विश्व हवाई क्षेत्रमा आशाका किरण
काठमाडौं : विश्व हवाई क्षेत्रका लागि सन् २०२० इतिहासकै खराब वर्ष बन्यो। कोभिडका कारण विश्वका लामो र छोटो दूरीका हवाई सेवा प्रायः ठप्प भए। ‘व्यस्त’ विमानस्थलहरू सुनसान बने। हवाई सेवाले खर्बौैं डलर आर्थिक संकटको सामना गर्नुप¥यो। यो वर्ष विश्व हवाई सेवा ६६ प्रतिशतले घटेको थियो।
यो वर्षको अन्तिमसम्ममा भने विश्व हवाई सेवा १८ प्रतिशतले बढ्ने अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आइटा) ले जनाएको छ। कोभिडविरुद्धको खोप, सर्वसाधारणमा बढेको आत्मविश्वास र विभिन्न देशको प्रयासका कारण हवाई क्षेत्रमा सुधार आउने आइटाको अनुमान छ।
सन् २०२० मा यात्राबाट बञ्चित विश्वको ठूलो संख्याले यो वर्ष हवाई यात्रा गर्न सक्ने आइटाको भनाइ छ। ‘तर, सबै देशले हवाई प्रतिबन्ध फुकुवा गर्न नचाहेको र पूर्ण रूपमा कोरोना नियन्त्रण हुन नसकेका कारण पूर्णरूपमा सञ्चालन नहुन सक्छ,’ आइटाले भनेको छ।
कोभिडविरुद्धको खोपको पर्याप्तता र विभिन्न देशले हवाई सेवामा लिने सरकारी नीतिले सन् २०२२ मा हवाई क्षेत्र कस्तो रहने भन्ने निर्धारण हुनेछ। यद्यपि सो वर्ष ५१ प्रतिशतले सुधार हुने अनुमान आइटाको छ। यो समयमा विश्वको आन्तरिक हवाई बजार पनि पुरानै लयमा फर्कने आइटाको विश्वास छ।
हवाई कम्पनीहरूले आर्थिक दबाब भने थेग्नुपर्ने छ। चर्को प्रतिस्पर्धाका कारण यात्रुलाई छुटसहितका आकर्षक प्याकेज ल्याउनुपर्ने हुँदा हवाई कम्पनीहरूले वास्तविक लागत पाउने छैनन्। तर, पनि विश्व व्यापार बलियो रहने र यसबाट एयर कार्गो भोल्युम पनि बढ्ने आइटाको विश्वास छ। घरेलु बजार ठूला भएका, खोपको मात्रा पूरा गरेका र हवाई सेवा खुकुलो बनाएका देशमा अरूभन्दा छिटो रिकभरी हुने आइटाको भनाइ छ।
विश्व उड्डयनको क्षेत्रगत अवस्था
कोभिडको समयभन्दा अघि उत्तर अमेरिकाले हवाई क्षेत्रमा राम्रो आम्दानी गरेको थियो। सन् २०२२ मा पनि मुनाफा आर्जन गर्ने पूर्वानुमान गरिएको छ। यसका लागि उसको घरेलु बजार नै प्रमुख सहयोगी बन्ने आइटाको अनुमान छ। यसबाहेक, क्षेत्रीय यातायातमा पिक–अप (उत्तरी अमेरिकाबाट ल्याटिन अमेरिका) र उत्तरी एटलान्टिक यात्राको पुनः उद्घाटन सहयोगी बन्ने छ।
यस्तै, अन्तर युरोपेली बजारको रिकभरी गति पनि बढ्ने अपेक्षा गरिएको छ। तर, यस क्षेत्रका एयरलाइन्स मध्यम/लामो दूरीको अन्तर्राष्ट्रिय सेवामा निर्भर छन्। त्यसैले सन् २०२१ मा यस क्षेत्रका लागि कुल घाटा २०.९ बिलियन डलर हुने अनुमान छ।
