मृत्युदर क्रमशः उच्च

मृत्युदर क्रमशः उच्च

काठमाडौं : कोरोना भाइरसबाट संक्रमण मात्र होइन, मृत्युदर पनि क्रमशः बढ्न थालेको छ। एकै दिन शनिबार १६ जनाको ज्यान गएको छ। जब कि यो संख्या अघिल्लो दिन शुक्रबार तीन मात्रै थियो। तेस्रो लहर सुरु भएयता मुलुकभर ५० जनाले ज्यान गुमाएका छन्। यीमध्ये ८६ प्रतिशतले खोप नलगाएको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार ज्यान गुमाउनेमध्ये ४३ जनाले खोप नलगाएको पाइएको छ। खोप लगाएका ७ जना (१४ प्रतिशत)को मात्र ज्यान गएको सहप्रवक्ता डा. अधिकारीको भनाइ छ। 

शनिबार मृत्यु भएकामध्ये तीन जनाले मात्र खोप लगाएको पाइएको छ। सहप्रवक्ता डा. अधिकारीले यीमध्ये १३ जनाले खोप नलगाएको पाइएको जानकारी दिए। ‘खोप लगाएकाको तुलनामा नलगाएका व्यक्तिमा कोरोना संक्रमणबाट मृत्युदर उच्च देखिएको छ’, डा. अधिकारीले भने। 

मुलुकभर ७२ हजार ८ सय ६२ सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ।  जसमध्ये  ३७ जना भेन्टिलेटरमा उपचाररत छन्। आईसीयूमा २ सय १० जनाको उपचार भइरहेको छ। 

जोखिममा दीर्घरोगी
दीर्घ रोग भएका ज्येष्ठ नागरिकमा कोरोना संक्रमणले जटिलता थप्ने गरेको पाइएको छ। पछिल्लो समय डेल्टासँगै ओमिक्रोन भेरियन्टको पनि संक्रमण पाइएको छ। सहप्रवक्ता डा. अधिकारीका अनुसार संक्रमणबाट सबैभन्दा जोखिममा कोरोनाविरुद्धको खोप नलगाएका र दीर्घ रोगीहरू छन्। ‘ओमिक्रोन भेरियन्ट धेरै संक्रामक छ’, डा. अधिकारीले भने, ‘उच्चतम जोखिमको अवस्थामा छौं। संक्रमणलाई हलुका ढंगले लिनु ठूलो गल्ती हुन्छ।’ 

कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)का प्रमुख डा. भूपेन्द्र बस्नेतका अनुसार दीर्घरोगीहरूलाई संक्रमणले जटिल अवस्थामा पुर्याएको छ। ‘खोप नलगाएका र दीर्घरोगीलाई संक्रमणले जटिल अवस्थामा पुर्याउने गरेको छ।’ डा. बस्नेतले अन्नपूर्ण पोस्ट्सित भने, ‘दम, क्यान्सर, मधुमेहलगायत दीर्घ रोगका बिरामी रोगसँग जुधिरहेका हुन्छन्। कोरोना संक्रमणले थप जटिलतामा पुर्याउने गरेको छ।’ औषधि सेवन गरिरहेका दीर्घरोगीले विभिन्न रोगसँगै संक्रमणसँग पनि लड्नु पर्ने भएको जोखिम उच्च भएको चिकित्सकहरूको भनाइ छ।

४२ प्रतिशतले पूर्णमात्रा खोप
जनसंख्याको ५३.५ प्रतिशतले मात्र एक मात्रा खोप लगाएका छन्। त्यस्तै ४२.४ प्रतिशतले पूर्ण मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ। पछिल्लो चौबीस घण्टामा १० हजार २ सय २५ जना नयाँ संक्रमित थपिएका छन्। जसमध्ये ६० वर्ष नाघेका ५ सय ८१ जना ज्येष्ठ नागरिकमा कोरोना संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमणको तेस्रो लहरमा संक्रमित दीर्घरोगीलाई जोगाउने चुनौती भएको चिकित्सकहरू बताउँछन्। ‘ओमिक्रोनको संक्रमणले खासै केहि गर्दैन। सामान्य रहेछ भन्ने सोंचको विकास धेरै जनामा पाइएको छ। संक्रमणको सुरुको लहरमा  जस्तो डराएको देखिँदैन।’ डा. बस्नेतले भने, ‘ओमिक्रोनको संक्रमण पनि जटिल छ। यसले पनि गाह्रो पार्छ भन्ने बुझ्नुपर्छ। 

संक्रमणबाट कसरी जोगिने ÷जोगाउने भन्ने तिर नै ध्यान जानुपर्छ। अन्यथा मृत्यु झन् बढ्न सक्छ।’ सक्रिय संक्रमितमध्ये शनिबार ७ सय ८ जना निको भई डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.