रिचेतखोलाको विद्युत् केन्द्रीय प्रसारणमा
गोरखा : गोरखाको मान्बु र काशीगाउँबीचमा पर्ने रिचेतखोलाबाट पाँच मेगावाट जलविद्युत् उत्पादन भएको छ। रिचेतखोला साना जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् धादिङको सल्यानटारस्थित विद्युत् प्राधिकरणको सवस्टेसनमा जोडिएको छ।
‘साउन १ गतेदेखि एक महिना परीक्षण उत्पादन गर्यौं,’ प्रवद्र्धक अर्जुन पौडेलले भने, ‘त्यसपछि व्यावसायिक उत्पादन गरी केन्द्रीय प्रसारण लाइनमा जोडिएको छ।’ रनअफ रिभर प्रकृतिको सो आयोजना ९८ करोड ५० लाख रुपैयाँ लागतमा निर्माण भएको प्रवद्र्धक पौडेलले जनाए। आयोजनाका लागि प्राइम कमर्सियल बैंकले ७५ प्रतिशत कर्जा प्रवाह गरेको थियो।
आयोजनाले धार्चे गाउँपालिका–६ काशीगाउँका ५ सय ४६ घरधुरीलाई निःशुल्क विद्युत् उपलब्ध गराएको छ। गाउँलेले सो आयोजनामार्फत ३० वर्षसम्म निःशुल्क बत्ती बाल्न पाउने वडाअध्यक्ष धनकुमार घलेले जनाए। ‘नयाँ आयोजनाले यसअघि काशीगाउँका बासिन्दाले उपभोग गरिरहेको कादुरी संस्थाबाट उत्पादित ९० किलोवाटको रिचेतखोला लघुजलविद्युत् आयोजना
विस्थापित गरेको हुँदा ३० वर्षसम्म निःशुल्क रूपमा विद्युत् उपलब्ध गराउने सम्झौता भएको छ’, घलेले भने, ‘मर्मतसम्भार स्थानीयस्तरमा नै गर्ने भन्ने सम्झौता छ।’ मर्मतसम्भारका लागि स्थानीयले न्यूनतम शुल्क भने संकलन गर्ने गरेका छन्।
प्रतिक्रिया दिनुहोस !