राहदानी लिनै हैरानी

राहदानी लिनै हैरानी

काठमाडौं

समय : आइतबार : बिहान ४ बजे।
स्थान : राहदानी विभाग नारायणहिटी

मौसम विभागले सार्वजनिक गरेको सूचना ठ्याक्कै मिलेर हुनुपर्छ झरी रोकिएको थिएन। अन्नपूर्ण टिम नारायणहिटीस्थित राहदानी विभागको गेटमा पुग्यो। घडीले बिहानको ४ बजाएको थियो। झरीमा रूझ्दै सेवाग्राही पुगिसकेका थिए। ढिला पुगे काम नहुने चिन्ता। घुम्न, पढ्नभन्दा पनि नेपालमा रोजगारी नपाएर विदेश जान चाहने धेरै युवाको पहिलो यात्राको गन्तव्य हो यो राहदानी विभाग। जिल्लाबाट ढिला हुने भएकाले छोटो समयमा राहदानी बनाउन र रिन्यू गर्न यहाँ पुग्नै पर्छ। तर, यति काम सक्न यहाँ जो कोहीलाई सहज छैन। राहदानी विदेश यात्राका लागि पहिलो डकुमेन्टमा पर्छ। विभागले २०६७ पुस ६ गतेदेखि मेसिन रिडिएबल पासपोर्ट दिँदै आएको छ।

भदौरे झरी वर्षिरहेको छ। निथु्रकै भिजेर पनि आँखा मिच्दै लाइनमा छन्, म्याग्दीको रघुगंगाका ३२ वर्षीय रेशम परियार। नारायणहिटीस्थित राहदानी विभागको गेटमा उनी आइतबार बिहानै ४ बजे भेटिए। 

मोटरसाइकलमा दुई सय किलोमिटर यात्रा गरेर उनी राहदानी नवीकरण गर्न आएका थिए। बाटाभरि पानीले चुटेको दु:खेसो पोखे। ७ घण्टामा काठमाडौं टेकेका उनी लखतरान देखिन्थें। ‘५० लाख खर्च गरेर ब्राखापालन गरेको थिएँ। कोरोना महामारी अघि एकै पटक ५० वटा मरे,’ उनले भने, ‘ऋणको कुरै नगरौं, फर्म ऋणमै छ।’ ऋण तिर्न विदेश जानुको विकल्प नरहेको उनले बताए। ‘राहदानी नवीकरण गर्न आधा रातदेखि लाइनमा छु। काम हुन्छ कि हुँदैन ठेगान छैन।’ 

शौचालयमा भोटे ताल्चा
बिहान ४:३० मा पोखराकी लक्ष्मी गुरुङ लाइनको अगाडि थिइन्। ‘जापान पढ्न जाँदैछु,’ उनले भनिन्, ‘रातभरि बसमा आउनुपर्‍यो। यहाँ त लाइन नलागी पासपोर्ट बनाउनै नसकिने रहेछ।’ 

बिहानीले दिनलाई स्वागत गर्दै थियो। ‘चिया खानुस्, चिया खानुस्’ भनेर थर्मस लिएर व्यापारी भीडमा आइपुगे। ५:३० मा भेटिए, हेलमेट लगाएका ४२ वर्षीय अमृत विक। ‘यत्रो मान्छे लाममा छ। 

ट्वाइलेट चाहिँ भोटे ताल्चा लाएर छाड्ने हो ?’ उनले भने, ‘ट्वाइलेट लागेको छ। कहाँ जानु ?’

थाकेर थुचुक्क 
५:५८ मा भेटिएका महोत्तरी बर्दिबासका २३ वर्षीय केदार धमला २ वर्षअघि विदेशमा ठगिएका थिए। ‘६ महिनामै भागेर मलेसियाबाट २ वर्ष पहिले नेपाल आएँ, उनले पुरानो दु:ख सुनाए, 

‘जे पर्लापर्ला भनेर पासपोर्ट छाडेर फर्किए।’ तर, कोरोना महामारीपछि विदेश जानैपर्ने बाध्यताले उनी राहदानी बनाउन आएका थिए। त्यसका लागि उनी महोत्तरीबाट शनिबार साँझ बस चढेर ६ बजे बिहान  राजधानी उत्रेका थिए। ‘२ सय रुपैयाँ पठाओलाई दिएर ४ बजे यहाँ आइपुगेँ,’ उनले भने, यहाँ कतिबेर कुर्नुपर्ने हो टुङ्गो छैन।’

