धनगढी विमानस्थल स्तरोन्नति

धनगढी विमानस्थल स्तरोन्नति

धनगढी : धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउने प्रक्रिया अघि बढेको छ। नागरिक उड्डयन प्राधिकरणले बनाएको गुरुयोजना मन्त्रिपरिषद्ले पास गरेपछि क्षेत्रीय विमानस्थलको बाटो खुलेको हो। 

पर्यटनमन्त्री प्रेम आले अध्यक्ष रहेको उड्डयन प्राधिकरण बोर्डले पुस ११ गते गुरुयोजना स्वीकृत गरेको थियो। पुस ३० को मन्त्रिपरिषद् बैठकले समेत गुरुयोजना स्वीकृत गरिसकेको छ। विमानस्थलका प्रमुख रामकृष्ण भट्टका अनुसार जग्गा अधिग्रहणका लागि एक अर्ब रुपैयाँ बजेट छ। 

आलेले मन्त्री भएपछि धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थल बनाउन बजेट विनियोजन गरेका थिए। ‘मन्त्री भएलगत्तै प्र्रधानमन्त्रीज्यूलाई आग्रह गरेर जग्गा अधिग्रहणका लागि एक अर्ब विनियोजन गरेको हुँ,’ आलेले भने, ‘अब तत्काल काम सुरु हुन्छ।’ नागरिक उड्डयन प्राधिकरणले चालू आर्थिक वर्षभित्रै जग्गा अधिग्रहण गर्ने गरी काम अघि बढाएको छ। विमानस्थललाई क्षेत्रीय स्तरको बनाउन थप २५८.२५ बिघा जग्गा आवश्यक पर्छ। अहिले ८४ बिघा मात्रै छ। त्यसमा ३० मिटर चौडाइ र १८ सय मिटर लम्बाइ भएको धावनमार्ग छ। 

‘रियल पाथ इन्जिनियरिङ कन्सलटेन्सीले जग्गा नापजाँचको काम गरिरहेको छ। केही समय जग्गाधनीले अवरोध गरेका थिए,’ प्रमुख भट्ट भन्छन्, ‘अहिले सहमति भइसकेको छ।’
मुलुक संघीयतामा जानुअघि धावनमार्ग पक्की नबनाएको भन्दै सुदूरपश्चिमका जनताले सांकेतिक एक पैसे अभियान चलाएका थिए। उद्योग वाणिज्य संघ, स्थानीय निकायसहित निजी क्षेत्रले रकम संकलन गरेर सरकारलाई चुनौती दिन थालेपछि प्राधिकरणले बजेट विनियोजन गरेको थियो। १८ सय मिटरको पक्की धावनमार्ग बनायो। धनगढीमा बुद्ध, श्रीएयर र सौर्य एयरलाइन्सका एटीआर, बम्बाईडियर र डेस–८ सिरिजका विमानले उडान भरिरहेका छन्।  यात्रुहरूको चाप बढिरहेको र पश्चिम मुलुकबाट आउने जहाजका लागि विमानस्थललाई क्षेत्रीय स्तरको बनाउनुपर्ने आवाज उठ्न थालेको थियो। 

गुरुयोजनाअनुसार अब ४५ मिटर चौडाइको २५ सय ५० मिटर लामो धावनमार्ग, अत्याधुनिक टर्मिनल भवन, पार्किङ एप्रोन, ह्यांगर, हेलिप्याड, कार्गो भवन, फ्युल स्टेसन, फायर फाइटिङ स्टेसन र उद्धार, चक्रपथसहितका पूर्वाधार निर्माण हुनेछन्।

स्थानीयमा भने मुआब्जा कम पाउने हो कि भन्ने चिन्ता छ। विमानस्थल बन्ने चर्चासँगै त्यहाँ जग्गा कारोबार रोक्का गरिएको छ। ‘मन्त्री, विमानस्थल प्रशासन, जिल्ला प्रशासन गरी सरोकारवाला निकायलाई ८ बँदे ज्ञापन बुझाएका छौं। जग्गाको उचित मूल्यांकन, समयमै मुआब्जा रकम उपलब्ध, अधिग्रहण क्षेत्रका भूमिहीन सुकुम्बासीको व्यवस्थापन र ऐलानीमा बसेका नागरिकले पनि मुआब्जा पाउनुपर्छ भन्ने हाम्रो माग हो,’ विमानस्थल संघर्ष समितिका कोषाध्यक्ष राधिका साउदले भनिन्।

धनगढीको आकाशको मार्गलाई ‘एल ६२६’ भनिन्छ। यो मार्ग हुँदै दिल्लीसहित कतार, दुबई, दोहा टर्कीलगायत मुलुकबाट जहाजहरू उडान भर्छन्। क्षेत्रीय विमानस्थल बनेपछि यी जहाजमा केही समस्या आए यहाँ अवतरण गर्न सकिन्छ। ठूला जहाज आउन थालेपछि हवाई भाडा पनि किफायती हुने साउनले बताइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.