसमा आएका जनताले गरेको भावुक विलौना र शोकको बारेमा प्रत्यक्षदर्शी फ्रेन्च लेखक बर्नियरले बडो कारुणिक वर्णन गरेका छन्।
काटमार, युद्ध र सत्ता उन्मादबारे मात्र उल्लेख गर्नमा रमाउने इतिहासले दाराको भाइचारा र सहअस्तित्वको वैश्विक दृष्टिकोणलाई पहिचान गर्ने प्रयास नै गरेन। सत्ता र शक्तिले गुमनामीको गर्तमा धकेलिदिएको दारालाई इतिहासले समेत गहन अन्धकारमै राख्नमा रुचि लियो। हालै आएर भारत सरकारले उनको ‘ताबूत’ पहिचान गर्न विज्ञहरूको समूह गठन गरेको छ। अहिले भारत सरकार, मिडिया र इतिहासकारबीच दारा चर्चामा छन्। केही वर्षअघि संयुक्त राज्य अमेरिकाका तत्कालीन राष्ट्रपति बाराक ओबामा भारत भ्रमणमा आउँदा दाराबारे जिज्ञासा व्यक्त गरेका थिए। दिल्लीस्थित डलहौजी रोडको नाम बदलेर दारा शिकोह मार्ग नामकरण गरिएको छ।
संस्कृत भाषामा सीमित र केही पठित ब्राह्मणको मात्र पहुँचमा रहेका उपनिषद्र गीता फारसीमा अनुवाद भएपछि मात्र सर्वसाधारणको चाख र पहुँचका विषय बन्न सके। फारसीका पाण्डुलिपि युरोप पुगे र तिनको ल्याटिन भाषामा समेत अनुवाद भयो। दाराकै योगदानको कारण पूर्वीय संस्कृति, गीता र अद्वैत वेदान्तबारे युरोपभरिका विद्वान्हरूको ध्यानाकर्षण भएको थियो। सायद हिन्दू पण्डितहरूलाई वेदान्तको प्रचार प्रसार एउटा मुसलमानले गरेका थिए भन्न संकोच लाग्यो होला। अद्वैत वेदान्तमा विश्वास गर्ने जोसुकै पनि संकुचित भावनाबाट माथि उठेर दाराको योगदानप्रति सदा कृतज्ञ हुनु आवश्यक छ। सुन्दरताका उपासक, विनम्र र समन्वयवादी दारा शिकोहले आफ्नो अधीनमा रहेको सम्पत्ति वेदान्तका छरिएका र असुरक्षित पाण्डुलिपि खोज्नमा खर्च गरे। उनले आफूसँग भएको धन यस्तै कार्यमा सहयोग दिनेलाई बाँडे भने औरंगजेवले सिपाही र दरबारीलाई बाँडे। यो गतिविधिले स्वाभाविक रूपमा औरंगजेवको बाटो तख्त ए ताउसतर्फ सोझियो भने दाराको ताबूततर्फ।
वेदान्तको त्यो खोज इतिहासको अभूतपूर्व र आश्चर्यजनक घटना हो। मुगल साम्राज्यको वारिस, साधनसम्पन्न र ज्ञानको अपूर्व भोक भएको जिज्ञासु व्यक्तिबाट मात्र छरिएर रहेको वैदिक साहित्यको खोज र एकीकरण हुनु सम्भव थियो, जो दाराले गरेर देखाए। शासकीय मित्र गुमाएका र सत्ता र शक्तिभन्दा टाढा रहेका शक्तिहीन वैरागी, वियोगी र सुफीसन्तहरूलाई मात्र मित्र बनाएका व्यक्तिको बाटो सत्ता र शक्तितिर मोडिनु असम्भव थियो। सत्यलाई जुन नामले बोलाए पनि त्यो ईश्वर नै हो। सबै धर्मको गन्तव्य र लक्ष्य एउटै हो भने आपसमा घृणा गर्नुको कुनै प्रयोजन छैन। दारा यस्तो समाजको निर्माण गर्न चाहन्थे, जहाँ एकता, भाइचारा, समन्वय र सहजता होस्। जहाँ धार्मिक कट्टरता, जातीय विभेद, कठिन कर्मकाण्ड र अन्धविश्वासभन्दा माथि उठेर एक मात्र निर्गुण, निराकार र अविनाशी ब्रह्मको साक्षात्कार होस्। त्यस्तो आत्मबोध जहाँ अर्कोमा आफू देखियोस्।
दारा शिकोह अध्ययनका हिसाबले अपूर्व वेदान्ताचार्य हुन्,धार्मिक हिसाबले स्वाभाविक रूपमा पक्का मुसलमान थिए। उनको एक मात्र ध्येय स्वधर्ममा रही सर्वधर्म सद्भाव कायम गर्नु थियो। उनका पूर्वज सम्राट अकबरको ‘दिन ए इलाही’ पनि सर्वधर्म सद्भावना आधारित थियो। तर त्यो समाजका लागि उपयोगी व्यावहारिक सदाचारपद्धति मात्र थियो। दारा शिकोहले वेदान्तको खोजी गरेर एकीकरण नगरिदिएको भए के हुन्थ्यो होला ? अथवा यतिका खोज गरेका युवराज नै सत्तामा पुगेको भए के हुन्थ्यो होला ? सायद दक्षिण एसिया धार्मिक सद्भाव र समन्वयको भूमि हुने थियो कि ? उनले सारा धन र बुद्धि लगाएर उपनिषद्हरू एकै ठाउँ जम्मा गरी अनुवाद नगरेको भए वैदिक साहित्य यही रूपमा समृद्ध हुन कठिन हुन्थ्यो। दाराले उपनिषद् र अन्य ग्रन्थहरूको अनुवाद गराएकै हुँदा युरोपियनहरूको नजर तिनमा पर्यो। यदि उनले त्यो अनुवाद नगराएको भए के हुन्थ्यो ? बीबीसीको निष्कर्ष छ– हाम्रो सोच आजको भन्दा ज्यादै सीमित हुने थियो।