हेलिकोप्टर चार्टर गरेर विद्यालय भवन उद्घाटन
जाजरकोट : दुर्गममा बनेको एक विद्यालय भवन उद्घाटन गर्न राउन्ड टेबल नेपालको टोली हेलिकोप्टर चार्टर गरेर दुर्गम जिल्ला जाजरकोट पुगेको छ । आफ्नो आर्थिक सहयोगमा जिल्लाको नलगाड नगरपालिका २ डाँडागाँउ रिजामा रहेको जनक आधारभूत विद्यालयको नवनिर्मित भवनको मंगलबार उद्घाटन गरिएको छ । राउड टेबल नेपालले निर्माण गरेको उक्त भवनको उद्घाटन राउन्ड टेबल संस्थाका अन्तराष्ट्रिय अध्यक्ष डिके सिंहले गरेका हुन्।
नलगाडका युवा समाजसेवी लवकुश ओलीको पहलमा उक्त भवन निर्माण भएको हो । उक्त भवन निर्माण गर्न डाँडागाउँबासीले सक्दो सहयोग गरेका थिए । झण्डै डेढ करोड रुपैयाँको लागतमा निर्माण भएको उक्त विद्यालय भवन जाजरकोटकै नमूना विद्यालय भवनको रुपमा रहेको छ ।
नवनिर्मित विद्यालय भवन उदघाटन गर्न दाताहरु डिके सिंहसहित पाँच्जनाको टोली हेलिकोप्टेर चार्टर गरेर काठमाडौबाट सिधै नवनिर्मित विद्यालय भवन रहेको डाँडागाउँ पुगेको थियो । उक्त टोलीलाई गाउँलेले स्वागत गरेको युवा समाजसेवी लवकुश ओलीले बताए। विद्यालयले दाताहरुलाई सम्मान पत्र, खादा र मालाले सम्मान गरेको थियो । स्थानीयबासीले भवन बनाउन सहयोग गरेकोमा राउन्ड नेपाललाई धन्यवाद दिएका थिए।
भवन बने सँगै पानी चुहिने र जीर्ण भवनमा पढ्नुपर्ने बाध्यता हट्ने भएको छ । आगामी दिनमा पनि अरु ठाउँका विद्यालय भवनलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता डिके सिंहले गरेका छन् । प्रतिकुल मौसम, समयको चाप आदि कारणले हेलिकोप्टर चार्टर गर्नु परेको अध्यक्ष सिंहले बताए ।
प्रतिक्रिया दिनुहोस !