भानुका पुर्खा कहाँका ?
गतवर्ष भानुभक्त आचार्यको जीवनीका मतान्तरको तुलनात्मक विश्लेषण गरिएको थियो। तुलनापूर्व मोतीरामेतर भानु जीवनीका मतान्तरका स्थल, थप सूचना, देखीजान्ने स्रोतसाक्ष्य र सुनीजान्ने आनुवंशिक स्रोतसाक्ष्य तथा सामग्री संकलन विधि निक्र्योल गर्न पुगियो। भानुभक्तका चिठीपत्रका तिथिमिति, भानुभक्तकालीन नेपालको इतिहास र जंगबहादुरको बेलायत यात्रा, पाल्पा गौंडाको इतिहास, संवत् १९१० को प्रथम हस्तलिखित मुलुकी ऐन, आचार्य वंशावलीहरू र भानुभक्तका हस्तलिखित सामग्रीका तिथिमिति र उनकै हस्तलिखित रामायणको बालकाण्डको अध्ययनबाट प्राप्त तथ्यसँग मतान्तरलाई विश्लेषण र संश्लेषण गरी प्रमुख भानु जीवनीका तिथिमिति र घटना अध्ययन गरिएका थिए। यस्तो अध्ययनबाट केही नवसूचना प्राप्त हुन पुगे। त्यसमध्ये यस लेखमा भानुभक्तका पुर्खादेखि उनले पिता धनञ्जयलाई पाल्पामा गरेको सहयोगसम्मका सूचना उल्लेख गर्न खोजिएको छ।
भानुभक्तका पुर्खाको नामावली सर्वप्रथम नरनाथ आचार्यकृत भानुजीवनीमा उल्लेख गरिएको छ। यसमा उल्लेख गरिएका भानुभक्तका पुर्खाहरूलाई दुईवटा आचार्य वंशावली (दीक्षित र कौडिन्य गोत्रीय आचार्य बन्धु समाज), किंवदन्ती र सेनराज्यको राजनीतिक इतिहास (मोहनप्रसाद खनाल,२०६१) हरूलाई संश्लेषण गर्दा भानुभक्तका पुर्खा लम्जेल आचार्य र प्रथम लम्जेल दैलेख जिल्लाका काशीराम आचार्य देखिए। यिनका अठारौं पुस्ताका गोकुल आचार्य लमजुङमा बसेका र गोकुलका छोरा विश्वामित्र, विश्वामित्रका छोरा गया, गयाका छोरा सागरानन्द, सागरानन्दका माहिला छोरा सूर्योपाध्याय देखिएका छन्।भानुभक्तका पुर्खा भनेर नरनाथकृत भानुजीवनीले बाजे श्रीकृष्ण आचार्यदेखि माथि सूर्यापाध्यायसम्मको दसवटा नाउँ भानुभक्तका पुर्खा भनी टिपोट गरेको छ।
सूर्योपाध्यायभन्दा माथिका भानुपुर्खाको नाम दिने कौडिन्य गोत्रीय आचार्य बन्धु समाजको तत्वाधानमा नेपालमा आचार्य वंशावली (कौडिन्य गोत्र) तयार गरिरहेका वंशावलीका अन्वेषक र सम्पादक शालिकराम आचार्य र धर्मराज आचार्य छन्। प्राप्त १० जना भानुपुर्खामध्ये मणिकण्ठोपाध्यको नाम पाल्पा भेटिएको देखाउने सेनराज्यको राजनीतिक इतिहास भन्ने कृतिछ। यसले गर्दा भानुभक्तका पुर्खा दैलेखको लम्जीदेखि कास्की, लमजुङ र पाल्पा हुँदै पाल्पाका सेन राजाका प्रभावमा तनहुँ आएको देखिन्छ। तर कुन चाहिँ भानुपुर्खा तनहुँमा आए भन्ने यकिन देखिँदैन। किन्तु वंशावली र चुँदीरम्घाली किंवदन्तीले आदिकवि भानुभक्त लम्जेल आचार्य हुन् भन्ने कुरा यकिन गरेका छन्।
