पात्रसँग थाकेको प्रणाली

सरकार चलाउने प्रमुख पात्रले समयमा नतिजा दिन आफ्नो चरित्र, क्षमता र निष्ठापूर्वक कार्यसम्पादनमा निकै खरो उत्रनु पर्छ
पछिल्लो तीन दशकमा राजनीतिक स्थिरता, सरकारको स्थायित्व, सुशासन, विकास र समृद्धिका दृष्टिले प्रस्थान बिन्दु थियो। २०४८, २०६४ र २०७४ सालको निर्वाचनले सिर्जना गरेको परिस्थिति मुलुकका निमित्त यो अवस्था सिर्जना गरेको थियो। २०४८ सालको निर्वाचनमा नेपाली कांग्रेसले प्रतिनिधिसभामा बहुमत प्राप्त गर्यो। सो पार्टीका संसदीय दलका नेता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बने। उनको नेतृत्वको सरकार पाँच वर्ष सजिलोसँग चल्ने आशा गरियो। तर बहुमत प्राप्त बलियो सरकार २०५१ को मध्यावधि निर्वाचनमा होमिन पुग्यो। पहिलो प्रस्थान बिन्दुको सहज यात्रा असमयमै रोकियो। त्यसपछि एकातर्फ सरकारको फेरबदल र राजनीतिमा विकृतिका घटनाहरू छरप्रष्ट रूपमा देखिन थाले भने अर्कोतर्फ मुलुक द्वन्द्वमा फस्न पुग्यो।
तत्कालीन राजाको वंश विनाश र त्यसपछिका राजाबाट संवैधानिक राजतन्त्रको सीमा नाघ्ने काम भयो। २०६२/०६३ मा पुग्दा मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्रको दिशा समात्यो। जनताले सुन्दर भविष्यको परिकल्पना गर्न थाले। नेपालको अन्तरिम संविधान २०६४ मा रहेर संविधानसभाको निर्वाचन सम्पन्न भयो। निर्वाचनमा जनयुद्धलाई बिसाएर शान्ति प्रक्रियामा आएको नेकपा माओवादी पार्टीले ठूलो दलको हैसियत प्राप्त गर्यो। पुष्पकमल दाहाल प्रधानमन्त्री बने। मुलुक फेरि नयाँ प्रस्थान बिन्दुबाट अघि बढ्यो। संविधानसभाबाट नयाँ संविधानको निर्माण र सरकारबाट सुशासन, विकास र समृद्धिको यात्रा सँगसँगै अघि बढ्ने जनताको अपेक्षा थियो। नौ महिना पुग्दा नपुग्दै प्रधानमन्त्री दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिए। यसरी दोस्रो प्रस्थान बिन्दुको यात्रा पनि बीचैमा अड्किन पुग्यो।
राजनीतिक दलहरू आत्मसमीक्षामा कमजोर छन्। ऐना नहेरी अनुहार सफा राख्न सकिँदैन भनेजस्तै समीक्षा नगरी सुधार गर्न सकिँदैन।
अर्कोतिर संविधानसभाले निर्धारित कार्यकालभित्र संविधान निर्माण गर्न सकेन। सरकार फेरबदलको क्रम जारी रह्यो। सोही क्रममा सर्वोच्च अदालतका बहालवाला प्रधानन्यायाधीशको अध्यक्षतामा मन्त्रिपरिषद् गठन भयो। नेपालको राजनीतिक इतिहासमा यो नवीन प्रयोग थियो। उक्त मन्त्रिपरिषद्ले २०७० सालमा संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न गर्यो। राजनीतिक नेतृत्वमा सरकार गठन भयो। अलमलमा परेको राजनीतिलाई सही मार्गमा हिँडाउने काम गर्यो। अर्कोतर्फ दोस्रो संविधानसभाले संविधान बनाउने काम गर्यो। २०७२ असोज ३ गते नेपालको संविधान जारी भयो। संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भयो। नेपालको संविधानले संस्थागत गरेको संघीय ढाँचाको शासन प्रणालीबमोजिम संघ, प्रदेश र स्थानीय सरकार गठनका निमित्त २०७४ मा निर्वाचन सम्पन्न भयो।
