पहिरो हटाउन तानसेन बुटवल सडक खण्ड राती बन्द
तानसेन : सिद्धार्थ राजमार्ग तानसेन–बुटवल सडक खण्डको तल्ले डुम्रेमा डाँडैसहित खसेको पहिरो हटाउन सिद्धार्थ राजमार्ग बन्द गरिने भएको छ। बिहीबार साँझ ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म र शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ५ बजेसम्मका लागि डुम्रे क्षेत्रमा सडक बन्द गरिएको हो।
सडक डिभिजन कार्यालयको अनुरोधमा बिहीबार जिल्ला प्रशासन कार्यालयले डुम्रेमा खसेको पहिरो हटाउन बाटो बन्द गर्नु परेको सहायक प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताए। दुई दिनसम्म रातीको समयमा यात्रा नगर्न सवारी धनी तथा सर्वसाधारणमा जिल्ला प्रशासन कार्यालय पाल्पाले अनुरोध गरेको छ।
सो समयमा एम्बुलेन्सबाहेक अन्य सवारीसाधन सञ्चालनमा रोक लगाएको सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले जानकारी दिए। उक्त क्षेत्रको पहिरो नहटाउँदा थप क्षति हुन सक्ने भएकाले तत्काल पहिरो हटाउन बाटो बन्द गर्नुपरेको डिभिजन सडक कार्यालय पाल्पाका सूचना अधिकारी शिवु खत्रीले बताए। डुम्रेमा केही भाग पहिरो हटाएर एकतर्फी यातायात सञ्चालन गरिए पनि दुईतर्फी सञ्चालनमा समस्या आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !