गीताले खोजेको नेता
व्यभिचार, झूट, कपट, हिंसा र प्रमादबाट परै बस्ने नेताबाट मात्र समाजलाई असली योगदान प्राप्त हुनसक्छ
भनिन्छ, जर्मन तानाशाह एडल्फ हिटलर र उनका निकट सहयोगी हेनरिख हिम्लर गीताबाट प्रभावित थिए। महात्मा गान्धीमा गीताको अमीट छप थियो। नेपालका पूर्वप्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराई गीताज्ञान र गीतोचित त्यागमय सरल जीवनका कारण नै सन्त कहलिएका हुन्। गीता यस्तो अद्भुत दर्शन हो, जसको अध्ययन गर्ने हरेक व्यक्तिले आफ्नो चरित्र, सोच र जीवनदर्शन अनुरूपको व्याख्यान भेट्टाउँछ। हिटलरले गीतालाई युद्धतर्फ प्रेरित गर्ने साहित्य माने होलान्। सायद उनले कृष्णलाई हिंसाको माध्यमबाट नयाँ पद्धति कायम गर्न प्रेरणा दिने पुरुषको रूपमा पाए। परन्तु गीताको सार हिंसा र युद्ध होइन।
गीताको आधारभूत दर्शन करुणा, मर्यादा, सर्वधर्म समभाव र कल्याण हो। कुनै पनि शान्तिपूर्ण उपाय काम लागेन भने सत्य र न्यायका लागि युद्ध गर्नसमेत पछि पर्नु हुँदैन भन्ने गीताको अभ्यन्तर सन्देश हो। कृष्णका मामा युवराज कंस गद्दीनसीन सोझा पितालाई कारागारमा थुनेर आफैं राजा भएका थिए। मामाकै कारण कृष्णको बाल्यकाल अत्यन्तै दुष्कर भयो। कृष्णको जीवन संघर्ष र धैर्यको प्रतीक हो। कुरु क्षेत्रको महायुद्धअघि कृष्णले भरसक शान्ति कायम गर्ने प्रयत्न गरेका थिए। उनले दुर्योधनलाई सम्झाउँदै भनेका थिए, ‘सारा साम्राज्यको भोग तिमी नै गर, पाण्डवहरूलाई टेक्न र वास बस्नका खातिर पाँच गाउँ छाडिदेऊ।’ मतिहीन दुर्योधन सियोको टुप्पो जति पनि भूमि दिन तयार भएनन्।
कृष्णले सबैभन्दा बढी जोड कर्ममा दिन्छन्। उनी कसैलाई हानी नपुर्याउने सम्यक र अनुशासित कर्मको प्रशंसा गर्छन्। निःस्वार्थ, निर्लोभी, अहिंस्रक, शान्त र मर्यादित कर्ममा प्रेरित गर्छन् कृष्ण। कर्मको फलको चिन्ता गर्ने व्यक्तिले गरिखान सक्दैन भन्ने कृष्णको निचोड छ। नाफा र स्वार्थका लागि मात्र कर्म गर्ने मनुष्यलाई निरुत्साहित गर्न अदृश्य ईश्वर र जन्मजन्मान्तरको भय देखाउने कृष्णको प्रयास सार्थक र सामयिक थियो। कृष्णको लोभरहित लाभको सन्देश अत्यन्तै महत्वपूर्ण छ। शान्तिका सारा प्रयत्न विफल भइसकेका थिए। कुरुक्षेत्र संग्र्रामका लागि तयारी अवस्थामा थियो। तर अर्जुन मैदानमा पुगेपछि अकस्मात युद्धबाट पलायन गर्न उद्धृत भए। उनी जति नै सम्झाउँदा पनि भीरुझैं रथमा थचक्क बसिदिए। तिनै अर्जुनलाई जगाउन युक्तियुक्त तर्क गर्दागर्दै संक्षिप्त गीता ग्रन्थ तयार भयो। जीवनका सुख–दुःख, ईष्या, अनुराग, रोदन, स्वार्थ, वीरता, कायरता, सुन्दरता एवं बीभत्सताको दर्शन हो गीता।
कृष्णको समग्र जीवन अध्ययन गर्दा उनलाई बुझ्न सक्ने मानिस त्यस समयमा धेरै कम थिए भनेर सहजै अनुमान गर्न सकिन्छ। कृष्ण समयभन्दा धेरै अगाडि जन्मेका भविष्यका मानव प्रतीत हुन्छन्। हिटलरले आफ्नो दुःखजिलो गरेर खाने लाखौं बाल, वृद्ध र वनितालाई घरघरबाट थुतेर खसीबोकालाई भन्दा पनि निर्मम तरिकाले मारे। शान्तिसँग कर्म गरेर खाने हतियारहीन निरीह जनतालाई मार्ने प्रेरणा कृष्णले दिएका होइनन्। गीता शान्तिकालमा कुनै गुरुकुल या आश्रममा पढाइएको पाठ होइन। त्यो त युद्धमैदानमा उत्रेको योद्धालाई उत्साहित गर्ने एक सार्थक प्रयास मात्र थियो। कृष्ण युद्धका पक्षधर होइनन्। परन्तु सम्झाई बुझाई गर्दा पनि नटेर्ने अत्यन्तै मैमत्त भएका आफ्नै कुटुम्ब र अहंकारी सन्तानहरू आपसमा लडेर नाश भएको दृश्य पनि सहजै हेर्न सक्दछन् कृष्ण। जस्तै विपत्तिमा पनि शान्त, सौम्य र अविचलित रहेर परिस्थितिको सामना गर्ने प्रेरणा नै कृष्णको मूल सन्देश हो।
अर्जुन एक वीर योद्धा मात्र नभई नेता पनि थिए। त्यस युगको राजनीतिक नेता ज्ञान, बुद्धि र चातुर्यले परिपूर्ण हुनु मात्र पर्याप्त थिएन। नेता शास्त्र मात्र नभई शस्त्रमा पनि पारंगत हुनु आवश्यक थियो। आजको समयमा राजनीतिक नेता स्वयं युद्धमैदानमा जानु पर्दैन। वर्तमान युगमा राजनीतिको खेल नै एक कुरुक्षेत्र हो। वर्तमान राजनीतिको बृहदाकार मैदानको योद्धा शस्त्रले नभई शास्त्र, शालीनता, सज्जनता, इमान, सच्चाइ र समर्पणले ओतप्रोत हुनुपर्छ। गीताको शब्दमा नेता स्थिरमति, निडर, निर्लोभ, सत्य र निष्ठामय धर्मयुद्धको योद्धा हुनुपर्छ। राजनीतिक योद्धा जति ठूलो हुन्छ, उसका वैरी पनि त्यति नै जोधाहा हुन्छन्। जिम्मेवारी वहन गर्ने नेताको कटु आलोचना हुन्छ र अकीर्ति फैलाउने चेष्टा हुन्छन्। नेताको असमर्थता र अशिष्टताको आलोचनाका साथै असल कर्मको प्रशंसा पनि हुन्छ। परन्तु सच्चा नेता न निन्दाबाट विचलित हुन्छ, न त स्तुतिबाट प्रफुल्ल नै। उसले अरूबाट सम्मानको चाहना राख्दैन तर आफू अरूको सम्मान गर्नमा कन्जुस्याइँ गर्दैन।
आलोचनाबाट आत्तिने र स्तुतिबाट मात्तिने व्यक्ति वास्तविक नेता हुन सक्दैन। सक्कली नेता सत्तामा हुँदा होस् या सत्ताबाहिर, सदैव स्थिरमना, विवेकशील एवं स्थितप्रज्ञ हुन्छ। तमोगुणी, आडम्बरी र अहंकारी नेता समाजका लागि अभिशाप हो। नेताप्रतिको श्रद्धा विचारमा आधारित हुनुपर्छ। विचारहीन श्रद्धा सदैव स्वार्थमा अडिएको हुन्छ। स्वार्थीहरूको चंगुल अदम्य हुन नपाउँदै होसियार हुने नेता मात्र शक्तिको सदुपयोग गर्न सक्षम हुन्छ। राजनीति सबैप्रति दयालु हुँदैन। सत्ता र शक्तिमा पुग्ने मौका थोरै नेताले मात्र पाएका हुन्छन्। सत्तामा पुग्न पाए नितान्त इमानसाथ काम गर्ने अठोट गरेको नेतालाई पनि शक्तिले स्वार्थी र भ्रष्ट बनाउन सक्छ। सत्ताले भौतिक सुख पनि दिन्छ। परन्तु सत्तासुखलाई राजनीतिक कर्ममार्गको स्वाभाविक घटनाको रूपमा नलिई निजी उपलव्धिको विषय मानियो भने आसक्ति पैदा हुन्छ। आसक्तिले कामना उत्पन्न हुन्छ। कामनामा बिघ्न पर्न जाँदा क्रोध र क्रोधले मूढता उत्पन्न हुन्छ। मूढभावले ज्ञानशक्ति र बुद्धिको विनाश गर्दछ।
कृष्ण भन्छन्, ‘बुद्धिले नजितिएको अन्तःकरणमा भावदूषण पैदा हुन्छ। भावनाहीन व्यक्तिको जीवन सदैव अशान्त, भ्रान्त र दुःखी हुन्छ। गीतामा गृहस्थ मात्र होइन, राजनीतिक नेतालाई समेत लाभदायी हुने केही त्यागबारे चर्चा गरिएको छ। व्यभिचार, झूट, कपट, हिंसा र प्रमादबाट परै बस्ने नेताबाट मात्र समाजलाई असली योगदान प्राप्त हुनसक्छ। कुनै पनि राजकीय कार्य व्यक्तिगत हितमा नगर्नु, तृष्णा र आसक्तिबाट अलग रहनु, अरूलाई आफ्नो सेवा र स्तुति गराउने काममा प्रवृत्त नहुनु, आफूले गरेको कर्तव्यपालनका लागि प्रशंसाको अपेक्षा नगर्नु एवं दुर्वाच्य र चरित्रहत्या गर्नेजस्ता कृत्यबाट मुक्त रहनु नै नेताको परम कर्तव्य हो। चञ्चल मन एवं अधीर चित्तलाई वशमा राख्दै राजनीतिक विरोधीहरूको यथायोग्य सम्मान गर्नु सच्चा नेताको सत्कार्य हो। अरूको विचार र सिद्धान्तको दुर्दान्त उपहास गरेर अपमान गर्नुभन्दा आफ्नो नीतिको बुद्धिमत्तापूर्ण बचाउ गर्दै जनताको मन जित्नु नेताको कर्तव्य हो।
गीताले खोजेको नेता मुनि जस्तो हुन्छ। मुनि हुन वन र कन्दरामा तपस्या गर्नु पर्दैन। नेताको तपस्या नै जनसेवा, समृद्धि, शान्ति, सहनशीलता र करुणायुक्त कर्मठ जीवन हो। राजनीतिक मुनि न शक्तिशाली हुँदा उन्मक्त हुन्छ, न त शक्ति क्षीण हुँदा उदास र खिन्न नै। गीतामा मुनिको लक्षणलाई यसरी वर्णन गरिएको छ– जुन समय सर्वसाधारण प्राणीका लागि रात्रिसमान हुन्छ, सोही समयमा स्थितप्रज्ञ संयमी जागा हुन्छ। जुन समयमा सर्वसाधारण जागा हुन्छन् (सांसारिक सुखभोगको चेष्टा), सो समय मुनिका लागि रात्रिसमान हो। समग्र देश अज्ञान, भोक र विपत्तिले ग्रस्त रहेको बखतमा जुन नेता सचेत र जागरुक हुन्छ, त्यही नै मुनि नेता हो। मुनि नेता मनुष्य मात्र नभई वन, पहाड, प्राकृतिक स्रोत र वातावरण संरक्षणमा समेत ध्यान दिएर भविष्यका सन्ततिका लागि सम्पदाको जगेर्ना गर्नमा प्रवृत्त हुन्छ।
जसरी स्वर्गलोकको सुखभोगको समय क्षीण भएपछि फेरि पृथ्वीलोकमा फिर्ता हुनुपर्छ। त्यसरी नै एक दिन सत्ताबाट बाहिर जानैपर्छ। अनासक्त, निःस्वार्थ र स्थितप्रज्ञ मुनि नेता एक पल्ट सत्तामा पुगेपछि फेरि बारम्बारको आवागमनमा लाग्दैन। सत्ता राजनीतिमा प्रत्येक पुस्ताको सतत शृंखला कायम हुँदै जानु अत्यन्तै जरुरी छ। गीताले खोजेको नेता आफ्नो समय पूरा भएको महसुस गर्न सक्षम हुन्छ। त्यस्तो नेता सत्तामुखी राजनीतिलाई युवाको जिम्मामा छाडेर आफू निष्काम र निष्पृह भई अभिभावकीय भूमिकामा पदार्पण गर्दछ।