सुशासन, विकास र समृद्धिको यात्रा सुनिश्चित हुन सकोस् भन्ने आमअपेक्षा थियो। बहुमत भएको बलियो सरकारको आवश्यकता थियो। नेकपा (एमाले) र नेकपा (माओवादी) को गठबन्धनलाई दुई तिहाइ नजिकको बहुमत प्राप्त भयो। सो आधारमा नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी ओली प्रधानमन्त्री बने। उक्त गठबन्धन २०७५ जेठ ३ मा नेपाल कम्युनिस्ट पार्टी–नेकपा नाम गरेको नयाँ पार्टी बन्यो। नेकपाको गठनले सरकार झन् बलियो भएको अर्थ लगाइयो। यसरी २०७४ को प्रस्थान बिन्दुले सोभन्दा अघिका तमाम घटनालाई बिर्साएर नयाँ आशा र विश्वासका साथ अघि बढ्ने अवसर प्रदान गर्यो। पाँच वर्षसम्म ढुक्कले सरकार चल्ने अनुमान गरियो। साढे तीन वर्ष पुग्दा नपुग्दै २०७४ को निर्वाचनबाट गठित सरकार बाहिरिने अवस्था भयो। यसरी तेस्रो प्रस्थान बिन्दुले पनि सुन्दर यात्राको इतिहास रच्न सकेन। उल्लेखित तीनवटा प्रस्थान बिन्दुका नायकहरू माथि उल्लेख गरेजस्तै २०४८ मा कोइराला, २०६४ मा दाहाल र २०७४ मा ओली भए। उनीहरूको योगदानलाई सारांशमा भन्नुपर्दा कोइरालाले आजीवन प्रजातन्त्रका निमित्त लडे। दाहालले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र बनाउन कडा परिश्रम गरे। ओलीले नेपालको संविधान जारी गर्न साहसी भूमिका निर्वाह गरे। सबैले आआफ्नो कार्यकाल पूरै अवधि सरकार चलाउन सकेको भए मुलुकमा यतिबेला राजनीतिक स्थिरता, सरकारको स्थायित्व, सुशासन, विकास र समृद्धिको यात्रा सहज रूपले अघि बढिरहेको हुन्थ्यो।
जुन समयमा जुन प्रणाली अवलम्बन गरियो सो समयका लागि उक्त प्रणाली आफैंमा राम्रो थियो। प्रणालीमा रहेको गतिशीलताका आधारमा परिमार्जन गर्न सकिने सुविधाले गर्दा प्रणाली समुन्नत हुँदै जाने सम्भावना थियो। त्यसैले बहस प्रणालीमा होइन, पात्रमा केन्द्रित गर्नुपर्छ। ३० वर्षमा जेजस्तो राजनीतिक उपलब्धि प्राप्त भएको छ, त्यसका लागि राजनीतिका पात्रहरूको साहस, सीप र सफलतालाई कम भन्न मिल्दैन। तर हरेक प्रस्थान बिन्दुमा सत्ताको नेतृत्व गरेका पात्रहरूको भने प्रशंसा गर्ने बलियो आधार स्थापित हुन सकेको छैन। किनभने उनीहरूले पूरै अवधि सरकार चलाउन त सकेनन्। आफ्नै दलबाट सक्षम व्यक्ति अघि सारेर जनताले दलप्रति दर्शाएको अटुट विश्वास पनि जोगाउन सकेनन्। इतिहास के कुराको साक्षी छ भने राजनीतिक परिवर्तनका लागि सबै पात्र एकै ठाउँमा उभिएर संवाद, सहमति र सहकार्यको संस्कारबाट साहसिक निर्णयमा जुटेका कारण सफलता सम्भव भएको हो।
सरकार चलाउने कुरामा भने त्यो संस्कार व्यवहारमा लागू हुन सकेन। निर्वाचनताकाको प्रतिस्पर्धाको मनोविज्ञान सत्ता सञ्चालनमा पुगेपछि पनि कायमै रहेको पाइन्छ। जसले बलियो जगमा बनेका सरकार पनि समय नपुग्दै ढल्ने क्रम जारी छ। सरकार चलाउने प्रमुख पात्रले समयमा नतिजा दिन आफ्नो चरित्र, क्षमता र निष्ठापूर्वक कार्यसम्पादनमा निकै खरो उत्रनु पर्ने हुन्छ। सरकारमा पुगेपछि नेतृत्वले बोल्ने कुरा नतिजाले बोल्न सक्नुपर्छ। नतिजाको साक्षात्कार जनतासँग हुने भएकाले जनताले नै नतिजाको आधारमा नेताको मूल्यांकन गर्ने गर्छन्। बितेको समयलाई फर्केर हेर्दा २०४७, २०६३ र २०७२ का संविधानले तत्तत् समयको परिस्थितिलाई सम्बोधन गर्ने गरी जारी भएका हुन्। उल्लेखित संविधानले स्थापना गरेका प्रणालीको कार्यान्वयन सफलतापूर्वक भएको भए मुलुक वर्तमान अवस्थाभन्दा धेरै राम्रो अवस्थामा उक्लिसकेको हुन्थ्यो। तर जनताको आकांक्षा अधुरै रहने स्थिति पैदा भएको छ।
