३०३ वर्ष पुरानो स्कुलमा राष्ट्रपतिको भ्रमण (तस्बिरसहित)
मटिहानी : महोत्तरीको मटिहानीमा रहेको ३०३ वर्ष पुरानो गुरुकुलको राष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन भ्रमण गरेकी छन्। उनले राजकीय संस्कृत माध्यमिक विद्यालय(गुरुकुल)ले देशभर समाजिक सद्भाव बढाइरहेको बताइन्।
प्राचीन राजकीय संस्कृत विद्यालयको भ्रमण गर्दै उनले विद्यलायको जीर्णोद्धारमा राज्यले ध्यान दिनु पर्ने बताइन्। मटिहानीको शिक्षा, संस्कृति, पौराणितकता बारे अन्नपूर्ण पोस्ट्ले निरन्तर समाचार प्रकाश गर्दै आएको छ।
वि.सं. १७७३ मा स्थापित भएको देशकै जेठो गुरुकुलको भ्रमणपश्चात राष्ट्रपति भण्डारीले राष्टपति शैक्षिक सुधार कार्यक्रमबाट विद्यालय विकासमा सहयोग गर्ने आश्वासन दिइन्।‘देशभर यो गुरुकुलले शिक्षाको ज्योति फैलाउने काम गर्यो। म यसको उच्च प्रशंसा गर्दछु। यो प्रचीन गुरुकुलले तराई, पहाड र हिमालको भूगोल सम्बन्धलाई समाजिक सद्भाव तथा भावनात्मक रुपमा जोड्ने समेत काम गरिहेको छ’, राष्ट्रपति भण्डारीले भनिन्,‘यो गुरुकुलले बालगुरु षडानन्द जस्ता विद्वान, विदुषी जन्मायो। त्यसैले मटिहानी भूमी प्राचिन ज्ञानभूमि, तपोभूमि हो। यहाँको विकास बारे राज्यले ध्यान दिनु पर्छ।’ विद्यालयको विकासका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा पेश गर्न विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेललाई उनले निर्देशन दिइन्।
सोमबारै उनले मटिहानीस्थित साढे ५ सय पुरानो लक्ष्मीनारायण मठको पनि अवलोकन भ्रमण गरिन्। लक्ष्मीसागरमा आरतीमा सहभागी हुँदै उनले मठभित्र रहेको लक्ष्मीनारायण मन्दिरमा पूजाअर्चना गरिन् ।
जनकनन्दी सिताको पावन भूमि रहेको मिथिला सबैको प्रेरणाको स्रोत मटिहानी रहेको राष्टपतिले बताइन्। सोमबार दिउँसो राष्ट्रपति भण्डारीले ऐतिहासिक, पुरातात्विक जलेश्वरनाथ महादेव मन्दिरको दर्शन गरि पूजा अर्चना समेत गरेकी थिइन् । जलेश्वरनाथ महादेव मन्दिर मिथिलाका राजा जनकको इष्ट देव हुन्।
नगरपालिकाद्वारा निर्मित मटिहानी रङ्गशालाको समेत राष्टपतिले समुद्घाटन गरिन् । राष्टपतिले खेल मानव जीवनको अभिन्न अंग रहेको उनले बताइन्। विद्यार्थी र युवाको खेल क्षेत्रमा बढिरहेको आकर्षणलाई रंगशालाले सहयोग पुर्याउने विश्वास व्यक्त गरिन् । बालविवाह, बोक्सी प्रथा, अनमेल विवाह र अशिक्षाले प्रदेश २ को विकास चुनौतीपूर्ण रहेको राष्टपति भण्डारीले बताइन् ।
अन्नको भण्डार मधेशका उर्वरभूमि रहेको तर चुरे दोहनले मधेशको जीवन संकटमा पर्दै गएकोले चुरेको संरक्षण गर्नु नै मधेशको संरक्षण हुने उनले औंल्याइन् ।
प्रदेश २ सरकारले संचालन गरेको ‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियान असाध्यै राम्रो रहेको राष्ट्रपति भण्डारीले बताइन् । यो अभियानमा संघ सरकार र प्रदेश सरकारबीच समन्वयन गरेर देशैभरि लैजानु पर्ने आवश्यकता रहेको बताइन् ।
कार्यक्रममा प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री लालबाबु राउत, लोसपाका अध्यक्ष महन्थ ठाकुर, प्रतिनिधिसभा सद्स्य चन्दा चौधरीलगायतको उपस्थिति रहेको थियो। मटिहानी नगरपालिकाको लागत अनुमान १ करोड १० लाख र प्रदेश २ सरकारको लागत अनुमान रु २० लाखमा रंगशाला निर्माण सम्पन्न भएको हो। ५० जना अटाउने मंच र करिव २० हजार दर्शक अटाउने रंगशालाको क्षेत्रफल १ बिघा १० कठ्ठा १० धुर रहेको मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले बताए।