घडीमा ६:३५ बजेको थियो। सर्लाही बरहथवा–३ का २६ वर्षीय राम विनायक ठाकुर लाइनको बीचमा थुचुक्क बसेका थिए। ‘उभिँदा–उभिँदा कुर्कुचा दुखेर बसेको,’ उनले भने, ‘विदेश जाने प्रोसेस पनि कति झन्झटिलो। २ घण्टा माथि लाइन बसेर राहदानीको अनलाइन फारम भरेर आएँ। यहाँ फेरि कतिबेर लाग्ने हो ?’ 

लाममा तँछाडमछाड
बिहानको ७:१५ बज्यो। झरीको रफ्तार बढ्दै थियो। देशका कुनाकाप्चाबाट भोकैतिर्खै यात्रा गरेर आएका सेवाग्राहीको भीड पनि बढ्दै थियो। गेट बाहिर दायाँपट्टी कार्यालय खुल्ने प्रतीक्षामा थामिनसक्नु भीड थियो। नयाँ राहदानी बनाउन र नवीकरण गर्नमात्र होइन, एउटा अक्षर गलत भएका कारण सच्याउन आएकाहरू पनि ठेलमठेल लाइनमा थिए।

प्रहरीलाई लाइन मिलाउन हम्मे थियो। सिट्ठी बजाउँदै लठ्ठी ठटाउंँदै प्रहरी सेवाग्रहीलाई लाइनमा बस्न सचेत गराइरहेका थिए। लाइन लागेकाहरू फलामे डण्डी नाघेर सेवा लिन तँछाडमछाड गर्थे। होहल्ला हुटिङ त कति हो कति, झैझगडा जस्तै। 

बाहिरको शौचालय ७:४५ मा खोलियो। त्यसअघि प्रहरीले सेवाग्राहीलाई भित्रको शौचालयमा फाट्टफुट्ट जान दिन्थे। ‘ल क्लियर ब्याग र कलम लिएर जानुस्। डकुमेण्ट भिज्छ,’ २० वर्षीया सुनिता विक भीडमा चिच्याउँदै थिइन्। राहदानी लिन भीडमा लागेका युवाहरूलाई सामान बेच्दै गरेकी उनले दिनको १५ सय जति कमाई हुने गरेको बताइन्। 

‘ठगिएपछि पासपोर्ट छाडेर मलेसियाबाट नेपाल आएँ। तर, कोरोनाका कारण बिदेसिनुपर्ने  बाध्यताले राहदानी बनाउन आएको छु,’ – केदार धमला, महोत्तरी

सूचना नदेख्दा हैरानी
नुवाकोट पञ्चकन्याका राजकुमार तामाङ छाता ओढेर गेट अगाडि अलमलमा थिए। भीडमा यता जाउ कि उता जाउ, दोधारमा थिए। राहदानी बनाउने प्रक्रिया बारेमा अरूलाई सोध्दै थिए। त्यहाँ रहेका अरू पनि उस्तै रुमल्लिएका देखिन्थे। ७:५८ मा भेटिएका उनी रोमानिया जानका लागि राहदानी बनाउन आएका रहेछन्। ‘यता जाउ उता जाउ मात्र भन्छन्, तामाङले भने, ‘प्रक्रियाका बारेमा राम्रोसँग कसैले पनि जानकारी दिँदैन।’ 

राहदानी बनाउने प्रक्रियाबारे गेट अगाडि ठूलो अक्षरमा लेखिएको छ। सूचनामा अधिकांशको नजर पुग्दैनथ्यो। 

भीडले भद्रगोल
प्रहरीले ८:२५ बजे राहदानीको टोकन लिन सेवाग्राहीलाई भित्र पठायो। राहदानी विभागसँगै कन्सुलर विभाग छ। जहाँ विदेश जाने सबै प्रक्रिया पूरा भएपछि अन्तिम प्रमाणीकरणको छाप लगाइन्छ। त्यहाँ पनि रातिदेखि नै खचाखच भीड थियो। ८:४० मा उनीहरूलाई सुरक्षा जाँचका लागि राहदानीको लाइनतिर सारियो। 

लाइनमा अगाडि बस्न धकेलाधकेल थियो। होहल्ला भयो। त्यो दृश्यले झडप नै भए जस्तो लाथ्यो। कोही फलामको बार नाघ्दै त कोही मुनिबाट छिर्दै अघि बढ्थे। ‘बिहान ३ बजे आएर के भयो र ? भर्खर आउनेहरू अगाडि पुगे,’ भीडमा पछाडि परेकाहरू गुनासो गर्दै थिए। अब राहदानी बनाउने र छाप लगाउने दुवैको एकै लाइन भयो। नयाँ आउनेहरू कता लाग्ने भनेर रनभुल्लमा परे। सबैलाई छिटो काम चाहिएको थियो। भीडले कोरोना महामारी रोक्न सरकारले गरेको निषेधाज्ञालाई गिज्याइरहेको थियो।  

बेलैमा आए कर्मचारी
८:५० मा मूल गेट खुल्यो। ९:१५ पछि कर्मचारीहरू आउन थाले। काम छिटो हुने आशमा सेवाग्राही उत्साही भए। ‘भित्र कर्मचारी आए। अब त धेरैबेर लाग्दैन होला,’ संखुवासभाकी सम्झना राई भन्दै थिइन्, ‘ राहदानीका लागि फोटो खिचेर आजै फर्कन पाए हुन्थ्यो।’

बस्नलाई कुर्सी  
चौडा सडक। फूलैफूलको बगैंचा। थरीथरीका रूख। बीचमा फहराइरहेको चन्द्रसूर्य अंकित झण्डाले बाहिर सास्ती पाएका सेवाग्राही आनन्दित देखिन्थे। पिउन पानी। बस्न कुर्सी। बच्चा बोकेर आएका आमाका लागि स्तनपान कक्ष र सफा शौचालयले सेवाग्राहीको बाहिर देखिएको निन्याउरो अनुहार केही उज्यालो देखिन्थ्यो। तर, उनीहरू कोही कुर्सीमा बस्थे भने कोही उभिन्थे । कुर्सीमा बसिदिन प्रहरी अनुरोध गरिरहन्थे। २५–२५ मिनेटमा शौचालय सफा गर्ने व्यवस्था थियो।

त्रुटि सच्याउन ५ हजार
११:५० मा म्याग्दी अन्नपूर्ण–२ का नवराज सुनार बैंक भौचर भर्दै थिए। ‘३ दिनमा पासपोर्ट निकाल्न १० हजार तिर्न लागेको,’ उनले भने। 

राहदानी विभागले थप दस्तुर लिएर दु्रत सेवा पनि प्रदान गर्छ। एक दिनमा एमआरपी (पासपोर्ट) लिनुपरे १५ हजार, दुई दिनमा लिनु परे १२ हजार र तीन दिनमा चाहिए १० हजार दस्तुर लाग्छ। तीन दिनपछिका लागि भने ५ हजार राजस्व तिरे पुग्छ। 

१२:३५ मा भेटिएकी सोलुखुम्बुकी ३४ वर्षीया निमा शेर्पा पासपोर्टको त्रुटि सच्याउन आएकी थिइन्। उनको फारममा एउटा नम्बर र पासपोर्टमा अर्को परेछ। उनले राहदानी लिन तीन दिनअघि मात्रै दु्रत सेवाअन्तर्गत फारम भरेकी थिइन्। उनी क्रोएसिया रोजगारीका लागि जाँदैछिन्। 

राहदानीका लागि १३ बढी प्रक्रिया पूरा गर्नुपर्छ। र, पनि राहदानी त्रुटिरहित बन्न सकेको छैन। कसैको नाम बिग्रन्छ त कसैको जन्ममिति। एउटा अक्षर सच्याउनलाई पनि ५ हजार रुपैयाँ अतिरिक्त राजस्व तिर्नुपर्छ। यस्ता गल्ती कहिले सेवाग्राही आफैंले गर्छन्। कहिले कर्मचारीबाट पनि हुन्छ। 

