उत्तरी गोरखामा बल्ल चल्यो मोबाइल फोन
गोरखा : सूचना र प्रविधिको यत्तिका विकास भइसक्दा उत्तरी गोरखामा भने बल्ल मोबाइल सेवा सञ्चालन भएको छ। तिब्बती सीमानामा रहेको चुमनुब्री गाउँपालिकामा मंगलरबारदेखि फोरजी मोबाइल सेवा सुरु भएको नेपाल टेलिकम गोरखा वितरण केन्द्रका प्रमुख राजेन्द्र श्रेष्ठले जानकारी दिए।
उनका अनुसार न्याकमा रहेको फोरजी टावरबाट सेवा सुरु भइसकेको छ। त्यहाँबाट गाउँपालिकाको केन्द्र फिलिम लगायत एकदर्जनभन्दा धेरै गाउँमा मोबाइल सेवा सुरु भएको छ। ‘फोरजीबाट डाटा र टुजीबाट फोन सेवा सुरु भइसकेको छ’, श्रेष्ठले भने, ‘छेकम्पारमा रहेको टावर र बिहीमा रहेको टावरले मंगलबार बेलुका वा बुधबार बिहानबाट सेवा सुचारु हुनेछ।’
पहिलोपटक मोबाइलमा बोल्न पाउँदा गाउँमा मान्छे धेरै खुशी भएको चुमनुब्री ६ लोक्पाका सेराप गुरुङले बताए। ‘अब त मेलापातमा खेताला भन्न पनि धाइधाइ घरघर चाहार्न नपर्ने भयो’, उनले भने, ‘देश विदेश गएका आफन्तसित पनि घरमै बसीबसी बोल्न पाइने भयो। कतै घटना दुर्घटना भयो भने पनि प्रहरीलाई, पत्रकारलाई छिट्टै जानकारी दिन पाइने भयो।’
न्याकस्थित फोरजी टावरले अहिलेसम्म मोबाइल सेवा लिन नपाएका न्याक, न्याकफेदी, पेवा, लोक्पा, ड्याङ, चुम्चेतलगायतका गाउँमा सेवा प्रवाह गरेको छ।
‘पहिलोपल्ट गाउँमा मोबाइल चलाउन पाउँदा हामी असाध्यै खुशी छौँ’, न्याक गाउँका सूर्य गुरुङले भने, ‘काम नभए पनि नजिक–नजिकमा पनि फोन गरेर बोलाएर युवा युवतीहरु खुशीयाली मनाइरहेका छन्।’ सदरमुकाम लगायतका ठाउँ जाँदा मात्र चलाउने र घर फर्केपछि थन्क्याएर राख्ने मोबाइल अब गाउँमै चलाउन पाउने भयौँ भनेर सबै खुशी भएको उनले बताए।
‘गाउँमा मोबाइल सेवा सञ्चालन गर्नपर्यो भनेर पाँच, छ वर्षदेखि धाउँदा–धाउँदा बल्ल फोन चलाउन पाइयो’, उनले भने।
चुमनुब्री वडा नं. ७, छेकम्पारस्थित टावर सञ्चालन भएपछि साविक छेकम्पार गाविसका एक दर्जन गाउँ र वडा नं. ५ बिहीको टावर चलेपछि साविक बिही गाविस र साविक प्रोक गाविसका गाउँका बासिन्दाले पनि मोबाइल सेवा पाउनेछन्।
गाउँमा फोरजी र टुजी सेवा सञ्चालन भएपछि देश विदेशमा भएका कुराहरु तत्काल थाहा पाउने र गाउँका सबै कुराहरु पनि अन्यत्रका मान्छेले थाहा पाउने वडा नं. ६ का वडाअध्यक्ष लोप्साङ फुञ्जो लामा बताउँछन्। ‘आजको दुनियाँमा पनि मोबाइल चलाउन नपाउँदा अँध्यारो जस्तै थियो’, उनले भने, ‘अब त पक्कै पनि गाउँका मान्छेमा केही न केही चेतनाको विकास हुनेछ।’
चुमनुब्री गाउँपालिकाको केन्द्र फिलिममा पहिलोपल्ट फोरजी र टुजी सेवा सुरु भएपछि गाउँले एकैठाउँमा भेला भएर रमाइलो गरेको पाङसिङका वुद्ध गुरुङले बताए। ‘मनास्लुमा यात्रा गर्ने पर्यटकले पनि अब सबै कुनाकाप्चार र बाटोहरुमा मोबाइल सेवा पाउने भए’, उनले भने।
प्रतिक्रिया दिनुहोस !