सर्वप्रथम रंगनाथ शर्माले१९९८ मा प्रकाशित भानुभक्त मणिमालाको परिचय भन्ने भानुजीवनीसन्दर्भपरक रचनाभित्र आफ्नो टिपोटमा भानुभक्तको जन्म१८७१ आषाढ कृष्ण अष्टमी, आदित्यबार धन लग्न रजन्म नक्षत्रको नाम देवीभक्त रहेको उल्लेख गरेका छन् भने विष्णुमायाले पनि प्रदत्त टिपोटका आधारमा जन्मकुण्डलीसहित १८७१ आषाढ २९ गते रविबार कृष्णपक्ष अष्टमी ३१ घडी ३२ पलामा भनी भानुभक्तको जन्मदिन बताएकी छन्। तर नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ दिनेशराज पन्तले ज्यौतिषीय अध्ययनबाट उल्लिखित घडी पलामा देवीभक्त भन्ने दे अद्याक्षरबाट उठ्ने जन्म नक्षत्रको नाम परेको देखिन्न, चि आद्याक्षरबाट उठ्ने नाम पर्ने देखिन्छ भनेका छन्। भानुभक्तका सन्ततिहरू र तिनका पुरेतले पनि यस अध्येतासँग चि आद्याक्षर भएको चिन्तामणि भन्ने नामले भानुभक्तलाई तर्पण र पिण्ड दिने गरेको बताइरहेका छन्। यसले गर्दा रंगनाथको उक्त टिपोटमा भानुभक्तको जन्म नक्षत्रको नामसम्बन्धी एउटा गल्ती देखिएको छ।
उक्त टिपोटमा भानु जन्मसाल पनि गल्ती छ कि भन्ने शंका जन्माएको छ। किनभने २०२३ सालको भानुका लघु कृतिहरूको भूमिकामा विद्वान् जूननाथ शर्मा पण्डितले१८७१ सालको आषाढ कृष्ण अष्टमी जेठको ३१ गते र साउन कृष्ण अष्टमी आषाढ २९ गते पर्छ भनेका छन्। अहिले सम्बन्धित सालका प्रचलनका पात्रो हेर्दा पनि त्यस्तै देखिन्छ। त्यस कारण रंगनाथले भानुभक्त मणिमाला (१९९८) को परिचय भन्ने लेखमा उल्लेख गरेको भानुभक्तको जन्मतिथि आषाढ कृष्ण अष्टमी हो वा साउन कृष्ण अष्टमी हो यकिन हुन सकेन। तसर्थ यी दुई तिथिमध्ये एउटा तिथि अवश्य गल्ती छ भन्ने देखियो। यहाँनेर रंगनाथको टिपोटमा रहेको भानु जन्मतिथिमा दोस्रो गल्ती देखिएको छ। अर्थात् एउटा भानुजन्म नक्षत्रको नाममा र अर्को आषाढ वा साउन कृष्ण अष्टमी तिथि गल्ती देखिएका छन्।
कुण्डली श्लोकलाई आधार मान्दा भने भानुको जन्म आषाढ कृष्ण नभएर साउन कृष्ण अष्टमी तिथि हो भन्ने बुझिन्छ। उक्त टिपोटमा दुईवटा गल्ती देखिएकाले भानुभक्तको जन्म१८७१ पनि गल्ती हो कि भन्ने अर्को आशंका उब्जिएको छ। किनभने मोतीरामले भानु जीवनीमा भानुभक्तको जन्मसाल१८६९ साल हो भनी लेखेका छन्। यसर्थ यी दुई भानु जन्मसालमध्ये कुन भानुभक्तको वास्तविक जन्मसाल हो भनी खुट्याउन एकातिर ज्यौतिषीय अध्ययन विधि र अर्कोतिर रंगनाथका सन्ततिका घरमा पुराना कागत पत्र र टिपोट सम्भावनाको थप खोज तथा परीक्षणको आवश्यकता देखिएको छ।
भानुभक्तको काव्ययात्राको अध्ययन गर्दा संवत् १८९१ मा घाँसीभेट भन्दापूर्व नै उनले कविता लेखेको देखिन्छ। मोतीराम भट्टले भानुजीवनी लेखनको क्रममा १८९१ सालमा लेखिएको घाँसी कविता र १८९८ सालमा लेखिएको बालकाण्ड रामायणलाई भानुभक्तका प्रारम्भिक कविता बनाएका छन्। तर भानुभक्तको काव्ययात्राको अध्ययनबाट मोतीरामको कथनमा सत्यताको अंश देखिन्न। किनभने२०६३ सालमा दैवज्ञराज न्यौपाने (भानु दर्शन, वर्ष ३२, अंक १, पूर्णांक ७) र२०६३ महासमालोचक तथा प्राडा वासुदेव त्रिपाठी निर्देशित भद्रवीर अधिकारीको नेपाली कविताका विकासमा भानुभक्त आचार्यको योगदान भन्ने शीर्षकको शोध प्रबन्धमा भानुभक्तका प्रारम्भकालीन, मध्यवर्ती र पछिल्ला कविता कृतिका नामले भानुभक्तको कविता यात्राको अध्ययन गरेका छन्।