१ बजे गेट बन्द 
राहदानीको काम लिएर आएका नयाँ सेवाग्राहीलाई १ बजेपछि गेटभित्र पस्न प्रहरीले रोके। कारण थियो– त्योभन्दा अगाडि पसेका सेवाग्राहीलाई सेवा दिनै भ्याउन गाह्रो परिरहेको थियो। 

१:१० मा अछामका २८ वर्षीय विक्रम अधिकारी फारम बुझाउने ठाउँमा बसेका थिए। स्नातक अध्ययन गर्दागर्दै राहदानी बनाउन आएका उनले भने, ‘४ ठाउँ लाइन लागेपछि यहाँ आइपुगेँ। यहाँ बाहिरको जस्तो अस्तव्यस्त भीड रहेनछ।’ बिहानै लाम लागेका सेवाग्राही काम सकेर फर्किँदै थिए। १:२५ मा सर्लाहीका २२ वर्षीय रूद्रमान गोलेसँग कुराकानी गर्‍यौं। ३४ नं कोठा अगाडि हातमा भौचर बोकेर पालो कुरिरहेका थिए। ‘दुर्घटनामा बुवाको खुट्टा भाँचिएपछि ऋण काढेर उपचार गर्‍यौं, उनले भने, त्यही कर्जा तिर्न विदेश जान लागेको।’  

रूद्रमानसँगै भेटिए गुल्मीको लिम्बा–४ का गिरीबहादुर खप्तरी। उनी २:३० बजे राजस्व तिर्न लाइन लागेका थिए। ‘विभागले पासपोर्ट लिन अनलाइन फारम भर्नु त भन्छ। तर, कहाँ भर्ने ? खोज्न धेरै समय लाग्यो,’ उनले गुनासो पोखे, ‘कुन सेवा कहाँ पाइन्छ, सही जानकारी दिइँदैन। नयाँ मान्छेको त भौतारिँदै दिन बित्छ।’ 

त्यसपछि हामी राहदानी वितरण गर्ने कक्षतर्फ लाग्यौं। १ दिन, २÷३ दिन र सोभन्दा बढी समयका राहदानी लिने छुट्टाछुट्टै ठाउँ रहेछन्। बाराको कलैयाका ३० वर्षीय सदाम अन्सारी नवीकरण गरेको राहदानी लिँदै थिए। ‘मलेसिया ३ वर्ष बसेँ। कम्पनीले पैसा दिएन,’ उनले भने, ‘आएर ६ लाख ऋण खोजेर गार्मेन्टमा लगानी गरेँ। लकडाउनले चलाउन सकिएन। बाध्यताले साउदी अरेबिया जान लागेको छु।’

राहदानीमा पुरानै नक्सा
सुर्खेत वीरेन्द्रनगर–१३ का मनोज खड्काथोकी सुनारले फरक प्रसंग निकाले। २:४० बजे नयाँ पासपोर्ट पाएका उनी खुसी हँुदै पाना पल्टाउँदै थिए। ‘हाम्रो देशको नयाँ नक्सा आएको होइन र ? यहाँ त पुरानै छ,’ उनले साथीलाई सुनाउँदै थिए, ‘चुच्चे नक्सा कहाँ हरायो ?’ 

२:५५ मा तनहुँ घिरिङ गाउँपालिकाका रामचन्द्र विकसँग कुराकानी गर्‍यौं। उनी तेस्रो पटक एमआरपी सच्याउन आएका थिए। ‘पहिलो पटक जन्म मिति र दोस्रो पटक नागरिकता नम्बर गलत परेको थियो, उनले भने। 

विभागमा माथिल्लो तहका कर्मचारीहरू कामको अनुगमन गरिरहेका थिए। आइपर्ने प्राविधिक र कागजी समस्या सुल्झाइरहेका थिए। ३:४० मा राहदानी फाँटका अरू सबै फाँट खाली भइसकेका थिए। सेवाग्राही फोटो खिच्ने ठाउँमा मात्रै देखिन्थेँ। फोटो खिच्न र डिजिटल ल्याप्चे संकलन गरेर अनलाइनमा समावेश गर्न समय लाग्छ।

‘१ दिन, २ दिनभित्र पासपोर्ट लिन कोही आउनु भएको छ भने छिटो गेटमा आउनुस्,’ भन्दै प्रहरी सेवाग्राहीलाई बोलाइरहेका थिए।

फोटो खिच्ने २ कोठामा १०–१५ जना कर्मचारी काम गर्दै थिए।

चार दिन गाडीको बास
३:४५ मा फोटो खिचाउने पालो कुर्दै गरेकी रोल्पा जमकोटकी ४९ वर्षीया देउकला कुमारी घर्तीमगर भेटिइन्। उनी ४ दिन लगाएर पहिरो पन्छाउँदै राहदानी लिन काठमाडौं आएकी थिइन्। ‘पहिरोले धेरै ठाउँमा बाटो पुरेको थियो। गाडीकै बास भयो,’ उनले भनिन्, ‘यहाँ बिहान ७ बजे नै आएकी थिएँ। तर, प्रक्रिया थाहा नपाएर ढिलो भयो।’

हाकिमको हौसला
कार्यालय समय सकिँदै गर्दा पनि सेवाग्राहीको भीड नै थियो। ४:२२ मा राहदानी विभागका महानिर्देशक डोरनाथ अर्याल सेवाग्राहीको लाम नजिकै आए। १० मिनेट जति अवलोकन गरेर फर्किए। ‘बेला–बेलामा हाकिम आउँदा हौसला हुन्छ है,’ काममा खटिएका कर्मचारी खुसी हुँदै कुरा साट्दै थिए।

५:२५ बजे फोटो खिच्ने फाँटबाट निस्किए रौतहटका २० वर्षीय लालबाबु मुखिया। उनी आइतबारका अन्तिम सेवाग्राही थिए। कार्यालयका दिनभरका कामकारबाही अवलोकन गर्दै हामी ‘अड्डामा अन्नपूर्ण’को टिम कार्यालयको गेटबाट ५:५५ तिर बाहिरियौं। तर, गेटमा ढिलो आएका सेवाग्राहीहरू छँदैथिए। 

‘लकडाउनले भीड बढ्यो’ 

राजेन्द्र पाण्डे, प्रवक्ता

लकडाउनका कारण भीड बढेको विभागका प्रवक्ता राजेन्द्र पाण्डेले बताए। ‘सेवाग्राहीको चाप छ। कर्मचारी अभाव छ। र, पनि आएका सेवाग्राहीलाई राति नौ बजेसम्म पनि सेवा दिइरहेका छौं,’ पाण्डेले भने, ‘दैनिक ७—८ सय सेवाग्राही आइरहेका छन्। कार्यालयमा बिचौलिया पस्न दिएका छैनौं। भीड व्यवस्थापनको प्रयास भइरहेको छ।’

नेपालमा राहदानी
राहदानी विभागका अनुसार नेपालमा वि.सं. १९६० सम्मको राहदानी फेला परेको छ। त्यसबेला नेपालमै एउटा जिल्लाबाट अर्को जिल्ला आउजाउ गर्न पनि नेपाली कागजमा हस्तलिखित पास चाहिन्थ्यो। पछि त्यसैलाई राहदानी भनियो। २०६७ पुस ६ गतेदेखि नेपालमा मेसिन रिडिएबल पासपोर्ट (एमआरपी) लागू भयो। सामान्य, आधिकारिक, कूटनीतिक र यात्रा गरी चार प्रकारका राहदानी प्रचलनमा छन्। अब तेस्रो पुस्ताको राहदानी वितरणको तयार छ।

‘नयाँ नक्सासहितको राहदानी ल्याउँछौं’


डोरनाथ अर्याल, महानिर्देशक

मंसिरपछि नयाँ नक्सासहितको राहदानी जारी गर्ने तयारी भइरहेको राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले जनाए। ‘२० लाख नयाँ राहदानी छापिने प्रक्रियामा छन्।

पासपोर्ट छाप्न ग्लोबल टेन्डर गरिन्छ। अहिले वितरण गरिरहेको पासपोर्ट सन् २०१० मा छापिएको थियो। ‘प्राविधिक कारणले राहदानीमा नयाँ नक्सा राख्न सकेका छैनौं,’ उनले भने, ‘त्यतिखेर ७० लाख थान एमआरपी छापिएको थियो। त्यसैले पुरानै नक्सा भएको राहदानी वितरण गरिएको हो।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.