काम्दै पढ्छन् चेपाङ बालबालिका
चितवन : पुसको ठिराउँदो चिसो। च्यातिएका लुगाले राम्ररी शरीर ढाकेको थिएन। त्यसमाथि मैलोले काती परेको च्यातिएका लुगा। चिसोले कठ्यांग्रिँदै विद्यालय पुगेका थिए, चेपाङ बालबालिका। राप्ती नगरपालिका–१३ स्थित श्यामराङमा पुग्दा देखिएको विद्यार्थीको अवस्था हो, यो।
पहाडी भेगका चेपाङ बालबालिकाहरूको अवस्था नाजुक छ। चिसो बढेसँगै पठनपाठनमा समस्या छ। कतिपय विद्यालय जान पनि सक्दैनन्। आर्थिक अवस्था कमजोर भएपछि अभिभावकले कपडा किन्न सक्दैनन्। कक्षामा उनीहरू काम्दै पढ्न बाध्य छन्। खुट्टामा चप्पल छैन। चिसोले कक्षामा बसेर पढ्न सक्ने अवस्था नरहेको आधारभूत प्राथमिक विद्यालय सान्थलीका बालविकास कक्षाका शिक्षक गणेश चेपाङले बताए। ‘साना बालबालिका चिसोमा लगलग कामेर पढ्नै सकेका छैनन्। कक्षा कोठामा राखेर पढाउनै सकिन्न,’ उनले भने, ‘कसैले लुगा दिए पनि राहत हुन्थ्यो।’
त्यस्तै, पहाडी भेगमा अध्ययनरत बालबालिकाको पठनपाठन कष्टकर बनेको स्वीकार्छन्, आधारभूत विद्यालय दुङवाङका प्रधानाध्यापक अतिबल प्रजा। ‘न्यानो कपडा छैन। च्यातिएको लुगाको भरमा पढ्नुपर्ने अवस्था छ,’ उनले भने, ‘न्यानो कपडाको अभावमा जाडोमा काम्दै विद्यालय आउँछन्।’ चितवनका पहाडी क्षेत्रका अधिकांश चेपाङ समुदायका बालबालिकाको अवस्था ज्यादै दयनीय छ। उनीहरूलाई विद्यालयमा टिकाउनै गाह्रो छ। राप्ती १घ का वडा सदस्य लक्ष्मण चेपाङले बालबालिकाको सहयोग जुटाउन नसक्दा बालबालिकाको विचल्ली भएको बताए। ‘घरमा खानेकुरा छैन कपडा कहाँबाट किन्छन् र !,’ उनले भने, ‘न्यानो लुगा त हाम्रा लागि सपना जस्तै हो।’
विद्यार्थी पैदलै खाली खुट्टा विद्यालय पुग्छन्। फाटेका केही पुराना लुगा र खाली खुट्टाका भरमा पढ्न जान्छन्। परिवारको आर्थिक स्रोत छैन। त्यसैले पढाउन सक्दैनन्। कापी, कलम किनिदिन सक्दैनन्। एउटै लुगाको भरमा वर्ष दिन कट्छ। अभिभावक न्यानो लुगाको आशमा बसेका छन्।
प्रतिक्रिया दिनुहोस !