सगरमाथा राष्ट्रिय निकुञ्ज : हेलिकप्टर कम्पनीले तिर्न बाँकी रकम उठाउन समिति गठन
सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेले हेलिकप्टरहरुले राजस्व तिर्न बाँकी रहेको विषयमा छानविन गर्न ५ सदस्यीय टोली गठन गरेको छ। निकुञ्ज क्षेत्रमा उडान गर्ने हेलिकप्टरहरुले तोकिएको राजस्व छल्ने क्रम बढेसँगै निकुञ्जले छानविन समिति गठन गरेको हो।
कार्यालयले सहायक संरक्षण अधिकृत मनोजकुमार मण्डलको सम्योजकमा ५ सदस्यीय टोली गठन गरेको प्रमुख संरक्षण अधिकृत भुमिराज उपाध्यायले जानकारी दिए।
उनका अनुसार समितिको सदस्यहरुमा चौरीखर्क रेन्जपोष्टका रेन्जर श्याम प्रकाश तामाङ र खुम्जुङ रेन्चपोष्टका रेन्जर खिमराज वली तथा जोरसल्ले पोष्टका सिनियर गेमस्काउट एसना राई र चौरीखर्क रेन्ज पोष्टका गेमस्काउट भुपबहादुर थापा रहेका छन्। गठित समितिले यहि फागुन १३ गते भित्रमा अध्ययन तथा छानविन गरि कार्यालयलाई प्रतिवेदन पेश गर्ने निकुञ्जले जनाएको छ।
राजस्व असुल गर्न बाँकी रहेको हेलिकप्टर कम्पनीहरुको सुचि तयार गर्ने, उनीहरुलाई टेलिफोन गरि ताकेता गर्ने लगायतका कार्यहरु समितिको जिम्मेवारीमा पर्ने प्रमुख संरक्षण अधिकृत उपाध्यायले बताए। राष्ट्रिय निकुञ्जलाई हेलिकप्टोर कम्पनीहरुले एक करोडभन्दा बढी राजस्व तिर्न बाँकी रहेको कार्यालयले जनाएको छ।
सगरमाथा राष्ट्रिय निकुञ्जले आफ्नो कार्यक्षेत्रमा उडान गर्ने हेलिकप्टरलाई प्रति पटक ३ हजार रुपैयाँ र नेपाली पाईलटलाई एक सय रुपैयाँ, सार्क मुलुकका पाईलटलाई १ हजार ५ सय तथा अन्य मुलुककालाई ३ हजार रुपैयाँ शुल्क लिने गरेको छ। निकुञ्जले यस अघि हेलिकप्टर अवतरण शुल्क मात्रै लिंदै आएको भए पनि गत बैशाख २८ गतेबाट पाइलटलाई पनि शुल्क लिन थालेको निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !