तानसेन बुटवल सडक एकतर्फी रुपमा सञ्चालन
तानसेन : शनिबार रातीदेखि बन्द भएको सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्ड सोमबार अपरान्हदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ। तीन दिनदेखि परेको अविरल वर्षाको कारण तानसेन बुटवल सडक खण्डमा दर्जनौं पहिरो खसी सडक अवरुद्ध भएको थियो।
तानसेन नगरपालिका वडा नं ८ तल्लो डुम्रेमा पहाडसहित खसेको पहिरो डिभिजन सडक कार्यालय पाल्पा दुई दिन लगाएर एकतर्फी रुपमा सडक सञ्चालनमा ल्याएको हो। डाँडैसहित पहिरो खसेपछि कार्यालय आइतबार दिउँसोदेखि पन्छाउने प्रयास गरे पनि लगातार झरी र ठूलो पहिरो भएकोले हटाउन कठिन भएको छ।
तल्लो डुम्रेमा पहाडसहितको पहिरोले देवबहादुर सारुको दुईतले पुरिनुका साथै अन्य तीन घरमा क्षति पुर्याएको छ। सडक पन्छ्याउन डिभिजन सडक कार्यालय पाल्पाले स्काभेटर, डोजर र लोडर परिचान गरेको थियो। पहिरोको कारण पाल्पा डुम्रे क्षेत्रको बस्ती नै जोखिममा परेको छ। अहिले एकतर्फी रुपमा मात्र बाटो खुलाए पनि पहिरोलाई पूर्णरुपमा सफा गरी दुईतर्फी बाटो सञ्चालन गर्न अझै केही दिन लाग्ने डिभिजन सडक कार्यालय पाल्पाका सूचना अधिकारी शिवु खत्रीले बताए।
पहिरोले सो क्षेत्रमा विद्युत पोलहरु बगाउँदा अन्धकारमय भएको छ। विद्युत सेवा नहुँदा त्यस क्षेत्रका जनता मोबाइल चार्ज नहुँदा सञ्चार सेवाबाट वञ्चित भएका छन्। पहिरोले दुई दिनदेखि राजमार्ग अवरुद्ध हुँदा हजारौं यात्रुहरु बाटोमै अलपत्र परेका थिए। खाद्यान्य, दूध तरकारी बोकेका सयौं सवारी साधन बाटोमै रोकिएका थिए।
राजमार्गको तानसेन बुटवल सडक खण्डको अधिकाश भूभाग चुरे क्षेत्र भएकोले यस वर्ष मात्र दुई दर्जन क्षेत्रमा पहिरो झरेको छ भने पाँच स्थानमा सडक भासिएको छ। राजमार्ग क्षेत्रको तानसेन बुटवल सडकमा मात्र बाढी पहिरोमा परी एक महिनाको अवधीमा ५ जनाको मृत्यु भइसकेको छ। तानसेन बुटव सडक खण्डमा अझै पनि पहिरोको जोखिम भएकोले सावधानी अपनाएर यात्रा गर्न सवारी धनी सर्वसाधारणमा पाल्पा प्रहरीले अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस !