गोरखामा सरकारी सेवा लिन खोपकार्ड अनिवार्य
गोरखा : कोभिडको तेस्रो भेरियन्टको संक्रमण न्यूनीकरणका लागि भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले सरकारी सेवा लिनका लागि खोपकार्ड अनिवार्य गरेको छ। बुधबार जिल्ला प्रशासन कार्यालय गोरखामा भएको कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) र जिल्ला विपद् व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालयले उक्त सूचना जारी गरेको हो।
माघ ७ गतेदेखि सरकारी सेवा लिन खोपकार्ड अनिवार्य गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए। ‘खोप कार्डको फोटोकपी, कार्ड वा मोबाइलमा फोटो भए पनि हुन्छ’, उनले भने, ‘कोरोनाको खोप लगाएको प्रमाण नहुँदासम्म सेवा दिन सकिँदैन।’ खोप लगाउन बाँकी मानिस सेवा लिन आएमा उनीहरुको विवरण संकलन गर्ने र स्वास्थ्य कार्यालयको समन्वयमा खोप लगाउने ब्यवस्था गरिने उनले बताए।
बैठकले कोरोनाको खोप लगाउन छुटेकालाई स्थानीयतहले खोजी गर्ने र स्वास्थ्य कार्यालयले खोप उपलब्ध गराएर सबैलाई पूर्ण मात्रा खोप सुचिश्चित गर्ने निर्णय गरेको छ।
गोरखामा १८ वर्ष माथिका ९७ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् भने ७५ प्रतिशतले दोस्रो मात्रा लगाएका छन्। १२ देखि १७ वर्षका ८९ प्रतिशत बालबालिकाले पहिलो मात्रा खोप लगाएका छन्।
स्थानीय तहको वडाबाट सिफारिस लिँदा नै खोप लगाए नलगाएको पहिचान गर्न र नलगाएको भए लगाउने ब्यवस्था गर्न वडा, पालिकालाई अनुरोध गरिएको छ। ‘वडाबाटै खोप लगाएको, नलगाएको पहिचान भयो भने सेवाग्राहीले सदरमुकामसम्म आएर फर्कनु पर्दैन, दुःख पाउँदैनन्’, प्रजिअ आचार्यले भने।
खोप लगाएका र कार्ड नभएकाले तत्काल खोप लगाएको स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि प्रशासनले सुझाएको छ। अबदेखि २५ जना भन्दा बढी भेला हुन नपाइने भएको छ। कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण बढेसँगै पूर्व तयारीका लागि सचेत रहन भन्दै जिल्ला प्रशासन कार्यालय गोरखाले २५ जनाभन्दा धेरैजनालाई भेला नहुन अपिल गरेको हो।
सरकारी, राजनीतिक, सामाजिक खालका २५ जनाभन्दा बढी भेला हुने कार्यक्रम नगर्न अपिल गर्ने निर्णय बैठकले गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए।
कोरोनाको चेकजाँचलाई तीव्रता दिने, जिल्ला प्रवेश गर्ने नाकामा कडाई गर्ने, स्थानीय तहहरुले यसअघि निर्माण गरेको आइसोलेसन सेन्टरलाई व्यवस्थित गर्न अनुरोध गर्ने, खोप लगाउन छुटेकालाई खोजेर खोप कार्यक्रममा सहभागी गराउने निर्णय बैठकले गरेको छ। पहिलो मात्रा खोप लगाएपछि विद्यालय बन्द भएकाले सबैलाई दोस्रो मात्रा लगाउन जहाँ विद्यार्थी छन् त्यहाँ नै नजिकको विद्यालयमा लगाउने व्यवस्था मिलाउने निर्णय पनि भएको छ। होटल, रेष्टुरेन्टमा पनि खोप कार्ड अनिवार्य गरिएको छ।
सार्वजनिक सवारी साधनमा यात्रा गर्दा, व्यापार ब्यवशाय गर्दा अनिवार्य मास्क लगाउनुपर्ने, स्वास्थ्य सुरक्षाको मापदण्ड सबैले नियमित पालना गर्नुपर्ने अन्यथा संक्रामक रोग ऐन अनुसार कारवाही हुने प्रशासनले जनाएको छ।
सेवाग्राहीको भिडभाड हुने कार्यालयले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउन भूमिका खेल्ने, औषधी लगायत दैनिक उपभोग्य बस्तु तथा सेवाको आपूर्तिमा कालोबजार गर्ने, कृतिम अभाव सिर्जना गर्नेलाई कानुन अनुसार कारवाही गरिने प्रजिअ आचार्यले बताए।
प्रतिक्रिया दिनुहोस !