भोलिदेखि फेवा किनारबाट केबुलकारमा सिधै सराङकोट
पोखरा : फेवाताल किनारबाट सराङ्कोटलाई केबुलकारले जोडेको छ । यी दुई पर्यटकीय गन्तव्य जोड्ने गरी अन्नपूर्ण केबलकार निर्माण भएको हो । नवनिर्मित केबलकार शुक्रबारदेखि सुरु हुन लागेको छ ।
केबुलकारका निर्देशक तीर्थराज त्रिपाठीले शुक्रबार सफ्टओपनिङ हुन लागेको जानकारी दिए । उनकै भनाइमा अहिले बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म केबुलकारको सेवा सञ्चालन हुनेछ । आउँदो नयाँ वर्षमा केबुलकारको ग्रान्डओपनिङ गर्ने योजना छ ।
सराङकोटसम्म पोखरा १८ को सेदीबाट २ हजार २ सय ६५ मिटर लामो केबुलकार जडान भएको छ । त्रिपाठीका अनुसार केबुलकारका १८ वटा टावर छन् । एक सामान बोक्नेसहित १८ वटा गोन्डला छन् । एउटा डिब्बामा ८ जनाको सिट क्षमता छ ।
केबुलकार चढेर सराङकोट जाउआउ गर्न अहिलेलाई प्रतिव्यक्ति ७ सय रुपैयाँ भाडादर तोकिएको छ । विदेशीका लागि भने ९ डलर छ । सेदीबाट सराङकोट केबुलकारबाट ९ मिनेटमै पुगिने त्रिपाठीले जनाए । अपांगता भएकाहरु लागि भाडामा आधा छुट छ । सार्क मुलुकका पर्यटकका लागि ८ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ ।
पोखराको पर्यटकीय केन्द्र लेकसाइडबाट सराङ्कोट पुग्न गाडीमा पौने घन्टा लाग्छ । जापानको ‘निप्पल केबुल’ कम्पनीको प्रविधि अन्नपूर्ण केबुलकारमा जडान गरिएको छ । स्थानीय बासिन्दाको समेत १० प्रतिशत लगानी रहेको केबुलकारमा मुलुकका प्रतिष्ठित व्यवसायीको लगानी छ । अन्नपूर्ण केबुलकार मुलुककै चौथो केबुलकार हो ।
फेवाताल र सराङकोट दुवै पोखराका प्रसिद्ध पर्यटकीय गन्तव्य हुन् । पोखरा आएका अधिकांश पर्यटकले यी गन्तव्य हत्तपत्त छुटाउँदैनन् । सराङकोट सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि प्रसिद्ध छ ।
केबलकार सञ्चालनमा आउदा २५ जना भन्दा बढीले रोजगारी पाउने त्रिपाठीले जानकारी दिए । माथिल्लो स्टेसन भवनमा स्काई हेवन बेलुन रेस्टुरेन्ट, भ्यु टावर निर्माण भएको छ । तल्लो स्टेसनमा पार्किङ, गार्डेनसहितको संरचना निर्माण भएको छ ।
केबुलकार सञ्चालनसँगै पोखरा आउने पर्यटकका लागि नयाँ पर्यटकीय आकर्षणको केन्द्र बन्ने छ । केबुलकारमा यात्रा गर्दा हिमाल, ताल, हरियो वन जंगल तथा पोखराको मनोरम दृश्यावलोकन गर्न सकिने छ । केबलकार निर्माणमा २ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको त्रिपाठीले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस !