जलमग्न वागमती नदी किनारका बस्ती (फोटो)
काठमाडौं : गएरातिको अविरल वर्षाले काठमाडौं उपत्यकामा ३८५ घर डुबानमा परेका छन् भने २४७ जनाको उद्धार गरिएको छ। महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले काठमाडौँको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, बोडेफाँट, सुकुम्बासी बस्ती तथा ललितपुरको सानेपा, कालोपुललगायतको क्षेत्र डुबानमा परेको जानकारी दिए।
काठमाडौँबाट २३२ र ललितपुरबाट १५ मजदुरको उद्धार गरिएको उनले बताए। विशेष गरी नदीको वरपरका क्षेत्र डुबानबाट प्रभावित भएको जनाइएको छ। अहिलेसम्म डुबानबाट मानवीय क्षति नभएको प्रहरीको भनाइ छ।
गोकर्णेश्वर उत्तरवाहिनी क्षेत्र डुबान
अविरल वर्षाले वाग्मतीको किनारमा रहेको गोकर्णेश्वर महादेव मन्दिर र उत्तरगया क्षेत्र डुबानमा परेको छ। मन्दिरमुनिको चौर डुबानमा परेपछि दिवङ्गत पितृका नाममा भाद्रकृष्ण औँसीमा श्राद्ध गर्न आउने भक्तजन प्रभावित भएको गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले बताए। गोकर्णेश्वर महादेव मन्दिरबाट उत्तरवाहिनीसम्म अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले निर्माण गरेको सिँढी भरिएर बाहिर पानी आउँदा यो क्षेत्र डुबानमा परेको हो।
पानीसँगै आएको बाढीले यस क्षेत्रको सडक पनि बिगारेको छ। जोरपाटी सुन्दरीजल सडक विस्तारका क्रममा ठाउँ ठाउँमा अलपत्र रहेको भाग बाढीले प्रभावित भएको छ। अधिकांश भित्री सडक जलमग्न भएको छ।
यसैगरी रुद्रमतीमा आएको बाढीले रातोपुल मैतीदेवी क्षेत्रका केही घरसमेत डुबानमा परेका छन्। आइतबार रातिदेखि सोमबार बिहानसम्मको वर्षाले उपत्यकाका धेरै स्थान प्रभावित भएको छ।
- तस्बिरहरु : दीपेन श्रेष्ठ/अन्नपूर्ण






प्रतिक्रिया दिनुहोस !