गोरखाका दुर्गम बस्तीमा चार महिनादेखि सञ्चारसम्पर्क विच्छेद

गोरखाका दुर्गम बस्तीमा चार महिनादेखि सञ्चारसम्पर्क विच्छेद

गोरखा : उत्तरी गोरखाका दुर्गम गाउँबस्ती बिगत चार महिनादेखि टेलिफोन सम्पर्कबाट विच्छेद भएको छ। चुमनुब्री गाउँपालिका २ (साविक ल्हो गाविस)का बासिन्दाहरु गत असोज महिनादेखि टेलिफोन सञ्चार सम्पर्कबाट वञ्चित भएका स्थानीय छिरिङधार्के लामाले जानकारी दिए।

दुर्गम गाउँमा सञ्चार सेवा दिइरहेको एक मात्र कम्पनी नेपाल टेलिकमको नमस्ते मोबाइल सेवाको टावर बिग्रिएपछि फोनसेवा अवरुद्ध भएको उनले बताए। ‘असोजमा ठूलो हिउँदे झरी परेको थियो नि त्यही बेलादेखि हाम्रो गाउँमा मोबाइल सेवा छैन’, उनले भने, ‘नक्शागुम्बानेर टावर थियो। त्यहाँ खै के भयो होला, चार महिना भयो, फोन चलेको छैन।’ 

अरु कम्पनीको फोन सेवा सञ्चालनमा नरहेको त्यहाँको नमस्ते फोन सेवा बन्द भएपछि वडा नं. १ को सामागाउँ, साम्दो, वडा नं. २ को ल्हो, ल्ही, स्यो, हिनाङ, स्याला गाउँका बासिन्दाहरुले धेरै ठूलो सास्ती खेपिरहनु परेको उनले बताए।

त्यस्तै चुमुनुब्री गाउँपालिका १ (साविक सामागाउँ) गाविसमा सेवा दिइरहेको टावरले पनि बिगत तीनसातादेखि काम गर्न छाडेको वडाअध्यक्ष वीरबहादुर लामाले बताए। ‘अहिले ल्हो मा पनि फोन छैन, सामागाउँमा पनि फोन छैन’, उनले भने, ‘यसै पनि सदरमुकाम पुग्न पाँच, छ दिन हिंड्नु पर्ने सडक सञ्जालले नछोएको ठाउँ, त्यसमाथि पनि मोबाइल फोन पनि नहुँदा कोही मान्छे बिरामी परे भने खबर गर्न पनि पाइएको छैन।’ कोही गम्भीर बिरामी वा घाइते भएमा तथा सुत्केरी हुन समस्या भएमा हेलिकोप्टरबाट उद्धार गर्न पनि कठिनाइ भएको उनले बताए।

देश, विदेशमा के भइरहेको छ भन्ने पनि थाहा नपाउने र गाउँको हालखबर बाहिर बस्नेलाई सुनाउन नपाइएको वडाअध्यक्ष लामाले बताए। मोबाइल सेवा नहुँदा स्थानीयबासी तथा व्यापारीहरुले अत्यावश्यक खाद्यान्न लगायतका सामग्रीहरु माग गर्न समस्या भएको छ। 

लामो समयदेखि टेलिफोन सेवा अबरुद्ध भएको बारे टेलिकमलाई जानकारी गराएको तर मर्मतसम्भारमा चासो नदेखाएको ल्होका लाक्पा लामाले गुनासो गरे। कहिले मौसम प्रतिकूल भयो भनेर कहिले कुनै बहाना गरेर मर्मतसम्भारमा चासो नदेखाएको उनको भनाइ छ। नेपाल टेलिकम गोरखाका प्रमुख राजेन्द्र श्रेष्ठले मर्मतसम्भारका लागि स्थानीय दुईजनालाई तालिम दिएर पठाएको बताउँछन्। ‘स्थानीयबासी दुईजनालाई हामीले काठमाडौँमा तालिम दिएर भीस्याट प्रविधिको एलएनबी, बीयुसी, युएसबी मोडेमहरु पठाएका थियौँ’, श्रेष्ठले भने, ‘तर उनीहरु पुगे कि पुगेनन्, बनाए कि बनाएनन् जानकारी पाएको छैन।’

लामो समयदेखि गाउँ सञ्चारसम्पर्कविही भएको भन्दै आइतबार स्थानीयबासीले गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण समेत गराएका छन्। नेपाली कांग्रेसका जिल्ला सभापति नन्दप्रसाद न्यौपानेको नेतृत्वमा गएका गाउँपालिकाका प्रमुख, वडाअध्यक्ष तथा पार्टी प्रतिनिधिहरुको टोलीले सो क्षेत्रमा सञ्चार सम्पर्क सुचार गराइदिन, हेलिकोप्टरबाट बिरामीको उद्धार गर्ने प्रक्रिया सहज बनाइदिन, माछाखोलासम्म बससेवा सञ्चालनको अनुमति दिन माग गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.