यता, एसिया प्रशान्त क्षेत्रका हवाई उद्योगहरू कडा सरकारी नीतिका कारण प्रभावित हुँदै आएका छन्। यहाँका देशहरूमा हवाई प्रतिबन्ध धेरै कडा भएको र खोप रोलआउट पनि धेरै ढिला भइरहेको आइटा बताउँछ। सन् २०२१ मा यहाँको उड्डयन क्षेत्रमा कुल ११.२ बिलियन डलर घाटा रहनेछ। आगामी वर्ष केही सुधार भई घाटा २.४ बिलियन डलरमा सीमित रहनेछ।
मध्यपूर्वी एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानको सीमितता र ठूलो घरेलु बजारको अभाव छ। त्यसैले यस क्षेत्रको रिकभरीमा ढिलाइ हुने आइटाको अनुमान छ। आगामी वर्ष ६ बिलियन डलर घाटा बेहोर्नुपर्ने अनुमान गरिएको छ।
ल्याटिन अमेरिकामा भने अन्तर क्षेत्रीय यातायात चाँडै सुध्रिने अनुमान गरिएको छ। तर, केही एयरलाइन्सहरू पुनर्गठन प्रक्रियामा रहेकाले वित्तीय सुधार ढिलो हुनेछ।
यो क्षेत्रले सन् २०२२ मा ५.७ बिलियन डलरको घाटालाई कम गरी ३.७ बिलियन डलरमा झार्नेछ। अफ्रिका क्षेत्र खोप रोल आउटमा पछि छ। जसले अन्तर्राष्ट्रिय यात्रा रिकभरीलाई असर पार्नेछ।
सरकारको सहयोग
कोभिडका कारण सबैभन्दा बढी उड्डयन क्षेत्र प्रभावित बन्यो। यसैकारण विभिन्न देशले महामारी सुुरु भएयता हवाई उद्योगका लागि आर्थिक सहायता गर्दै आएका छन्। यस क्षेत्रको पुँजीवृद्धि, अनुदान, करको भुक्तानी र कर दायित्व घटाउने काम विभिन्न देशले गरेका थिए। २०२१ को सेप्टेम्बर अन्त्यसम्ममा विश्वको कुुल सरकारी सहायता २ सय ४३ बिलियन डलर पुुगेको छ। अमेरिका, युरोप र एसियाका केही देशमा हवाई सेवामा सरकारी सहयोग पर्याप्त देखिन्छ। तर, ल्याटिन अमेरिका र अफ्रिकामा न्यून छ।
एयरलाइन्सको लगानी र राजस्व
एयरलाइन्स कम्पनीहरू कोभिड अघि पर्याप्त राजस्व संकलन गर्दै आएका थिए। महामारीभन्दा चार वर्ष पहिले उत्तर अमेरिका र युरोपका हवाई सेवाले लगानीकर्ताहरूलाई पुँजीको लागतभन्दा बढी रकम प्रदान गर्दै आएका थिए। कोभिड महामारी यता धेरै परिवर्तन आएको छ। विश्व उड्डयन क्षेत्रमा २०१९ सम्ममा २.९३ मिलियनले रोजगारी पाएका थिए। तर, कोभिडपछि १५.६ प्रतिशतले रोजगारी गुमाएको आइटाको अध्ययनमा छ।
कोभिडमा हवाई इन्धनको मूल्य उच्च
कोभिड सुरु हुनु अघिको वर्ष विश्व उड्डयन क्षेत्रले ३ सय ५९ बिलियन लिटर हवाई इन्धन खपत गरेको थियो। त्यति इन्धन खपत हुँदा १ सय ८६ बिलियन डलर खर्च भएको थियो।
तर, २०२० मा इन्धन खपत ४५.३ प्रतिशतले घट्न पुग्यो। यो वर्ष हवाई इन्धनको मूल्य बढेको छ। अहिले प्रतिब्यारेल ७४.५ डलर छ। जबकि सन् २०२० मा ४६.६ डलर प्रतिब्यारेल थियो। सन् २०२२ मा ७७.८ डलर प्रतिब्यारल पुग्ने आँकलन गरिएको छ।
प्रतिक्रिया दिनुहोस !