फेवा किनारमा सडक महोत्सव सुरु, कोरोनाविरुद्ध खोपको पनि व्यवस्था
पोखरा : कोभिडले थला परेको पर्यटन उद्योगलाई चलायमान बनाउन पोखराको फेवाताल किनारमा बिहीबार देखि महोत्सव शुरु भएको छ । रेस्टुेरेन्ट एन्ड बार एसोसियसन (रेवान) पोखराको आयोजनामा २३औं संस्करणको सडक महोत्सव शुरु भएको हो ।
डिसेम्बर महिनादेखि जनवरीसम्म अफ सिजनमा सडक महोत्सव आयोजना गरी विदेशी र स्वदेशी पर्यटकलाई अंग्रेजी नयाँ वर्ष मनाउने गन्तव्यस्थलको रुपमा विकास गर्न २३ वर्ष देखि महोत्सव आयोजना हुँदै आएको हो । पछिल्लो समयमा अफ सिजन मानिएको डिसेम्बर देखि जनवरीसम्म चिनियाँ र भारतीय पर्यटकको आगमन बढेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । भारतले लगाएको लकडाउन, भूकम्प र कोभिडपछि पर्यटक आउने लय रोकिएपनि पर्यटन व्यवसायी निरन्तर पर्यटक आकर्षण गर्न सडक महोत्सवलाई निरन्तरता दिएका छन् ।
नेपाल आएका पर्यटक नयाँ वर्ष मनाउन भारतको गोवा लगायतका क्षेत्र जाने क्रम रोकेर पोखरामै नयाँ वर्ष मनाउन शुरु भएको सडक महोत्सव कोरोना संक्रमणपछि आन्तरिक पर्यटक र भारतीय पर्यटकको आकर्षण बन्दै गएको छ । यति बेला पनि पोखरामा भारतीय पर्यटक मुक्तिनाथ दर्शन गर्न जान आउने क्रम चलीरहेको छ । विद्यार्थीको शैक्षिक भ्रमण, युवायुवतीको घुमघाम गर्न पोखरा आउने क्रम बढेकोले उत्साहित पर्यटन व्यवसायी सडक महोत्सवको तीन दिन पर्यटकको चहलपहल ल्याउने विश्वासमा रहेको छन् ।
सन् २०२२लाई स्वागत गर्ने गरी सडक महोत्सवको शुरु भएको रेष्टुरेण्ट एन्ड वार एसोसियसन (रेवान)पोखराका अध्यक्ष लक्ष्मण बरालले बताए । कोभिडले थला परेको पर्यटन उद्योगलाई उठाउन सडक महोत्सव सहयोगी हुने विश्वास अध्यक्ष बरालले गरे ।
विगतका वर्ष झै यस वर्ष पनि सडकमै नेपाली परम्परागत सांस्कृतिक कार्यक्रम, झाँकी प्रस्तुत गरीने महोत्सवका संयोजक नरेश भट्टराईले बताए । डिसेम्बर महिनाको ३०, ३१ र सन् २०२२ को पहिलो दिन (पुस १५ देखि १७ गते)सम्म सडक महोत्सवको आयोजना हुने संयोजक भट्टराईले बताए । सडक महोत्सवका नेपाली उत्पादनका हस्तकला, कृषिजन्य समानका स्टल पनि राखिने छ । स्वदेशी उत्पादनलाई प्रोत्साहान गर्न र युवा उत्पादनमा लाग्न प्रेरणा दिन निःशुल्क सडक किनारमा यस्ता स्टलको व्यवस्था गरिएको आयोजकले जनाएका छन् ।
लाइभ कार्यक्रम हुने कोमागाने पार्कका छुट्टै रेस्टेरेण्ट लगायत व्यवसायीक स्टल रहने संयोजक भट्टराईले बताए । पार्कमा लाइभ कन्सर्ट, दोहोरी गीत लगायतका सांस्कृतिक कार्यक्रम चल्ने छ । फेवाताल किनारको ३ किलोमिटर क्षेत्रमा सवारी साधन बन्द गरी तीन दिनसम्म हुने सडक महोत्सवकालागि होटल बुकीङ भइरेको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
पर्यटकलाई विभिन्न होटलहरुमा खाना बस्न प्याकेजको पनि व्यवस्था गरिएको छ । महोत्सवमा सडकमै विभिन्न सांस्कृतिक कार्यक्रमको अवलोकन गर्दै खानाका परिकारको स्वाद लिने गरी व्यवस्था गरिने आयोजकले बनाएका छन् । पछिल्लो समयमा पोखरा अंग्रेजी नयाँ वर्ष मनाउने गन्तव्य स्थलकोरुपमा विकास हुँदै गएको छ । स्वदेशी तथा विदेशी पर्यटकको महोत्सवमा बाक्लो उपस्थिति हुने गरेको छ ।
सडक महोत्सवमा कोरोना विरुद्धको खोपको व्यवस्था
महोत्सव स्थलमा कोभिड विरुद्धको खोप नलगाएका स्वदेशी र विदेशी पर्यटकलाई खोप लगाउने व्यवस्था मिलाईएको आयोजकल रेवानले पत्रकार सम्मेलनमा बताएको छ । गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय, पोखरा महानगरपालिकाको सहयोग र जिल्ला प्रशासन कार्यालय कास्कीको पहलमा आयोजक संस्था रेवानले कोरोना विरुद्धको एक डोज लगाए हुने जोनसोन एण्ड जोनसोन खोप लगाउने व्यवस्था मिलाइको रेवान पोखराका पूर्व अध्यक्ष समेत रहेका पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी बहादुर भट्टराईले बताए ।
महोत्सवमा स्वास्थ्य प्रोटोकल पुरा लागु हुने आयोजकले बताएका छन् । पाँच स्थानमा स्वास्थ्यका स्टल रहने छन् । सडक महोत्सवले पोखरा सुरक्षित र खुला छ भन्ने सन्देश दिने पोखरा पर्यटन परिषदका अध्यक्ष भट्टराईले बताए ।
प्रतिक्रिया दिनुहोस !