बालबालिकालाई श्वासको समस्या
पोखरा : नवलपुर डेडगाउँका मीनबहादुर मगरकी एक महिनाकी छोरीलाई घाँटी घ्यारघ्यारसँगै हल्का ज्वरो देखियो। नजिकैको मेडिकलमा जँचाए। औषधि खुवाए। तर, सुधार नभएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याए। मीनबहादुर ४ दिनदेखि छोरीको श्वास–प्रश्वासको उपचार गराइरहेका छन्। विस्तारै सुधार भइरहेको उनले सुनाए।
तनहुँको शुक्लागण्डकी–३ का कमलबहादुर बिकले १४ महिनाको छोरा उपचारका लागि अस्पताल ल्याएका छन्। उनको छोरामा पनि श्वास–प्रश्वासमा समस्या देखिएको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा भदौ १५ गतेदेखि श्वास–प्रस्वासमा समस्या देखिएका बालबालिकाको चाप बढेको हो। शनिबार ५ जना यस प्रकृतिका बिरामी (बालबालिका) भर्ना भएको अस्पतालका बाल रोग विभाग प्रमुख डा. रामचन्द्र बास्तोलाले जानकारी दिए। ४ जनालाई अक्सिजन नै दिएर उपचार गर्नु परेको बास्तोला बताउँछन्।
बालबालिकामा रुघा, खोकी, छिटोछिटो श्वास फेर्ने, ज्वरो आउने समस्या बढी छ। तर, पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ देखिएको छ। के कारणले संक्रमण भयो भन्ने एकिन गर्न स्याम्पल काडमाडौं पठाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक खिमबहादुर खड्काले जानकारी दिए। निमोनिया, कोखा हान्ने, श्वासप्रश्वासमा समस्या हुने, निलोपनसमेत देखिएपछि कतिपयलाई भेन्टिलेटरमै राखेर उपचार गर्नुपरेको अस्पतालले जनाएको छ। श्वास–प्रश्वाससम्बन्धी समस्या भएका ३ सय १७ जना बालबालिकाको उपचार गरिएकोमा जटिल किसिमको निमोनियाको समस्या भएर उपचार गर्न आएका ३ जनालाई बचाउन नसकिएको बास्तोलाले सुनाए।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराउन नसक्ने नागरिकका बालबालिकाको निःशुल्क उपचार हुनु, अक्सिजनको प्रतिदिन १ सय रुपैयाँ बाहेक अन्य खर्च नलाग्ने भएकाले पनि बिरामीको चाप बढ्ने गर्छ। गण्डकी मेडिकल कलेजमा पनि उस्तै प्रकृतिको समस्या देखिएर उपचार गर्न आउने बालबालिकाको संख्या धेरै रहेको बालरोग विशेषज्ञ डा. बन्दना श्रेष्ठले बताइन्।
मौसम परिवर्तनका कारण चिसोको एलर्जीले गर्दा ४ वर्षमुनिको बच्चामा यस्तो समस्या देखिएको फिस्टेल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा. भाइरत्न शाक्य बताउाछन्। ‘चिसो र एलर्जीले श्वासनली खुम्चिएर अक्सिजन आपूर्ति कम हुँदा श्वास–प्रश्वास बढ्दै जाने समस्या हुन्छ,’ शाक्यले भने, बिहान तीन–चार बजे झ छिटो चिसोले भेट्न सक्छ।’
प्रतिक्रिया दिनुहोस !