आइसोलेसनबाटै काम गर्न वाध्य कोरोना संक्रमित कर्मचारी
गोरखा : उत्तरी गोरखाको धार्चे गाउँपालिकामा कार्यरत सातजना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। पालिकाका लेखा शाखा, योजना शाखा, प्राविधिक शाखा, राजस्व शाखा, कृषि शाखा, पशु शाखाका कर्मचारी र वडा सचिवलाई कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका प्रमुख सन्तोष गुरुङले जानकारी दिए ।
गत आइतबार गरिएको पीसीआर परीक्षणमा सातजना कर्मचारीमा संक्रमण पुष्टि भएको हो । त्यहाँ कार्यरत कर्मचारीमा रुघा, ज्वारोको लक्षण देखिएपछि आइतबार स्वाब परीक्षण गरिएको थियो ।
‘आर्थिक वर्षको अन्त्यमा बिल, भरपाई फस्र्यौटको चटारोका बेला मुख्य, मुख्य काम गर्ने सबै कर्मचारीमा कोरोना देखियो’, उनले भने, ‘अब यस्तो बेला कार्यालय बन्द गर्न पनि सकिएन । बरु उहाँहरु सुरक्षित रुपमा आइसोलेसनमै बसेर काम गरिरहनु भएको छ ।'
संक्रमित कर्मचारीहरु सिकिस्त बिरामी भने नरहेको उनले बताए ।माछाखोलास्थित गाउँपालिकाको कार्यालयमा विद्युत र इन्टरनेट नभएपछि गोरखाको धार्चे गाउँपालिकाको कार्यालय धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाको आरुघाटबाट कार्यालय सञ्चालन भइरहेको छ ।
काम गर्ने क्रममा केही कर्मचारीहरुमा ज्वरो आउने र टाउको दुख्ने समस्या देखिएपछि उनीहरुको असार २० गते पीसीआर गरिएको थियो । आर्थिक वर्ष सकिने लागेका बेला कामको चापाचाप भएकाले कर्मचारीहरु सबैलाई सुरक्षित राखेर कोठा भित्रै सबै कुराको व्यवस्था मिलाएर कार्यालयको काम भइरहेको अध्यक्ष गुरुङ बताए ।
प्रतिक्रिया दिनुहोस !