भनियो प्राथमिकता, व्यवहारमा सुस्तता
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा भनेका थिए–‘सरकारको पहिलो प्राथमिकता खोप, दोस्रो प्राथमिकता खोप र तेस्रो प्राथमिकता पनि खोप नै हो।’ यो साउन ३ गतेको कुरा थियो। प्रधानमन्त्री देउवाले त्यसको भोलिपल्ट उपत्यकाका केही खोप केन्द्र निरीक्षण गरे। तर, पुस महिनाभित्र दुईतिहाइलाई खोप लगाउने लक्ष्य नै पूरा हुन सकेन। चैतभित्र सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने लक्ष्य पनि चुनौतीपूर्ण देखिन्छ।
प्रमुख विपक्षी एमालेले प्रधानमन्त्री देउवाले प्रतिबद्धता जनाएअनुसार खोप लगाउन नसकेकोमा ध्यानाकर्षण गराएको छ। एमाले उपाध्यक्ष सुवास नेम्बाङको नेतृत्वमा स्वास्थ्य तथा जनसंख्या विभागले शनिबार प्रधानमन्त्रीलाई कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारबारे ध्यानाकर्षणपत्र बुझाएको हो।
‘प्रधानमन्त्रीज्यूले व्यक्त गर्नुभएको प्रतिबद्धताअनुसार खोप लगाउन सकिएको छैन’, ध्यानाकर्षणपत्रमा लेखिएको छ, ‘खोपको पर्याप्तता हुँदाहुँदै पनि जनताले प्रयोग गर्न नपाएको अवस्था छ। पहिले र दोस्रो खोप लगाएकाहरूलाई अबिलम्ब बुस्टर खोप उपलब्ध हुन सकेको छैन।’
स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखा प्रमुख सागर दाहालका अनुसार हाल दैनिक २ लाखभन्दा बढीले खोप लगाइरहेका छन्। ‘कहिलेकाहीं दैनिक साढे ३ लाख पनि पुग्छ’, दाहालले भने, ‘खोप अभियान बढाउँदै लैजानुपर्छ। यसमा स्थानीय तहको तदारुकता चाहिन्छ। आमजनताको पनि चासो र सहभागिता जरुरी छ।’
राष्ट्रिय खोप अभियान २०७७ माघ १४ गते सुरु भएको थियो। त्यसयता कोभिसिल्ड, भेरोसेल, जापानिज एस्ट्राजेनेका र स्वीडिस एस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन, फाइजर र मोडेर्ना खोप लगाइएको छ। यो अवधिमा जनसंख्याको ३९.८ प्रतिशतले मात्र पूर्ण खोप लगाएका छन्। कम्तीमा एक मात्रा लगाउनेको संख्या पनि ५२.१ प्रतिशत मात्र छ। खोपको प्रभावकारिताका लागि एउटै प्रकारको खोपको पूर्ण मात्रा लगाउनुपर्छ।
एक वर्ष पुग्न लाग्दा पनि लक्षित जनसंख्या (१८ वर्ष वा सोभन्दा माथि) का ६०.७ प्रतिशतले मात्र पूर्ण मात्रा खोप लगाएका छन्। त्यस्तै ७९.४ प्रतिशतले मात्र कम्तीमा एक मात्रा खोप लगाएका छन्। १८ वर्षभन्दा माथिको कुल जनसंख्या १ करोड ९९ लाख २२ हजार १ सय ६४ छ। सरकारले बालबालिका (१२ देखि १७ वर्षसम्मका)लाई नजिकैको खोप केन्द्रमा गई कोभिड–१९ विरुद्धको खोप लगाउन अनुरोध गरेको छ। बालबालिकलाई फाइजर र मोडेर्नाको खोप दिइएको छ।
राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष डा. रमेशकान्त अधिकारी कोरोना महामारीका बेला सबै जना सुरक्षित नभईकन अरू कोही पनि सुरक्षित छैन भन्ने सबैले मनन गर्नुपर्ने बताउँछन्। पूर्ण खोप लगाएका व्यक्ति पनि स्वास्थ्य मापदण्डको प्रयोग नगर्दा संक्रमणमा परेका छन्। डा. अधिकारी भन्छन्, ‘आफूले मात्र धेरै पटक खोप लगाउनुभन्दा वरिपरिका छिमेकी, साथीभाइलाई पनि खोप लगाउन प्रोत्साहन गर्नुपर्छ।’
पूर्ण मात्रा खोप लगाएको ६ महिना पुगेका अग्रपंक्तिमा खटिनेहरूलाई माघ २ गतेदेखि बुस्टर मात्रा खोप दिन लागिएको छ। त्यस्तै ६० वर्षमाथिका सबै नागरिक तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूलाई माघ १४ गतेदेखि पहिले लगाएको खोपको अतिरिक्त मात्रा दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
पाएनन् खोप
जापानिज एस्ट्राजेनेका खोप लगाउन नेपाल प्रहरी अस्पतालमा पुगेकी आरभी न्यौपाने लगातार दुई दिन गइन्। तर, खोप लगाउन पाइनन्। बिहीबार र शुक्रबार खोप लगाउन गएको उल्लेख गर्दै उनले भनिन्, ‘पहिलो दिन जाँदा खोप सकियो भनेर सुरक्षाकर्मीले गेटबाटै फर्काइदिए। दोस्रो दिन जाँदा टोकन लिनुपर्छ भनेर फर्काइदिए।’ सरकारले सुरुमा उमेर, वर्ग र पेसाका आधारमा लक्षित समूह तोकेर कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरेको थियो। त्यो बेला पनि लक्षित समूहमा रहेका नागरिकले सहज रूपमा खोप लगाउन पाएनन्। घन्टौं लाम लागे पनि ज्येष्ठ नागरिक नै त्यत्तिकै घर फर्किए। पहुँचवालाले भने सहजै घरमै पनि खोप लगाए।
किन लगाएनन् खोप ?
कोभिड–१९ विरुद्धको खोपका सम्बन्धमा भ्रमहरू पनि व्याप्त देखिएको छ। जनचेतनाको लागि सरकारले शताब्दी पुरुष एवं संस्कृतिविद् सत्यमोहन जोशी, जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेति, पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठ, श्रृंखला खतिवडालगायतका चर्चित व्यक्तिलाई खोपको सन्देशबाहक बनाएको छ। तर, १८ वर्षमाथिका झन्डै ४० प्रतिशतले खोपको पूर्ण मात्रा पाएका छैनन्।
खोपले गर्भपात हुने, कम तौलको बच्चा जन्मिने, समय नपुगी जन्मिने भन्ने गलत धारणाहरू गाउँघरमा पाइएका छन्। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लाल गर्भावस्थामा कोरोना भाइरसविरुद्धको खोप लगाए महिलाले समय नपुगी बच्चा जन्माउने जोखिमको खोपसँग कुनै सम्बन्ध नभएको बताउँछन्। कोभिड–१९ विरुद्धको खोप स्तनपान गराइरहेका महिलाले पनि लगाउन मिल्छ।
लक्षित सबै नागरिकलाई लगाउने उद्देश्यका साथ अभियान सञ्चालन सुरु गरिए पनि स्थानीय तहमा खोपको प्रभावकारिताबारे सुसूचित गर्न सकिएको छैन। स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रकाअनुसार खोप अभियानको प्रभावकारिताका लागि अनुगमन सुरु गरिएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको अध्यक्षमा बनाइएको अनुगमन समितिले आइतबारदेखि प्रदेश १ र २ का साथै बागमती प्रदेशको समेत अनुगमन गर्ने भएको छ।
प्रतिक्रिया दिनुहोस !