प्रणाली र पात्रबीचको सन्तुलनले सिंगापुर विकसित हुन सकेको हो। त्यहाँका राष्ट्रपति लिक्वान यु सफल राजनेताको रूपमा जनताको हृदयमा बस्न सकेका हुन्। मलेसियाका राष्ट्रपति महाथिर मोहम्मदले पनि प्रणालीलाई असल पात्र भएर अभ्यास गरेका कारण विकास सम्भव भएको हो। विश्व अर्थ व्यवस्थामा जबर्जस्त पहिचान बनाइरहेका चीन र भारतमा पनि प्रणाली र पात्रबीच सन्तुलन मिलेको देखिन्छ। पछिल्लो ३० वर्ष वर्तमान पुस्ताका नेताहरूले नै राजनीति हाँकिरहेका छन्। राजनीतिक परिवर्तनका लागि नेताहरू मिलेर काम गर्दा धेरै राम्रो नतिजा प्राप्त भएको हो। विशेषतः प्रस्थान बिन्दुमा अवसर पाएकाहरूले क्षमता प्रदर्शन सकेनन्। त्यसैले नेपालका नेताहरूलाई व्यवस्था परिवर्तन गर्न सक्ने तर व्यवस्थापन गर्न नसक्ने भनेर चित्रण गर्ने गरिन्छ। पटकपटक परीक्षणमा उत्रेर आशातीत नतिजा दिन नसकेपछि योग्य उत्तराधिकारी खोज्ने र विश्राम लिनु श्रेयस्कर हुन्छ। तर समकालीन नेतामा त्यस्तो मनोविज्ञान सक्रिय भएको देखिँदैन। यही यथार्थले प्रणाली पात्रसँग थाकेको अवस्था उत्पन्न भएको छ।
नेताको उदय जनताका माझबाट हुन्छ। जसरी दूधको माथि तर लाग्छ त्यसरी नै जनताको माझबाट नेताहरू उदाउँछन्। नेता सफल हुन दूरदृष्टि, निर्णय र कार्यान्वयन (भिजन, डिसिजन र एक्सन) को क्षमता चाहिन्छ। ज्वेल बार्कर नाम गरेका विद्वान्ले भिजन छ, एक्सन छैन भने दिवास्वप्न र एक्सन छ भिजन छैन भने समय र स्रोतको बर्बाद हुने बताए। नेपालका नेताहरूको कसैमा भिजन र कसैमा एक्सनको क्षमता छ। त्यसैले भिजन, डिसिजन र एक्सनमा अब्बल नेता मुलुकका लागि आवश्यक छ। मुलुकले बहुदलीय प्रणाली अवलम्बन गरेकाले सत्तामा पुग्न निर्वाचनका समयमा दलहरूका उम्मेदवारबीच हुने प्रतिस्पर्धा निकै कडा हुने गर्दछ। दलीय प्रणालीमा नेताउपर कार्यकर्ताको अटुट विश्वास रहन्छ। नेताका अभिव्यक्तिलाई कर्तलध्वनिले समर्थन र स्वीकार गर्ने अनुशासन कार्यकर्तामा हुन्छ। यसो हुनु स्वाभाविक हो। तर यत्तिले मात्र पुग्दैन।
नेपालमा प्रत्येक निर्वाचनको नतिजा कुनै पात्रको निरन्तरताभन्दा नयाँ पात्रको खोजीमा आउने गरेको दृष्टान्त छ। यसबाट पनि प्रणाली चलाउन सक्षम पात्रको खाँचो रहेको तथ्य स्पष्ट हुन्छ। तर पनि तथ्य, तर्क र तस्बिरले कमजोर प्रमाणित भइसकेर पनि आफूलाई सधैं सक्षम बताइरहने विचित्रको स्वभाव नेपालका नेताहरूमा कायमै छ। शासन चलाउन परिस्थितिको जानकारी हासिल गर्नु नेतृत्वका लागि साह्रै महŒवपूर्ण विषय हो। नेताले हेर, सुन, बुझ र हाँक (लुक, लिसन, लर्न एन्ड लिड) को नियम अनुसरण गर्नुपर्छ। नतिजा बोल्न थालेपछि नेताहरूप्रति प्रश्नहरू घट्दै जाने र प्रशंसा बढ्दै जाने स्थिति बन्छ। तर नतिजा बोल्ने ठाउँमा मुखले नै बोल्न रुचाउने नेताहरूको आदत छ।
नेपालका राजनीतिक दलहरू आत्मसमीक्षामा कमजोर छन्। ऐना नहेरी अनुहार सफा राख्न सकिँदैन भनेजस्तै समीक्षा नगरी सुधार गर्न सकिँदैन। पात्रमा भएको कमजोरीलाई बेवास्ता गरेर प्रणालीमै खोट देखाउन उद्यत् हुने हो भने आगामी दिन पनि उत्साहजनक हुने छैनन्। त्यस्तो अवस्था अस्थिरतामा रमाउनेका लागि नै सहयोगी हुनेछ। अतः स्थिर राजनीतिक प्रणालीका माध्यमबाट सुशासन, विकास र समृद्धिलाई सफलतापूर्वक हाँक्दै जनताको जीवनस्तर माथि उठाउँदै मुलुकको परिचय, प्रतिष्ठा र प्रसिद्धि फैलाउने कार्यमा सक्षमता प्रमाणित गर्न सरकार हाँक्ने पात्रहरू नै सक्षम हुन जरुरी छ।
प्रतिक्रिया दिनुहोस !