यी सबै अध्ययनमा मोतीरामले भनेझैं घाँसी कविता र रामायण बालकाण्डलाई भानुभक्तका सुरुका कविता देखिन्नन्। यी कविता लेख्नुभन्दा अगाडि भानुभक्तले केही मुक्तक र तत्प्रकृतिका फुटकर कविता लेखिसकेको देखिन्छ। भानुभक्त लिखित तर्तमसुक र इजहारले भानुभक्तलाई कानुनी लेखन र ज्ञानमा दक्ष, तत्कालीन अड्डा अदालत बुझेका सिद्धहस्त लेखनदास देखाउँछन्। १९१७ चैत्रदेखि १९२३ फागुन १७ गतेसम्म अहिले प्राप्त जम्मा ६ वर्षभित्र कविले लेखेका तमसुक र इजहारले भानुभक्तलाई सिद्धहस्त लेखनदास प्रमाणित गर्छन्। समग्रतामा भानुजीवनीलाई अध्ययन गर्दा भानुभक्तलाई जीवनको उत्तरार्धतिर यो सिद्धहस्त दक्षता प्राप्त हुने अवसर फेला पर्दैन। किनकि तमसुक र इजहार भानुभक्तको देहावसानपूर्व ७–८ वर्ष अगाडिदेखि लेखिएका छन्। उनलाई यो सिद्धहस्त दक्षता चुँदीरम्घा बसेर वा काशीमा पढेर प्राप्त भएको होइन।
यसका निम्ति भानुभक्तलाई पाल्पामा आजीवन बसेका बाबु धनञ्जयको निकटता र भाषा सिकाइको सिद्धान्तअनुसार गरिने भाषिक अभ्यास र पुनरावृत्तिको आवश्यकता पर्छ। १८९० सालतिर काशीबाट पढेर फर्किएका भानुभक्तलाई धनञ्जयको निकटता र भाषिक अभ्यास र पुनरावृत्तिको अवसर प्राप्त हुने देखिन्छ। किनभने १९०४ सालपूर्व उनका बाबु धनञ्जयको देहावसान भएको देखिन्छ (गोरखापत्र २०७० फागुन १०)।
भानुभक्तले १९९८ मा रामायण बालकाण्ड तर्जुमा गरेका थिए भन्ने अनुश्रुति हुनु र त्यसमा दरबारिया भाषा र पाल्पाली नामयोगीको प्रयोग देखिनु, उनी कानुनी लेखनमा अड्डा अदालत बुझेका लेखनदास पाइनु, बिरामी र अस्वस्थ धनञ्जय आचार्यलाई१९०० पूर्व सहयोग गर्न पाल्पा बसेका थिए भन्ने पाल्पाली अनुश्रुति भेटिनु, बाबुराम आचार्यले पनि भानुभक्त१९०२ सालभन्दा अगाडि नै पाल्पामा जागिरमा भर्ना भइसकेका थिए भन्नु र नरनाथ आचार्यले समेत धनञ्जय अस्वस्थ थिए भनी लेख्नुलाई यहाँ संश्लेषण गर्न सकिन्छ। यस संश्लेषणबाट भानुभक्तले सर्वप्रथम बाबुलाई सहयोग गर्न पाल्पामा बसेको, पाल्पामा बस्दा कानुनी शिक्षा पाएको, जागिरबाट समेत कानुनी लेखन र अभ्यास बढाएको र पाल्पाका दरबारिया प्रशासकसँगको बोलिने अत्युच्च आदरार्थी प्रयोगसँग निकट बनेको देखिन्छ। भानुभक्तका हस्तलिखित रामायण बालकाण्ड तमसुक, इजहारहरूमा प्रकट भएका भाषिक सीपले उल्लिखित भनाइ पुष्टि गरेका छन्।