भारतीय धर्मगुरु मुरली बाख्खुसहितको टोली मुस्ताङमा
![भारतीय धर्मगुरु मुरली बाख्खुसहितको टोली मुस्ताङमा](https://annapurnapost.prixacdn.net/media/albums/dharmaguru-at-mustang_20211006091715_977vUSxntg.jpg)
जोमसोम : भारतीय धर्मगुरु मुरली बाख्खु उर्फ मुरली बाबासहितको जम्बो टोली बुधबार मुस्ताङ पुगेका छन्। मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथक्षेत्रको पुराङ रानीपौवास्थित सामुदायिक भवनको हलमा रामकथा वाचन गर्ने उद्देश्यले भारतीय धर्म गुरु बाख्खुसहितको करिव एक सय भन्दा बढीको टोली मुस्ताङ पुगेको हो।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी आशिष अधिकारीका अनुसार धर्मगुरु बाख्खु र उनका केही सहयोगी टोली एभरेष्ट एयरको हेलीमार्फत मुस्ताङका आईपुगेको जानकारी दिए। यस्तै,अन्य धार्मिक अभियान्ता तथा सहयोगीहरु समेत पोखरा-काठमाडौंबाट समिट एयरको जहाज चार्टर उडान गरी जोमसोम पुगेका हुन्।
जहाजबाट जोमसोम आईपुगेका उनीहरुलाई जोमसोमबाट सिम्रिक एयरको हेलीमार्फत बिहान ९ बजेदेखि ११ बजेसम्म आलोपालो गरी मुक्तिनाथ अवतरण गराईएको थियो।
कोरोना माईरसको दोश्रो भेरियन्टपछि मुस्ताङमा निषेधाज्ञा खुकुलो भएको र मुक्तिनाथ मन्दिरसमेत खुल्ला भएको अवस्थामा भारतीय जम्बो टोली मुस्ताङ आएको हो। मुक्तिनाथ रानीपौवास्थित सामुदायिक भवनमा असोज २१ गते असोज २९ गतेसम्म नियमित रुपमा धार्मिक अनुष्ठान कार्यक्रममा धर्मगुरु मुरली बाख्खुले राम कथा बाचन र पुजापाठ गर्ने कार्यक्रम तय भएको छ।
भारतीय टोलीले मुक्तिनाथ परिसर भन्दा बाहिर कार्यक्रम गर्ने भएकाले यसलाई अर्थपूर्ण रुपमा समेत हेरिएको छ।
राम कथा बाचनका लागि आएको भारतीय जम्बो टोलीले मुक्तिनाथ रानीपौवास्थित होटल ग्राण्ड साम्वला र युरिका होटल समेत ९ दिनका लागि बुकिङ गरिसकेको ग्राण्ड साम्वलाका प्रोपाईटर सुरज गुरुङले जानकारी दिए। यसअघि टोलीका केही प्रतिनिधि मुस्ताङ आएर कार्यक्रमको ब्यवस्थापन गरिसकेको जनाईएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)